arrow

फिफाले भारतमाथि लगायो प्रतिबन्ध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
all-india-football-federation.jpg

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल संघलाई प्रतिबन्ध लगाएको छ । फिफाले मंगलबार बिहान अल इन्डिया फुटबल फेडरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको हो । फिफाले जारी गरेको प्रेस रिलिजमा भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । 

फिफाले एआईएफएफमा तेस्रो पार्टी (बाहिरी शक्ति) हाबी भएको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ।  फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ ।

फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन ।

भारतमा आगामी अक्टोबरमा तय भएको यू–१७ महिला विश्वकप फुटबल पनि सर्ने भएको छ ‌‌।

गत मे महिनामा भारतको सर्वोच्च अदालतले एआईएफएफलाई विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । त्यसपछि फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी महासचिव विन्डसर जोनको नेतृत्वमा एउटा टोलीलाई भारतीय फुटबल सरोकारवालासँग छलफलका लागि पठाएको थियो ।

उक्त टोलीले एआईएफएफले आफ्नो विधानलाई जुलाइको अन्त्यसम्ममा परिमार्जन गर्ने र सेप्टेम्बर १५ सम्ममा चुनाव गरिसक्ने मार्गचित्र तयार गरेको थियो ।

तर भारतीय अदालतले तुरुन्तै चुनाव गराउन आदेश दिएको थियो । 

अब एआईएफएफको आफ्नै कमिटीले कार्यसम्पादनशुरु गरेपछि मात्र फुकुवाको ढोका खुल्ने फिफाले जनाएको छ ।

फिफाले भारतीय युवा तथा खेलकुद मन्त्रालयसँग छलफल गरिरहेको र सकारात्मक परिणाम निस्कने अपेक्षा गरेको पनि जनाएको छ । 



नयाँ