भोटका लागि सरकारविरुद्ध पवन, चौतर्फी आलोचनापछि हटाए फेसबुक स्टाटस
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
2.7k
Shares
पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेद्वार पवन प्रजापतिले महानगर आफैले बनाएको संरचना हटाउँदा पनि विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा डोजर चल्दै गरेको फोटो राखेर स्टाटस लेखेका थिए । जबकि त्यहाँ केही व्यवसायीले वर्षौँँदेखि महानगरलाई राजस्व तिर्नै बाँकी छ ।
महानगरको आफ्नै भवनमा व्यापार गरिरहेका ती व्यवसायीहरुले भाडा नतिर्दा सहजीकरण गर्नुको सट्टा महानगरले आफ्नै सटर र भवन भत्काउँदा प्रजापतिले व्यवसायी मार्न पाइँदैन भन्ने प्रतिक्रिया दिएका छन् । जहाँ कि भवन भत्काउने कार्यप्रति महानगर र वडाध्यक्षको प्रशंसा भइरहेको छ ।
देशभरि नै स्थानीय तहले कर तिर्नका लागि पत्राचार र अनधिकृत संरचना हटाएर प्रशंसा पाइरहेका बेला अध्यक्षका दाबेदार प्रजापतिले चाहिँ स्थानीय तहको अधिकार क्षेत्रभित्रको काममाथि पनि नकारात्मक प्रतिक्रिया दिएका हुन् ।
उद्योग बाणिज्य संघको ३४ औँ महाधिवेशन सुरु हुनभन्दा एक दिन अगाडि प्रजापतिले कर नतिर्ने सीमित मतदाताको सेन्टिमेन्ट तान्ने उद्देश्यले प्रजापतिले फेसबुकमा चाडपर्वको बेला व्यवसायी मार्न पाइँदैन भन्ने स्टाटस राखेका थिए ।
स्थानीयको समर्थन प्राप्त महानगरको कार्यमा प्रजापतिले विरोध जनाएपछि त्यसको नकारात्मक प्रभाव पर्ने भन्दै उनकै प्यानलका अन्य पदाधिकारी रुष्ट बनेका छन् । स्रोतका अनुसार महानगरको यो कदममा उद्योग वाणिज्य संघको पनि समर्थन रहेको छ । नकारात्मक प्रतिक्रिया आउन थालेपछि र मतदाता भड्किने डरले प्रजापतिले अहिले त्यो स्टाटस भने हटाएका छन् ।
महानगरपालिकाले महेन्द्रपुल क्षेत्रमा आफ्नै स्वामित्वमा बनाएका ३२ वटा सटरहरुमा बिहान डोजर चलाएको थियो । ती सटरहरुबाट महानगरले ९० लाखभन्दा बढि भाडा उठाउनै बाँकी छ ।
व्यवसायीहरुले त्यहाँको भाडा तिरेका छैनन । तर, भाडा नतिर्ने व्यवसायीको पक्षमा नै प्रजापतिले चुनावको लागि भन्दै फेसबुकमा स्टाटस लेखेर स्वतन्त्र मतदाता भड्काएका छन् । त्यही डरका कारण उनले आफ्नो स्टाटस भने हटाउन भए ।
यस विषयमा प्रजापतिले सबैबाट प्रेसर आएपछि आफूले स्टाटस हटाएको प्रतिक्रिया दिए । आफूले व्यवसायीको हकहितका विषयमा आफूले आवाज उठाएको र आगामी दिनमा पनि साथमै रहेको स्पष्ट पारे ।