arrow

प्रहरीको गाडी दुर्घटनामा दुई डीएसपीसहित पाँच घाइते, हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
accident-police-vehicle.jpg

 रुकुम पूर्व । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रविन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् ।  

सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए ।  

घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए ।

घाइते सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका छन् । 

गृहमन्त्री खाँणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलाई उद्धार गरी अस्पताल पुर्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा गएको जनाइएको छ । 

गृहमन्त्री खाँणले घाइतेको यथाशक्य उपचारको व्यवस्था मिलाउन गृह प्रशासन र रुकुमपूर्व प्रशासनलाई निर्देशन दिएका छन् । जिल्लास्थित स्रोतसाधनले घाइतेलाई अस्पतालसम्म पुर्याउन नसकिने भए मन्त्रालयमा खबर गर्न पनि गृहमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । 

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा डीएसपी डाँगीको टाउकोमा गहिरो चोट लागेको छ । 

प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइते भएका छन् । रुकुमपूर्वका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते भएका छन् ।

जीपमा छ सुरक्षाकर्मी सवार भएको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ