arrow

संकटमा वामदेव गौतम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
bamdev-gautem.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । गठबन्धन दलहरुले सिट बाँडफाँटमा अन्तिम कसरत गरिरहँदा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमलाई संकट परेको छ । नेपाली कांग्रेसमा देखिएको आन्तरिक विवादका कारण गठबन्धन दलमा सिट बाँडफाँटमा अप्ठेरो परेको बेला नेकपा एकता राष्ट्रिय अभियानका संयोजक गौतमको चुनावी क्षेत्र अन्यौलमा पर्दा उनको आगामी राजनीतिक भविष्य क्षयीकरण मात्रै भएको छैन संसदीय चुनावबाटै हात धुने अवस्था आएको  छ । 

प्यूठानबाट चुनाव लड्ने गरी तयारी गरेका गौतमलाई राष्ट्रिय जनमोर्चा (राजमो) बाधक भएपछि उनको चुनावी क्षेत्र अन्यौलमा परेको हो । राजमोले बाग्लुङ र प्यूठान नछाडेपछि गौतमका लागि माओवादी पनि अप्ठेरोमा परेको छ । 

गौतमलाई माओवादीकै सिटबाट चुनाव लडाउने सम्झौता भएको छ । सो सम्झौता अनुसार प्यूठान दाबी गरिरहेका थिए । तर प्यूठानमा एमाले पनि बलियो रहेको र राजमो पनि बलियो रहेका कारण राजमोले गठबन्धनबाट दाबी गरेपछि कांग्रेसले पनि गौतमका लागि प्यूठान छाडिदिन नसक्ने जनाउ दिएको छ । 

उता बर्दियामा एमाले बलियो रहँदा र माओवादीसहितको गठबन्धन हुँदा पनि २०७४ सालमा नेपाली कांग्रेसका सञ्जय गौतमले वामदेव गौतमलाई पराजित गरेका थिए । त्यसकारण बर्दियामा कांग्रेसले वामदेवका लागि सिट छाडिदिन कठिन रहेको छ ।

 ‘वामदेवका लागि कांग्रेसले यसपटक बर्दियामा सिट छाड्दैन’, बर्दियाकै एक नेताले भने ‘माओवादीको कुरा हो उसले जहाँबाट मिलाउने हो मिलाओस् ।’  
राजमोले प्यूठान नछाडेपछि गौतम भने पार्टी कामको शिलशिलामा गत सोमबार बर्दिया पुगेका थिए । तर त्यहाँबाट उनलाई साथ दिने संकेत नभएपछि अहिले काठमाडौं आएका छन् । 

बुधबार साँझ प्रचण्डलाई भेट गरेका गौतमले आफ्नो क्षेत्र कहाँ हो त्यो खुलाउन आग्रह गरेका थिए । राष्ट्रिय सभा सदस्यबाट गौतमले राजीनामा दिएर संघीय संसदको तयारी गरेका छन् । तर गौतम एकाएक बर्दिया जानुलाई आफ्नो क्षेत्रको खोजी गर्नु रहेको आशंका थियो ।

 ‘उहाँ बर्दिया जानु भएको हो तर पार्टी कामको शिलशिलामा होइन’, गौतमका स्वकीय सचिव दिपक टमटाले भने । बर्दिया र प्यूठान जिल्लामध्ये गौतमको अन्तिम रोजाइमा प्युठान परेको थियो । चुनावका लागि गौतमले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर लड्न सहमत भइसकेका मात्र होइन माओवादी अध्यक्षले सिट ल्याउने जिम्मेवारी लिएको समेत बताइसकेका छन् । 

यस्तो अवस्थामा गौतम सोमबार बर्दियामा पुगेका थिए । नेकपा विघटन भएपछि कुनै समूहमा नलागी पार्टी एकिकरण गर्ने भन्दै अलमलिएका थिए । 

नेपाली राजनीतिमा अस्थिर पात्रको रुपमा परिचित गौतम स्थानीय तहको निर्वाचको बेला एमालेबाट विभाजित भएको एस पार्टीलाई गीत लेखेर सहयोग गरेका थिए । 

उनले गीतमार्फत एस पार्टीलाई मत मागेका थिए । विगतमा उनलाई साथ दिएका धेरै जसो नेता कार्यकर्ताहरु अहिले एस पार्टीमा क्रियाशील रहेका छन् । स्थानीय तहको निर्वाचन सकिएपछि संघीय संसदको निर्वाचनमा एस पार्टीतिर लागेर चुनाव जितिदैन भन्ने भएपछि माओवादी अध्यक्ष प्रचण्डको शरणमा पुगेका थिए । 

प्रचण्डसँग उनले हँसिया हथौडा चिन्हमै चुनाव लड्ने गरी सम्झौता गरेका थिए । सोही सम्झौता अनुसार प्यूठानबाट निर्वाचन लड्ने तयारी गरेका गौतमलाई राजमो बाधक मात्रै बनेन सिट नै लिने देखिएको छ । 

गौतमका लागि दुवै जिल्ला अनुकुल नभएपछि अहिले चुनाव नलड्ने हो कि भन्ने मनस्थितिमा पुगेको गौतम निकटका नेताहरुले बताएका छन् । ‘एमालेले साथ दिने अवस्था छैन, माओवादीले दिने क्षेत्र उहाँका लागि अनुकुल देखिएन’, उनी निकट रहेका एक नेताले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ