arrow

जहाँ १८ वर्षपछि भित्र्याइयो फूलपाती

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
FULPATI.jpeg
फाइल तस्बिर

भोजपुर । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा स्थापना गरेको भोजपुरको निशान भवगती मन्दिरबाट करिब १८ वर्षपछि फूलपाती भित्र्याइएको छ । विसं १८२६ तिर स्थापना भएको यो मन्दिरबाट यस वर्ष भने तामझामका साथ फूलपाती भित्र्याइएको हो ।

विसं २०६१/६२ सम्म भव्यरूपमा यहाँदेखि फूलपाती भित्र्याउने चलन भए पनि त्यसयता फूलपाती भित्र्याइन छाडिएको थियो । यस वर्ष भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सर्वसाधारणले यही मन्दिरबाट फूलपाती भित्र्याएका हुन् । 

बन्द भएको फूलपाती भित्र्याउने चलन यस वर्षदेखि पुनः सञ्चालन भएकाले भोजपुरको इतिहास बोकेको मन्दिरको संरक्षण गर्दै आगामी दिनमा पनि यो चलनलाई निरन्तरता दिनुपर्ने स्थानीयवासी प्रवीनकुमार सुवालले बताए । “विगतका वर्षमा यहाँ फूलपाती भित्र्याउनका लागि मानिसहरुको भीड हुन्थ्यो”, सुवालले भने, “तर करिब १८ वर्षअघि देखि चलन हटेको थियो । यो एउटा इतिहास बोकेको मन्दिर हो । पराम्परालाई आगामी दिनमा निरन्तरता दिँदै मन्दिरको पनि संरक्षण गर्न आवश्यक छ ।”

फस्र्ट राइफल गण भोजपुरको पहलमा यस वर्ष यहाँबाट फूलपाती भित्र्याइएको हो । सिद्धकाली मन्दिरमा पूजाआजापछि यहाँ आएर सुरक्षा निकायसँगै सर्वसाधारणले पनि फूलपाती भित्र्याएका हुन् । कारागार कार्यालय नजिकै मन्दिर रहेकाले सुरक्षाका कारण पूजाआजामा केही कठिनाइ रहे पनि यसको संरक्षण अति आवश्यक रहेको स्थानीयवासी जीवन श्रेष्ठले बताए । 

गरुण दल गुल्म रहँदासम्म यहाँ भव्यरूपमा पूजाआजा हुने गरे पनि गुल्म स्थानान्तरण भएपछि पराम्परा लोप हँुदै गएको उनको भनाइ छ । विसं २०३९ मा यहाँबाट गुल्म स्थानान्तरण भएको श्रेष्ठले जानकारी दिनुभयो । गुल्म स्थानान्तरण भएसँगै गुल्मले आफ्नो निशान लगेपछि क्रमिकरूपमा यो चलन लोप हुँदै गएको उनले बताए । पुनः निशान भगवतीको मूर्ति स्थापना गरेर यहाँको इतिहासलाई जोगाउनुपर्नेमा उनको जोड छ । 

“नेपाल एकीकरणको समयमा स्थापना भएको निशान मन्दिर हो”, श्रेष्ठले भने, “त्यो बेला बडाहामिक बस्ने भएकाले यहाँ भव्यरूपमा फूलपातीसँगै अन्य अवसरमा पूजाआजा हुन्थ्यो । गुल्म गएपछि निशान लग्यो । त्यसपछि मन्दिर संरक्षणविहीन बन्यो । २०६०/६१ सालपछि फूलपाती भित्र्याउने चलन पनि हट्यो ।”

मन्दिर कारागार परिसर नजिकै रहेकाले सुरक्षाका कारण पूजाआजामा जान केही असहज रहेको छ । यहाँको ऐतिहासिक महत्वलाई जोगाउनका लागि मन्दिरमा निशान भगवतीको मूर्ति स्थापना गर्न पहल गर्नुपर्ने भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले बताए । यो क्षेत्रको संरक्षण गरेर धार्मिक पर्यटनका रूपमा विकास गर्नुपर्ने प्रधानको भनाइ छ ।

“यो मन्दिरको संरक्षण गर्दै धार्मिक पर्यटनका रूपमा विकास गर्न सकिन्छ”, वडाध्यक्ष प्रधानले भने, “यहाँ सर्वसाधारणको सहज पहुँचको वातावरण बनाएर मन्दिरलाई संरक्षण तथा जगेर्ना गर्नु आवश्यक छ । यसका लागि सरोकारवाला पक्षसँगै स्थानीय नागरिक जुट्नुपर्छ ।”

इतिहास बोकेको मन्दिरबाट लामो समयपछि फूलपाती भित्र्याएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । विगतको समयमा भएको निशान भगवती मन्दिर भत्किएपछि २०६९ सालमा जीर्णोद्धार गरेर अर्को मन्दिर स्थापना गरिएको छ । त्यस समयमा बलि दिनका लागि राखिएको मौलो राखिएको ठाउँसमेत परिवर्तन गरिएको छ । यहाँ रहेका कतिपय पुरातात्विक महत्वका संरचनाहरु भत्किसकेका छन् । मौलिकतालाई कायम राख्दै मन्दिरलाई संरक्षण गरिनुपर्नेमा स्थानीयवासीले आवाज उठाएका छन् ।

जिल्लाको पहिचानका रूपमा रहेको मन्दिरको संरक्षणमा स्थानीय सरकारले पनि ध्यान नदिएको उनीहरुको आरोप छ । मन्दिरको संरक्षणसँगै उचित व्यवस्थापनका लागि भोजपुर नगरपालिकाले ध्यान दिनुपर्ने स्थानीय भुपाल कार्कीले बताए । “हाम्रो जिल्लामा यति धेरै ऐतिहासिक महत्व बोकेको ठाउँ भए पनि उचित संरक्षण हुन सकेको छैन”, कार्कीले भने, “यस्ता ऐतिहासिक धरोहरको विकास तथा संरक्षणमा सरोकारवाला पक्षले ध्यान दिन आवश्यक छ । तर यतिका वर्षसम्म पनि स्थानीय सरकारले संरक्षणमा ध्यान दिएको देखिँदैन ।” रासस



नयाँ