arrow

निजी विद्यालयको विरोध नगरी सरकारी विद्यालय सुधार गरौं : अर्थमन्त्री बराल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
Ramji_Baral.jpg

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले सरकारी नुन पानी खानेहरुले सरकारी विद्यालयमा आफ्ना छोराछोरी पढाएमा शिक्षामा सुधार हुने बताएका छन् । 

पोखरा महानगरपालिका वडा नं. १६ लामाचौरस्थित ईन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं बृहत शैक्षिक प्रदर्शनीमा यस्तो बताएका हुन् ।

सरकारी विद्यालयहरुको शिक्षामा विस्तारै सुधार हुँदै आएको भन्दै मन्त्री बरालले सरकारी शिक्षामा थप गुणस्तर कायम गर्न सरकारी नुन पानी खानेहरुले कम्तिमा सरकारी विद्यालयमा आफ्ना छोराछोरी तथा नातिनातिनाहरु पढाउने पद्धति गर्न सके राम्रो हुने बताए । 

उनले निजी विद्यालयहरुको विरोध गर्नु भन्दा सरकारी विद्यालयमा सुधार गर्नतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । शीपयुक्त शिक्षा आजको आवश्यकता भएको बताउदै मन्त्री बरालले श्रोत साधनलाई ठिक ढंगले प्रयोग गरी उद्यमशील तथा स्वरोजगार हुने स्पष्ट पारे ।

मन्त्री बरालले संघ सरकारले प्रदेशहरुलाई दिनुपर्ने अधिकार नदिएको कारण पछिल्लो समयमा संघीयता माथि नै प्रंश्न उठन थालेको बताए । 

नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यले भूगोल सुहाउँदो प्राविधिक, नैतिक, शीप, उद्यमशीलता हुने शिक्षा आवश्यक भएको बताए । 

वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले पाँच बर्षको अन्तरालमा मन्त्री बरालको पहलमा पहिलो पटक प्रदेशबाट विद्यालयमा बजेट विनियोजन भएको भन्दै यसमा वडा कार्यालयले पनि सघाउने बताए । 

अर्का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले मजदुर, अस्थायी बसोबास गर्नेका छोराछोरीहरु बढी अध्ययन गर्ने भएकाले विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न कठिन हुने गरेको बताए ।

नव आर्दश सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीले विद्यालयमा उल्लेखनीय रुपमा शैक्षिक सुधार भएको दाबी गरिन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष दिलबहादुर थापा, शिक्षक सीता पौडेल, विद्यार्थी सृष्टिका खड्का लगायतले बोलेका थिए । 

२०१० सालमा स्थापना भएको विद्यालयमा हाल ९३१ जना विद्यार्थी, ४८ जना शिक्षक र कर्मचारी रहेको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ