arrow

कस्तो बन्दैछ नेपाल उद्योग वाणिज्य महासंघको प्रादेशिक संरचना ?

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
काठमाडौं । यतिबेला नेपालका व्यवसायीहरूको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको आउँदो महाधिवेशन कस्तो बन्दैछ भन्ने सबैमा चर्चा र चासो चुलिएको छ । देशैभरी व्यवसायीहरूको सञ्जाल फैलिएको महत्वपूर्ण निकायको रूपमा रहेको महासंघको आगामी साधारणसभा र यसबाट आउने नेतृत्वको संरचनाको विषय राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा समेत चासोको विषय बन्ने गरेको छ । 
 
अहिलेसम्म एकात्मक शासन व्यवस्थामा रहेको महासंघ मुलुक संघीय संरचनामा गएसँगै आगामी नेतृत्वलाई पनि प्रादेशिक स्वरूपमा लैजाने तयारी भईरहेको महासंघले जनाएको छ । यही वर्तमान अवस्थामा महासंघको विधानलाई सान्दर्भिक बनाउने अभिभारा बोकेर महासंघको विधान संशोधनको लागि बनेको समितिका संयोजक समेत रहेका पूर्व अध्यक्ष चण्डीराज ढकालले मुलुक संघीय संरचनामा गएपछि महासंघको संरचना पनि संघीय संरचनामा जानु आवश्यक रहेकोले भन्दै यसैको तयारीमा आफूहरू रहेको जानकारी दिए । 
 
संयोजक ढकालले दिएको जानकारी अनुसार केन्द्रमा अध्यक्ष सहित ३ जना उपाध्यक्ष रहनेछन् भने यस पटक एकजना कोषाध्यक्षको पद पनि थप गर्ने प्रस्ताव गरिएको छ । अहिले प्रस्तावित विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान राखिएकोले अध्यक्षको निर्वाचन नहुने व्यवस्था गर्न पनि प्रस्ताव गरिएको छ । 
 
त्यस्तै, सात प्रदेशमा अध्यक्ष सहित बढीमा १५–१७ सदस्यीय प्रादेशिक समिति गठन गर्ने तयारी भएको पनि विधान समितिले जनाएको छ । प्रदेशको लागि सबै पदमा निर्वाचन मार्फत् नै नेतृत्व चयन गर्ने तयारी गरिएको छ भने ७ वटै प्रदेशका प्रादेशिक अध्यक्षहरूलाई आमन्त्रित पदाधिकारीको रूपमा राख्ने प्रस्ताव पनि विधानमा गरिएको संयोजक ढकालले जानकारी दिए । उनले केन्द्रको पदाधिकारी तथा सदस्यहरूको संख्या पनि २५ जना भन्दा बढी नहुने जानकारी पनि दिए । 
 
यद्यपि यस विषयमा देशै भरी रहेको उद्योग वाणिज्य महासंघसँग आवद्ध विभिन्न निकायका प्रतिनिधिहरूको सुझाव संकलन कार्य पनि भईरहेकोले यस विषयमा केही व्यवस्था परिवर्तन पनि हुन सक्छ । कात्तिकको पहिलो साता बस्ने महासंघको विशेष साधारणसभाले विधान पारित गरेपछि मात्रै उक्त विधान कार्यान्वयनमा आउनेछ । विधान पारितको लागि बहुमत सदस्यको आवश्यकता पर्नेछ । अन्य क्षेत्रीय तथा जिल्लागत संघहरूको अधिकारको विषयमा छलफल अझै जारी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ