arrow

हेटौंडाका सीसी क्यामेरा काम नलाग्ने, दैनिक चोरी र लुटपाट

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ भदौ २६ आइतबार
camara-htd.jpg

हेटौंडा । कतिपय आपराधिक घटना प्रहरीले सीसी क्यामेराबाटै पत्ता लगाएका थुप्रै उदाहरण छन् । कतिलाई सीसी क्यामेराले कैद भएको दृश्यले जेल पुर्याउँछ भने कति निर्दोष सावित हुन्छन् । शान्ति, सुव्यवस्थामा सहयोग पुग्ने आशाले सीसी क्यामेरा जडान गरिन्छन् ।

तर बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा मुख्यबजारको शान्ति सुरक्षामा सहयोग पुग्न राखिएका सीसी क्यामेरा सबै बिग्रिएका छन् । बिजुलीको पोल पोलमा राखिएका सीसी क्यामेरा अधिकांश बिग्रिएकाले हेटौंडाबजारका व्यवसायी असुरक्षित त बन्दै गैरहेका छन् नै कुनै आपराधिक घटना भैहाले प्रहरीले सीसी क्यामेराबाट पत्ता लगाउन सक्ने अवस्था छैन । यहाँ भएका ४० भन्दा बढी क्यामेरामध्ये हाल ५ देखि ७ वटा मात्र चलेका छन् ।

हेटौंडामा दिनदिनै चोरीका घटना पनि बढिरहेका छन् । केही दिन दिन अगाडि लगातार ३-४ दिनको फरकमा २ वटा मोबाइल पसल चोरी भए । एक महिलाको गलामा लगाएको एउटा सिक्री र १० हजार सडकमै लुटियो । तर सीसीले कुनै काम गरेन ।

हेटौंडामा २०७० सालमा मकवानपुर उद्योग बाणिज्य संघले जिल्ला समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र व्यवसायीहरुसँग रकम सहयोग उठाएर बजारमा ३० वटा सीसी क्यामेरा जडान गरेको थियो । त्यसपछि पनि विभिन्न क्षेत्रका व्यवसायीको सहयोगमा सीसी क्यामेरा मर्मत र जडान भैरहे ।

२०७५ सालमा बैंकर्स क्लब हेटौंडाको ४ लाख सहयोगमा सीसी टीभी मर्मत गरियो । त्यस्तै २०७६ सालमा ७ लाख लागतमा पूर्व मेयर हरिबहादुर महतले सीसी क्यामेरा विस्तार गरे । पुनः २०७७ सालमा ४० लाखको लगानीमा थप सीसी  क्यामेरा विस्तार र मर्मत गरियो । तर हेटौंडा उपमहानगरपालिकाको व्यवास्था र जिल्ला प्रहरी कार्यालयको लापरबाहीका कारण सीसी क्यामेराले काम गरेका छैनन् । भएका पनि इन्टरनेट र विभिन्न केबल कम्पनीका तारहरुमा गुजुल्टिएको छ । त्यसैले पनि अहिले हेटौंडा बजारमा शृंखलाबद्ध चोरीका घटना बढ्दै गएका छन् ।

बजार क्षेत्रको निगरानी गर्नका लागि सीसी क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालयले गर्छ । केही वर्ष अघिसम्म कुनै आपराधिक घटना भैहाले तत्काल अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै एक जना प्रहरीलाई क्यामेराले निगरानी गर्न जिम्मा नै दिइएको थियो । तर प्रहरीले नै सीसी क्यामेराको मतलब नगर्दा अहिले अवस्था लथालिङ्ग बनेको छ  ।

प्रहरीको तथ्यांकअनुसार गत वर्ष हेटौंडा बजारबाट २१६ वटा मोटरसाइकल हराएका छन् । विभिन्न पसल चोरी भएका विवरण प्रहरीसँग छैन । गएको साउनमा मात्र ७ वटा मोटरसाइकल मात्र हराएका छन् । २-३ दिन बिराएर पसल चोरी भैरहेका छन् तर त्यसको लेखाजोखा छैन । हरेक व्यवसायीसँग व्यवसाय कर उठाउने हेटौंडा उपमहानगरपालिकाले यहाँको शान्ति सुरक्षाको दायित्व पनि केही हदसम्म लिनुपर्ने हो ।

मर्मतका नाममा वर्षै पिच्छे लाखौँ खर्च गरेको बताउने हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रको निगरानी भने गर्न सकेको छैन । सधै आलटाले जवाफ दिएरै पन्छिन खोज्छ हेटौंडा उपमहानगरपालिका ।

चाडपर्व नजिकिदै जाँदा मुख्य बजार क्षेत्रमा अपराधिक घटना बढ्दै जान्छन् । भारतसँग सीमाना जोडिएका जिल्ला नजिकै भएकाले पनि यहाँको शान्ति सुरक्षामा निगरानी गर्नुपर्ने हो । त्यसो त प्रदेशको राजधानी तर हेटौंडा उपमहानगर र जिल्ला प्रहरी कार्यालयले बजार क्षेत्रको सीसी क्यामेरासमेत चुस्त बनाउन नसक्नु निकै लाजमर्दो भएकाे नगरबासीकाे आक्राेश छ । ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ