arrow

ईमेज अवार्डको मनोनयन सार्वजनिक, महजोडीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ११ शनिबार
image-award-2079.jpg

काठमाडौं । ईमेज अवार्डको २२ औँ संस्करणको मनोनयन सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक समारोहमा आगामी असोज ३ गते हुने टुबोर्ग ईमेज अवार्ड अन्तर्गत १५ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । 

कोरोना भाइरसको महामारीका कारण दुई वर्ष हुन नसकेको अवार्डमा २०७६ असार १ गते देखि २०७९ जेठ मसान्तभित्र सार्वजनिक भएका गीत, संगित, रचना र म्युजिक भिडियो समावेश गरिएको छ । यसपपटक सर्वोत्कृष्ट नेपहप–र्याप प्रस्तुति विधा समावेश गरिएको छ । 

१५ वटै विधाका मनोनयनमा नेपाली सांगीतिक क्षेत्रका विज्ञहरुबाट मूल्यांकन एवं प्राविधिक मतका आधारमा प्रत्येक विधाका उत्कृष्ट पाँचको चयन गरिएको हो । 

१५ विधा अन्तर्गत सवोत्कृष्ट गीत, सर्वोत्कृष्ट गीत रचना, सर्वोत्कृष्ट संगीत, सर्वोत्कृष्ट गायन लोकगीत, सर्वोत्कृष्ट गायन दोहोरी रहेका छन् । यस्तै सर्वोत्कृष्ट समूह वा युगल गायन, सर्वोत्कृष्ट गायन पप पुरुष, सर्वोत्कृष्ट गायन पप महिला, सर्वोत्कृष्ट गायन पुरुष, सर्वोत्कृष्ट गायन महिला विधा पनि रहेको छ ।

यसैगरी सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार, सवोत्कृष्ट म्यूजिक भिडियो सम्पादक, सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक, सर्वोत्कृष्ट नेपहप/-याप प्रस्तुति र पब्लिक च्वाइस अवार्ड विधा छन् ।

मनोनयनमा परेकामध्ये एउटा विधालाई पब्लिक च्वाईसका आधारमा अवार्ड प्रदान गरिने ईमेजले जनाएको छ । जसका लागि शनिबार साँझ ६ बजेबाट नै ईमेजखबर डट.कम. मार्फत भोटिङ खुल्ला गरिएको जनाइएको छ । यो क्रम आगामी असोज २ गते राति १२ बजेसम्म कायम रहने भएको छ ।

मनोनयन सार्वजनिक कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आरके मानन्धरले यस वर्ष वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने जानकारी दिए ।

ईमेज च्यानलले नेपाली सांगितिक क्षेत्रको उत्थान, संगीतमा समर्पित संगितकर्मीको सम्मान, प्रोत्साहन एवं श्रीवृद्धिका लागि हरेक वर्ष इमेज अवार्ड गर्दै आएको छ ।
 



नयाँ