arrow

तीजलाई साँच्चिकै तीज बनाऔ‌

logo
संगिता कुँवर,
प्रकाशित २०७३ भदौ १६ बिहिबार
SANGITA-kunwar.jpg.jpeg
काठमाडौं। तीज आधा आकाश ढाकेका हिन्दु नेपाली महिलाहरुको महान पर्व हो। नेपालमा मात्रै नभएर छिमेकी मुलुक भारतका केहि ठाउँमा हिन्दू महिलाहरुले समेत यो पर्व मनाउने गर्दछन्। हरेक वर्ष ’श्रावण शुक्ल तृतीया’को दिन अर्थात भगवान श्रीकृष्ण जन्मेको एघारौ दिन अनुसार हरितालिका तीज भन्ने गरिन्छ। म जान्ने हुँदा मनाईने तीज र अहिलेको तीज धेरै फरक छ। मैले बुझ्ने हुँदाको तीजमा बिहे गरेर पराइघरमा गएका छोरी चेलीहरु माइतीघरमा आउने वर्षभरी घरको काम धन्दाले माइतीको आगनमा पुग्न नपाएका छोरीहरु दर खाएर रमाइलो गरी, दुख पिर र खुसी पनि गित मार्फत पोखेर रमाइलो गर्ने पर्व रहँदै आएको हो। माइतीमा जम्मा भइ खासगरी दुधबाट बनाइएका परिकारहरु बनाएर दर खाने प्रचलन तीज पर्वमा रहेको छ। 
 
हिमालय पर्वतकी पुत्री पार्वतीले आफुले महादेवलाई पति पाउँ भनि शिव भगवानको पुजाआराधना गरी निराहार ब्रर्त बसेको र भगवान शिवलाई पतिको रुपमा पाएको धार्मिक आस्था रही आएको छ। यसर्थ, यो दिनमा हिन्दु नेपाली नारीहरु आफ्नो मनोकाक्षा पुरा हुने बिश्वासले तीजको ब्रर्त बस्ने गर्दछन। खासगरी अविवाहिता महिलाहरु आफुले योग्य वर पाउँ भन्ने कामना राखेर तीजको ब्रर्त वस्ने गर्छन भने विवाहिता महिलाहरु आफ्नो श्रीमानको दीर्घायु र सुस्वाथ्यको कामना गर्दै तीजको ब्रर्त बस्ने गर्छन्। 
 
खास गरी आजभोली स्वदेशमा मात्रै होइन विभिन्न काम ब्यवसाय विशेषले बाहिरिएका नेपालीहरुले विदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गर्छन। यो क्रम बिगतका बर्षमा भन्दा बाक्लीदै गएको छ। सँगसँगै तीज पर्वको परिभाषा पनि फेरिएको छ। एकातिर महिनौ अघिदेखि दर खुवाउने बहानामा देखावटी बढेको छ भने विभिन्न पाटी प्यालेसमा हुने नाचगान र दर खुवाउने बहानामा तीज खर्चालु समेत बन्ने गरेको छ। गरगहना देखाउने र बिभिन्न बहानामा खर्चालु बन्ने गरेको तीजको नाममा हामीले संस्कृतिलाई बिकृत पनि बनाइरहेका पो छौ कि? कर्णालीमा पढ्न नपाएका दिदी बहिनी तराईमा जिउँदै जलाईएका महिलाको बेदना बोलेर पनि हामी तीज मनाउन सक्छौ। महिला अधिकारको बहससंगै देशमा नेतृत्व तहमा महिला पुगे पनि अझै कति महिला शिक्षित भएर पनि आफ्ना पिडा हिंसा सहन बाध्य छन्। 
 
आज हामी घरबाट निस्किन पाएका छौ। अझै हामी स्वतन्त्र बन्न सकिरहेका छैनौ। त्यसैले अब हामी यो तीज न्यायको लागि बोल्न सक्ने शक्ति लिएर आउनुपर्छ। पिडा बोल्ने दिनको रुपमा मात्र व्याख्या हुनुहुन्न। आफुमा सुन्दर भन्दा शिक्षित बन्न सक्ने क्षमता बनाउने पर्वका रुपमा मनाउनुपर्छ। कति कुराहरु संस्कृतिको नाममा नकारात्मक पक्ष छोड्न पनि सक्नुपर्छ। सकारात्मक कुराहरु र हाम्रा संस्कारहरु पछिल्लो पुस्तासम्म जोगाईराख्नुपर्छ। हामीले नै सकेनौ भने फेरी बिकृति पनि हामीले नै सुरु गरेको ठहरिन्छ। यति धेरै महत्व बोकेको तीजलाई साच्चीकै तीज जस्तै बनाऔ। भड्किलो भन्दा सन्देशमुलक तीज मनाऔं । तीजको सबैलाई शुभकामना। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ