arrow

के सन्देश दिएर गए चिनियाँ नेता झान्सु ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
li-jhanshu-china-nepal-team.jpg

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष लि झान्सु स्वदेश फर्किसकेका छन् । भ्रमणको सन्देश कस्तो रह्यो भन्ने बारेमा चासो र चर्चा भने रहिरहने छ । 

पछिल्ला दिनमा चीनका उच्चस्तरीय राजनीतिक नेतृत्वले नेपाललाई प्राथमिकतामा राखेको पनि भ्रमणका श्रृंखलाहरुले पुष्टि गरेको छ । दुई देशबीच सदिऔंदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । कुटनीतिक सम्बन्ध स्थापनापछि पनि नेपाल र चीनबीचको सम्बन्ध थप विस्तार भइरहेको छ । 

पछिल्ला दिनमा चिनियाँ राष्ट्रपतिले अगाडि सारेको आर्थिक विकास सहितको साझेदारीको कार्यक्रम ‘बीआरआई’ को एउटा सदस्य राष्ट्रका रुपमा नेपालले समेत हस्ताक्षर गरेको सन्दर्भमा सम्बन्धमा आयाम पनि नयाँ रुपमा अभिव्यक्त भएको छ । 

पछिल्लो छ महिनाका बीचमा चिनियाँ विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी, मन्त्रीस्तरीय हैसियतमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जिआन्चाओदेखि अध्यक्ष लि सम्मको भ्रमणको श्रृंखला हेर्दा चीनले नेपाललाई महत्व दिएको अर्थका रुपमा लिन सकिन्छ । 

अरनिको राजमार्गको विस्तारदेखि शुरु भएको विकास निर्माणको सहकार्य पछिल्ला दिनमा अझै मुखर रुपमा अगाडि बढेको छ । बीआरआई परियोजनाले ठूला भौतिक पूर्वाधारको सम्बन्ध सेतुलाई अझै विस्तार गरेर लैजाने अनुमान गरिए पनि त्यसमा खास प्रगति हुन सकेको छैन । 

अध्यक्ष लि को भ्रमणका क्रममा यहाँका राजनीतिक नेतृत्व र सङ्घीय संसद्ले समेत यो विषयलाई प्रमुखताका साथ उठाएको छ । सभामुखसँगको द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममासमेत यस विषयले प्रवेश पाएको छ । सभामुख सापकोटा र अध्यक्ष लिबीच विभिन्न छ बुँदे समझदारीपत्रमा हस्ताक्षर भयो । सम्झौताको एउटा बुँदामा सो विषयले प्राथमिकता पाएको छ । 

नेपाल र चीनले राष्ट्र तथा जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान गर्न सहमति जनाएका छन् । सहयोग सुदृढ गर्न प्रयास गर्ने र दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिने अर्को महत्वपूर्ण समझदारी पनि भ्रमणका क्रममा भएका छन् ।  

संसदीयमैत्री समूहलाई उनीहरूको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्दै साथ दिने तथा दुई व्यवस्थापिकाबीच सद्भाव र समझदारी प्रवद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गरी प्रोत्साहन गर्ने, एकअर्काको विधायिकी, सुपरीवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने भएका छन् । 

दुई सरकारबीच सहमति भए बमोजिम बीआरआई मार्फतसमेत दुई राष्ट्रहरुबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने विषयलाई समेत आत्मसात् गरिएको छ । 

भेटवार्ताका क्रममा सभामुख सापकोटाले नेपालको आर्थिक विकासमा चीन सरकार र चिनियाँ जनताका तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । कोरोना महामारीका समयमा चीन सरकारका तर्फबाट उपलब्ध सहयोगप्रति पनि सभामुखले आभार प्रकट गरेका थिए । 

दुई देशका जनप्रतिनिधिको शीर्ष नेतृत्वबीच यस्तो खालको द्विपक्षीय छलफल र भेटवार्तालाई पनि ऐतिहासिक घटनाक्रमका रुपमा लिने विश्वास गर्न सकिन्छ । यस्तै त्यसअवसरमा  चिनियाँ राष्ट्रपतिले अगाडि सारेको बीआरआईका विषयमासमेत त्यस अवसरमा छलफल भएको थियो । 

संयुक्त सहमतिमा पनि सो विषयले स्थान पाएको छ । यस्तै सहयोग आदानप्रदानका विविध विषयका अलावा नेपालको आर्थिक विकास एवं समृद्धिका विविध आयामका बारेमा पनि महत्वपूर्ण छलफल भएको छ । यो आफैमा अर्को महत्वपूर्ण विषयका रुपमा लिन सकिन्छ । 

नेपाल र जनवादी गणतन्त्र चीनबीच सहर्ष कायम रहेको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने तथा दुई राष्ट्र तथा जनताको आपसी हितका लागि दुवै राष्ट्रहरुबीच सहयोगको आदानप्रदान र आपसी विश्वासलाई अझ गहन तुल्याउने सम्झौताको उद्देश्य छ ।

सन् २०१९ को अक्टोबरमा भएको राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवसरमा नेपाल सरकार र जनवादी गणतन्त्र चीन सरकारबीच विकास तथा समृद्धिका लागि चिरकालसम्म मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई सहयोगको रणनीतिक साझेदारीमा अभिवृद्धि गर्ने गरी भएको निर्णयलाई पुनः पुष्टि गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । 

राजनीतिक नेतृत्व, सरकार र सङ्घीय संसद्का बीचमा भएको संवाद तथा विचार विमर्शले पनि चीनले सबै क्षेत्रलाई उत्तिकै महत्व दिएको अर्थका रुपमा लिन सकिने चीन मामिलाका जानकार डा रुपक सापकोटाको भनाइ छ । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लामो समयदेखि चिनियाँ नाका बन्द भएको तथा बीआरआईको कार्यान्वयनमा जटिलता पैदा भएको विषयलाई प्रमुखताका साथ उठाएका थिए । 

प्रधानमन्त्री शेरबहादुर देउवासँगको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जालको विस्तार, चीनमा अध्ययनरत नेपाली विद्यार्थी फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

त्यस क्रममा पनि चिनियाँ पक्षले एक चीन नीतिप्रति नेपालको अडान र नेपाली भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धताको खुलेर प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले चीनले विगतका वर्षदेखि नेपालको विकास प्रयासमा निरन्तर सहयोग गरेकामा प्रशंसा गरेका थिए । 

सो अवसरमा अध्यक्ष लिले चीनले तिब्बतमा कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गरेपछि छिट्टै सीमा बन्दरगाह खोल्ने र नेपालमा आगामी चाडपर्वका लागि सामान र अत्यावश्यक सामग्री ओसारपसार गर्ने कन्टेनरलाई सहजीकरण गर्ने आश्वासन दिएका थिए । 

चिनियाँ प्रतिनिधिमण्डलले नेपालमा चिनियाँ सहयोगमा सञ्चालित आयोजना कार्यान्वयनका लागि पहल गर्ने जानकारी गराएको थियो । नेपालको अनुरोधको जवाफमा चिनियाँ पक्ष नेपालको एलडीसीबाट सहज र दिगो स्तरोन्नतिलाई समर्थन गर्न सक्रिय प्रयास गर्न सहमत भएको थियो ।     

संयोग पनि कस्तो पर्न गएको छ भने अध्यक्ष लिको भ्रमणकै क्रममा बन्द रहेका उत्तरका दुई नाका बिहीबारदेखि सञ्चालनमा आएका छन् । कोरोना नियन्त्रणका लागि ‘शून्य कोरोना’को नीति अगाडि सारेको चीनले नाका बन्द गरेको अवस्था थियो । 

दशैँ तिहार जस्ता चाडबाडको समयमा नाका बन्द हुनु मानवीय हिसाबले पनि अमिल्दो विषय भएको भनेर व्यवसायीले टिप्पणी गरिरहेको सन्दर्भमा लि को भ्रमणकै क्रममा खुलेको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दशैं, तिहार लगायतका चाडपर्व शुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाका तात्काल खोल्न आग्रह गरेका थिए । उनले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गरेका थिए । 

अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउनका निम्ति चिनियाँ पक्षलाई आग्रह गरेका थिए । 

सन् २०१६ पछि चीन र नेपालका बीचमा आर्थिक विकासका सम्बन्धका महत्वपूर्ण सम्झौता र साझेदारी गर्ने सहमति भएका छन् । यद्यपि कार्यान्वयनको पाटो भने कमजोर रहेको सन्दर्भमा माओवादी अध्यक्ष दाहालले बीआरआई लगायतका परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । 

लामो समयदेखि दुई देशबीच राज्य–राज्य, सरकार–सरकारबीचको सम्बन्ध रहँदै आएको सन्दर्भमा पछिल्लो पटक जनता– जनताबीचको सम्बन्ध विस्तारका रुपमा संसदसँगको सम्बन्धलाई पनि अध्यक्ष ली को भ्रमणले उत्तिकै महत्व दिएको अर्थका रुपमा लिन सकिने चिनियाँ मामिलाका जानकार डा सापकोटाको भनाइ छ ।

उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि भइरहेका उच्चस्तरीय भ्रमणले  नेपाललाई चीनले उत्तिकै महत्व दिएको अर्थका रुपमा लिन सकिने र सम्बन्ध विस्तारका नयाँ नयाँ आयामको खोजीमा पछिल्लो भ्रमण मुखर देखिएको बताए । 

आर्थिक रुपमा शक्तिसम्पन्न देशका रुपमा स्थापित हुँदै गएको चीनका राष्ट्रपति सीजिङपिङको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा लागिपरेको छ । 

नेपालले लामो समयदेखि अङ्गीकार गर्दै आएको एक चीन नीति र सुरक्षा चासोप्रति चीन सदैव सकारात्मक रहेको छ । भूराजनीतिक बदलावका बीचमा देखिने अन्तर्राष्ट्रिय विवाद र चासोका बीचमा नेपालको असंलग्न परराष्ट्र नीति तथा एक चीन नीतिप्रतिको पूर्ण प्रतिबद्धता आफैमा महत्वपूर्ण रहेको छ । 

नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहँदै आएको छ । नेपाल चीनको असल मित्र रहेको र  नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको चीनले सधैं सम्मान गर्दै आएको छ । 

नेपालको विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहेको छ । नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि पछिल्लो पटक अध्यक्ष लिले समेत प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धताको तात्कालीक परिणाम पनि देखिइसकेको छ । 

अध्यक्ष ली को भ्रमणका क्रममा नै नेपाली पक्षले सीमा नाका र बीआरआई कार्यान्वयनका लागि गराएको ध्यानकर्षण आफैमा महत्वपूर्ण रहेको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खड्ग केसीको भनाइ छ । नाका खुल्ने विषयलाई पनि तत्कालीन रुपमा सकारात्मक रुपमा नै लिन सकिने उनको भनाइ छ । 

चीन र नेपालको सम्बन्ध रणनीतिक साझेदारीका प्रवेश गरेको भनेर जसरी भ्रमणमा क्रममा विषय उठे र प्रमुख ‘प्रतिपक्षी दलका नेताले दोहोर्‍याएकाले’ यसलाई थप महत्वका साथ हेर्नुपर्ने उनको भनाइ छ ।  संसदीय प्रक्रियामा पनि सहकार्य गरेर जाने भन्ने विषय अर्को महत्वका साथ हेर्नुपर्ने उनको भनाइ छ । 

नेपालका वामपन्थी शक्ति एकापसमा मिलुन भनेर गरिएका चर्चाका बीचमा ली को भ्रमणका क्रममा भने यस विषयले प्राथमिकता नपाएको र सतही अनुमान तथा विश्लेषण गरिएको समेत उनको टिप्पणी छ । उनले भने, “नेपाल प्राथमिकतामा छ भन्ने सन्देश यस भ्रमणबाट दिन खोजिएको होला भनेर लिन सकिन्छ ।”

बुधबार मात्रै अध्यक्ष लिले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताका क्रममा समेत दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयलाई नै केन्द्रमा राखिएको थियो । बुधबार बिहान मात्रै चिनियाँ नेता लि नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनः निर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो । 

नेपाल भ्रमणमा आउने चिनियाँ नेताले पूरातात्विक महत्वका क्षेत्रमा भ्रमण गर्ने प्रचलन रहँदै आएको छ । यसबाट नेपालमा चिनियाँ पर्यटकलाई आकर्षित गर्न बल पुग्ने जानकारहरुको भनाइ छ । चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका कम्युनिस्ट पार्टीबीच विशेष खासका सम्बन्ध रहँदै आएको चर्चा बेलाबखतमा हुने गरेको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्ता र त्यस क्रममा व्यक्त भएका विचारले पनि त्यसलाई पुनः पुष्टि गरिदिएको छ । अध्यक्ष लि नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता थियो । 

विभिन्न शक्ति राष्ट्रसँग नेपालको सहकार्य बढ्नु र अन्तर्राष्ट्रिय तवरमा नै महत्व पाउने भ्रमण हुनुको पछि नेपालले अवलम्बन गर्दै आइरहेको अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्त नै प्रमुख कारणका रुपमा रहेको डा सापकोटाको भनाइ छ । 

नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्चस्तरको भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन  मद्दत गर्नेछ । रासस

_1.JPG
1.jpg
2.jpg
3.jpg
4.jpg
5.JPG
7.jpg
8.jpg
9.jpg
FullSizeRender-14-09-22-04-30-1.jpg
FullSizeRender-14-09-22-04-30-3.jpg
IMG_1624-15-09-22-09-10.JPG
IMG_1626-15-09-22-09-10.JPG
IMG_1627-15-09-22-09-10.JPG
IMG_1628-15-09-22-09-10.JPG
IMG_1629-15-09-22-09-10.JPG
IMG_1630-15-09-22-09-10.JPG
IMG_1631-15-09-22-09-10.JPG
IMG-20220912-WA0039 (1).jpg
IMG-20220912-WA0040 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ