arrow

आइतबार र सोमबार धेरै स्थानमा वर्षा हुने

logo
रासस
प्रकाशित २०७९ साउन २७ शुक्रबार
monsoon-weather-cloud-rain.jpg

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागको तथ्याङ्ककअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ (जुन १ देखि अगष्ट ११) सम्म जम्मा आठ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ ।

विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार कूल ७७ वटा केन्द्रको तथ्याङ्कमा सोही अवधिको सरदर वर्षा आठ सय ६८ दशमलव सात मिलिमिटर भएको छ । जसअनुसार साउन २६ सम्म सरदरको ९८ दशमलव नौ प्रतिशत वर्षा भएको हो । यो वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने हावापानी शाखाले आकलन गरेको छ । सरदर भन्नाले सन् १९९१ देखि २०२० सम्मको जुन १ देखि अगष्ट ११ सम्मको जम्मा वर्षाको वार्षिक औसत जनाउँदछ ।

हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन शुरु भएयता हालसम्म आठ सय ३५ दशमलव तीन मिलिमिटर अर्थात ५६ दशमलव सात प्रतिशत वर्षा भएको जानकारी दिए । यो वर्षको मनसुनको औशत सरदर वर्षा एक हजार चार सय ६२ मिलिमिटर हुने प्रक्षेपण गरिएको छ । उनले अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने आँकलन गरिएको बताए ।

प्रदेश नं १ र बागमती प्रदेशका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा भएको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भूभागमा सरदरभन्दा कम वर्षा भएको छ ।

नेपालमा यो वर्ष गत जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ । नेपालमा पूर्वी भेग भएर मनसुन भित्रिने गर्दछ । मनसुन अवधिमा एक हजार पाँच सय मिलिमिटर हाराहारी वर्षा हुने जनाइन्छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जारी मनसुनमा विशेषगरी देशaका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मकरूपमा तराई क्षेत्रमा कम वर्षा भएको बताइन् ।महाशाखाको पछिल्लो विवरणमा हाल मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । देशका थोरै स्थानमा मेघ/गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानमा मेघ/गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार र सोमबार मौसम बदली भई देशका धेरेजसो स्थानमा मेघ/गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ