arrow

हेटौंडाका खाद्य उद्योग अनुगमन, दाना उद्योगलाई जरिवाना

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ भदौ ९ बिहिबार
anugaman-htd-hk.jpg

हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्र भित्रका उद्योगहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र खाद्य तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले बिहीबार हेटौंडा उपमहानगरपालिका-८ स्थित औद्योगिक क्षेत्रमा रहेका विभिन्न उद्योग अनुगमन गरेको हो ।

अनुगमनका क्रममा केही उद्योगले खाद्य पदार्थको उत्पादन र प्याकिंगका ध्यान नदिएको र केही उद्योगले आवश्यक अनुमति तथा कागजात नवीकरण नगरी संचालन गरिएको भेटिएको छ ।

हेटौंडाको भ्याली पलेट दाना उद्योग र सिद्धार्थ दाना उद्योगबाट नमूना  संकलन गरी चेकजाँचका लागी पठाइएको छ भने सिद्धार्थ दाना उद्योगलाई अनुज्ञा पत्र नलिई उद्योग संचालन गरेको, उद्योग भित्र फोहोर रहेको भन्दै ५० हजार जरिवाना गराइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए ।

त्यस्तै साल्ट ट्रेडिङ अन्तर्गतको खाद्य उद्योगले मैदा र आँटा उत्पादनमा गुणस्तरका ध्यान नदिएको पाइएको छ । कच्चापदार्थ कुहिएको, फोहर तथा उत्पादित पदार्थ भुइँमै राखिएको र जनावरको चोकर र मान्छेले खाने मैदा तथा आँटा एकै ठाउँमा राखिएको भेटिएकाले तत्काल त्यसको व्यवस्थापन मिलाउन र जिल्ला प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ ।

सहायक प्रजिअ गैह्रेले उद्योगले उत्पादन गर्ने खाद्य पदार्थको गुणस्तरीयतालाई ख्याल नगरेको गुनासो आइरहेकाले उद्योग तथा अन्य क्षेत्रको अनुगमनलाई निरन्तरता दिने बताएका छन् ।

बिहीबार जिल्ला प्रशासनले ६ वटा उद्योग अनुगमन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ