- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ४२ दिनसम्म अस्पतालको भेन्टिलेटरमा रहेर प्राण त्यागेका कमेडियन तथा अभिनेता राजु श्रीवास्तव पञ्चतत्वमा विलीन भएका छन् । बुधबार बिहान निधन भएका उनको बिहीबार अन्तिम संस्कार गरिएको हो ।
दिल्लीको निगमबोध श्मशानमा उनको अन्तिम संस्कार गरिएको हो । उनका भाइ र उनका छोराले दागबत्ती दिएका थिए । सो क्रममा उनको परिवार, आफन्तसँगै कयौं कलाकारहरु उपस्थित थिए ।
उनको ५८ वर्षको उमेरमा निधन भएको हो । गत १० अगस्तका दिन उनले अध्यास गरिरहँदा हृदयाघात भएको थियो । जसका कारण उनको दिल्लीको एम्स अस्पतालमा ४२ दिनसम्म उपचार भएको थियो ।
उनको अन्तिम संस्कारमा निर्देशक मधुर भन्डारकर, सुनील पाल लगायत सहभागी थिए ।
उनलाई स्याण्ड आर्टिष्ट सुदर्शन पटनाइकले पुरीको बिचमा राजुलाई श्रद्धाञ्जली दिए । उनले उक्त बिचमा श्रीवास्तवको कलाकृति बनाएर श्रद्धाञ्जली दिएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘हराउँदै हँसाउँदै रुवाउनु भयो । तपाई लाखौं प्रशंसकको मुटुमा सधै ज्यूँदै हुनुहुनेछ । आत्माले शान्ति पाओस् राजु श्रीवास्तव ।’
अन्तिम संस्कारअघि भर्चुअल पोस्टमार्टम
यही बीचमा नयाँदिल्लीको एम्स अस्पतालले उनको भर्चुअल प्रविधिमार्फत पोस्टमार्टम गरेको छ । एम्स फरेन्सिक विभागका प्रमुख डा। सुधीर गुप्ताले भर्चुअल अटोप्सीको प्रयोगमार्फत उनको पोस्टमार्टम गरिएको बताए । ‘यो नयाँ प्रविधि भर्चुअल अटोप्सी हाइटेक डिजिटल एक्सरे हो र यो सिटीस्क्यानको सहयोगले गरिन्छ । पुरानो पोस्टमार्टम शैलीको तुलनामा यसमा निकै कम समय लाग्छ’, उनले भनेका छन् ।
उनले राजुको पोस्टमार्टम गर्नुपर्ने कारण पनि खुलाएका छन् । ‘शुरुआतमा जब उनलाई एम्समा ल्याइयो, उनी होसमा थिएनन् । परिवारले हामीलाई जिममा दौडिरहँदा लडेको बताएका थिए । जसकारण हामी स्पष्ट हुन सकेनौं । त्यहीकारण हामीले पोस्टमार्टम गर्ने निर्णय लिएका हौं’, उनले भनेका छन् ।