arrow

कांग्रेसभित्र समान न्यायको लडाइँ, प्रचण्डसहित गठबन्धनलाई नै अप्ठेरो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
congress-flag3.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसभित्रको समान न्यायको लडाइँले अहिले गठबन्धन नै अप्ठेरो परिरहेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको एक पक्षलाई नै बाहिर राखेर आफू सुहाउँदै एकलौटी गर्न खोजेपछि पीडित पक्षले समान न्यायको लडाइँ शुरु गरेको छ । 

पार्टीभित्र ४० प्रतिशतको हिस्सा खोजिरहेको डा. शेखर कोइराला समूहले समान न्याय नपाए आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विद्रोह गर्ने चेतावनी दिएपछि अहिले स्थिति असहज बन्दै गएको छ । 

र पनि पार्टी नेतृत्वले भने कुनै पनि पहल गरिरहेको छैन । कोइराला पक्षका नेताहरुले आफूहरु आफ्नै पार्टीबाट दमनमा परेको भन्दै न्यायका लागि नेतृत्वसँग आग्रह गरेका छन् । 

तर नेतृत्चले कुनै चासो दिइरहेको छैन । गत शनिबार खवरदारी सभा गरेर कोइराला पक्षले आफूहरुलाई समानुपातिकदेखि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तीमा पार्टीभित्रको सिटको ४० प्रतिशत सिट दिनुपर्ने माग गरेका छन् । 

तर नेतृत्वले भने सीमित स्वार्थमा रहेर समानुपातिकमा आफ्नालाई बढी समेटेको छ भने यसले प्रतिनिधि सभा र प्रदेश सभामासमेत असर पर्ने देखिएको छ । 

कोइराला निकटका एक नेताले भने, ‘आफ्नै पार्टी मिलाउन सक्दैनन् तर देउवा पाँच दलीय गठबन्धनका सभापति बन्न लागिपरेका छन् । पार्टीमा मिलाउन सक्दैनन् फेरि प्रधानमन्त्री बन्ने भनेर गठबन्धन गरिरहेका छन् । अनि आफ्नै पार्टीले भोट नदिएपछि कसरी जित्छ त कांग्रेसले ?’

उनको आक्रोशमा न्यायोचित सिट बाँडफाँटमा जोड रहेको थियो । त्यतिमात्र होइन न्याय नभए आगामी निर्वाचनमा विद्रोह गर्ने चेतावनीसमेत दिइएको छ । 

यसले कांग्रेसलाई निकै असर पर्नेछ भने गठबन्धनको स्थिति पनि राम्रो नहुने दाबी गरिएको छ । अर्का एक केन्द्रीय सदस्य भन्छन्, ‘आफ्नै पार्टीले धोका दिन्छ भने गठबन्धनको के आशा भयो र ?’

विद्रोह नै गर्नुपरे देउवामात्र होइन गठबन्धनका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका नेताविरुद्ध नै चुनावमा उत्रने अवस्था आउनेसमेत नेताहरुले बताएका छन् । 

गुरुराज घिमिरेले त प्रचण्डविरुद्ध उम्मेदवारी दिनेसमेत बताएका छन् । उनले पनि न्याय नपाए विद्रोह नै गर्ने हो भने प्रचण्डविरुद्ध चितवनमा लड्न किन नजाने ? भनी प्रश्न गरेका छन् । 

कोइराला पक्षले लामो समयदेखि देउवाले पार्टीमा वास्ता गर्न छाडेको भन्दै समानुपातिकको उम्मेदवारी नसच्याए तत्कालदेखि नै पार्टीलाई क्षति हुने चेतावनीसमेत दिएको छ । 

यसले प्रचण्डकोसमेत टाउको दुखिसकेको छ । कोइराला समूहले विद्रोहसमेत गर्न सक्ने भनेपछि प्रचण्डले देउवालाई सम्पर्क गरेर पार्टीको आन्तरिक विवाद मिलाउन आग्रह गरिसकेका छन् ।

कोइराला समूहका नेताहरुले प्रतिनिधि सभामा १६५ मध्ये सय सिट कांग्रेसले राख्नुपर्ने बताउँदै आएका छन् । तर नेतृत्व भने ८० देखि ८५ सिटसम्म पाए पनि पुग्ने मनस्थितिमा देखिएको छ । 

अहिलेको आवश्यकता गठबन्धन हो भन्दै देउवाले कांग्रेसभित्र नै असन्तुष्टिको बिउ रोपेको आरोप कोइराला पक्षका नेताहरुको छ । 

कोइराला समूहले न्यायका लागि पार्टी कार्यालयमा धर्नासमेत दिँदैछ । नेतृत्वको विचार सुनाउनका लागि प्रवक्ता डा. प्रकाशशरण महतले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दैछन् । 

तर आन्तरिक विवाद तत्काल समाधान नगर्ने हो भने चुनावसम्म यसले ठूलो दुर्घटना निम्तिने विश्लेषण गर्न थालिएको छ । 

यदि कांग्रेसभित्रै विद्रोह भयो भने त्यसले गठबन्धनको हिसाबसमेत गडबड गर्ने निश्चित छ । 
 



नयाँ