arrow

‘तनहुँबाट आएर मेरो ठाउँमा शासन गर्छस्’ भन्दै कर्मचारीलाई धम्क्याए एमाले नेता राईले, विभिन्न ठाउँमा उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १४ शुक्रबार
rajendra-rai-prakashraj-poudel.jpg

धनकुटा । नेकपा एमालेबाट निर्वाचित निवर्तमान सांंसद राजेन्द्र राईले पाख्रीवास नगरपालिकाका कार्यकारी प्रमुख प्रकाशराज पौडेललाई ज्यानको धम्की दिएका छन् । उनले बिहीबार साँझ ५ बजे फोन गरी अपशब्द प्रयोग गरी घरपरिवारको ज्यान जोखिममा पारिदिने भन्दै धम्की दिएका हुन् । 

उनले फोनमा ‘घरपरिवारको ज्यानसमेत जोखिम पार्दिन्छु, झुन्ड्याइदिन्छु’ जस्ता धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परेको छ ।  ‘राष्ट्र सेवक कर्मचारीमाथि हुने डर धम्कीलाई प्रतिकार गर्नु हाम्रो पनि दायित्व हो’ भन्दै कर्मचारीहरुले चर्को विरोध गरेका छन् । उनीहरुले विज्ञप्तिसमेत निकालेका छन् । कर्मचारीहरुले आज पेन डाउनसमेत गरेका छन् । 

पौडेलले जिल्ला प्रशासनसँगै जिल्ला प्रहरी कार्यालयमासमेत उजुरी दिएका छन् । उनले भने, ‘एक्कासी उहाँले फोन गर्नुभयो । मलाई बोल्नै दिनु भएन । तपाई मसँग दोहोरो कुरा नगर्नुस्, डबल कुरा नगर्नुस् भन्नभो । अत्यन्तै अमर्यादित, अपराधिक मनोवृत्तिबाट त्रसित भएजस्तो गरेर अत्यन्तै लाजमर्दो कुराहरु गनुभो ।’

उनले अगाडि भने, ‘तनहुँबाट आएर मेरो ठाउँमा आएर शासन गर्छस् भन्नुभयो । के कारणले मलाई थर्काउँदै हुनुहुन्छ भनेर सोध्दा केही बताउनु भएन । एकोहोरो धम्कीपूर्ण भाषा प्रयोग गर्नुभयो ।’

उजुरी दिएको बारेमा उनले भने, ‘मैले दिइसकेँ । सीडीओ साप्लाई, एसपी साप्लाई । बोधार्थ सबैठाउँमा पठाएँ । साइबर क्राइमका लागि एसपीसाप्मार्फत माथि जानुपर्ने रैछ त्यो पनि काम गरियो ।’

उनले दुखेसो गर्दैै भने, ‘विकास निर्माणको काम गर्नुपर्नेमा मुद्दा मामिलाको काम गरेर सिध्याइयो ।’

यही हो मौका भनेर अर्को एक जनाले घुस खायो के गर्यो भनेर विज्ञप्तिसमेत निकालिएको छ । 

आफूले केही पनि नगरेको भन्दै पौडेलले भने, ‘मैले त केही पनि गरेको छैन । सारा संसारलाई थाहा छ । अब मेयर र उपमेयरको झगडा अल्पमत र बहुमतको । त्यसैको रिस हामीलाई पोख्या होलान् । लोकलले लोकललाई गाली गर्न सक्दैनन् । बाहिरकालाई तर्साउने त हुन् नि ।’

त्यसैले होला राईले उनलाई ‘तनहुँबाट आएर मेरो ठाउँमा शासन गर्छस्’ भनेर थर्काएका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ