- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । निवर्तमान सांसद अमनलाल मोदीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले मोरङको क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनील शर्मालाई सघाउने बताएका छन् । विराटनगरमा आयोजित नोबेल मिस्टर एण्ड मिस थारु आइकन समापन कार्यक्रमलाई संबोधन गर्दै मोदीले शर्माको पक्षमा थारु मत आउने बताएका हुन् ।
नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा. शर्माले थारु समुदायलाई धेरै गुन लगाएको भन्दै मोदीले अब मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले डा. शर्माको गुन फर्काउने बताए ।
नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका सांसद मोदीले आसन्न चुनावमा डा. शर्माले जित्ने विश्वाससमेत व्यक्त गरे । ‘डा.सुनील शर्माले थारुहरुलाई धेरै गुन लगाउनु भयो, अब आउने चुनावमा थारुहरुले तपाईको गुन फर्काउने छन्,’ संबोधनका क्रममा डा. शर्मालाई लक्षित गर्दै मोदीले भने, ‘आउने चुनावमा तपाईले जित्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’
नोबेल मिस्टर एण्ड मिस थारु आइकन प्रतियोगिता सञ्चालन गर्न नोबेल मेडिकल कलेजमार्फत डा. शर्माले ठूलो सहयोग गरेको उनले बताए । डा. शर्माको सहयोगका कारण थारु समुदायको कला, संस्कृति र प्रतिभा उजागर गर्ने वातावरण मिलेको भन्दै नेता मोदीले सहयोगका लागि डा. शर्मालाई धन्यवादसमेत व्यक्त गरे ।
कांग्रेस मोरङ क्षेत्र नं. ३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारका लागि डा. शर्माको एकल नाम सिफारिस गरेको छ । एकल नाम सिफारिसमा परेकाले सो क्षेत्रमा डा. शर्मा उम्मेद्वार बन्ने लगभग पक्कापक्की छ ।
थारु समुदायको कला संस्कृति प्रवद्र्धन र युवायुवतीको प्रतिभा उजागर गर्न आयोतिज थारु आइकनलाई डा.शर्माले नोबेल अस्पतालमार्फत प्रायोजन गराइदिएका हुन् । थारु आइकनको यो तेस्रो सिजन हो । प्रतियोगिताको तीन वटै सिजनलाई डा.शर्माले नोबेल अस्पतालमार्फत प्रायोजन गराइदिएका हुन् ।