arrow

माझी समुदायमा दशैंको खुशी भित्र्याए चन्द्र भण्डारीले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
chandra-bhandari-majhi-basti.jpg

गुल्मी । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले गुल्मीको विपन्न माझी समुदायमा दशैंको खुशी भित्र्याएका छन् । नेता भण्डारीले हरेक वर्ष विपन्न माझी बस्तीमा पुगेर दशैं पर्व मनाउन थालेपछि सो समुदायमा दशैंको रौनक छाउन थालेको हो ।

नेता भण्डारीले विगत एक दशकदेखि विपन्न माझी परिवारमा दशै पर्व मनाउने र खुशी साटासाट गर्न थालेका हुन् । त्यसपछि मात्रै आफ्नो समुदायमासमेत दशैंको खुशीयाली छाउन थालेको माझी परिवार बताउँछन्  ।

दशैं मनाउन शनिबार नेता भण्डारीले गुल्मी जिल्लाको दरबार गाउँपालिका–१ बलिथुमस्थित माझी बस्तीमा पुग्दा सयौँ माझी परिवारमा खुशीको माहोल देखिन्थ्यो ।

स्थानीय होमबहादुर माझीले विपन्न समुदायमा केन्द्रीय नेतासहित दशैं मनाउन थालेपछि चार्डपर्वको फरक अनुभूति त गर्न पाएको बताए । उनले आर्थिक अवस्था कमजोर भएको आफ्नो समुदायमा विगतका वर्षहरुमा दशैं पर्व कस्तो हुन्छ भन्ने अनुभूतिसमेत गर्न नपाएको बताए । 

उनले खोलामा माछा मारेर जिविकोपार्जन गर्ने आफ्नो समुदायमा चाडपर्व मनाउने चलन नभएको बताउँदै भने, ‘‘दशै लगायत चार्डपर्व धनी तथा हुने खानेका लागि मात्र हो भन्ने थियो । तर उहाँले हामी जस्तो विपन्न समुदायमा दशैं मनाउन थालेपछि बल्ल दशै पर्वको अनुभव गर्न पाएका छौँ ।’

उनले नेता भण्डारी आफ्नो बस्तीमा आएर दशैंजस्तो विशेष पर्व मनाउन थालेपछि आफ्नो समुदाय अत्यन्तै खुशी र हर्षित भएको प्रतिक्रिया दिए ।

गुल्मी जिल्लाका अत्यन्तै विपन्न समुदाय माझी बस्तीको शैक्षिक, आर्थिक तथा सामाजिक विकासको दृष्टीले पछाडि परेको छ । नेता भण्डारीले उक्त विपन्न परिवारको अवस्था सुधार गर्ने उद्देश्ले चाडपर्व विशेष कार्यक्रम सोही समुदायमा मनाउन थालेका हुन् । 

आर्थिक अवस्था कमजोर भएका कारण दैनिक जिविकोपार्जन गर्नसमेत कठिन माझी समुदायमा नेता भण्डारीले दशै पर्वको खुशी साटासाटको साथै सामाजिक तथा शैक्षिक सुधारका लागि झण्डै एक दशक पहिलेदेखि विशेष अभियान नै शुरु गरेका छन् । 

माझीका अनुसार नेता भण्डारीको बलिथुमको माझी बस्तीमा मात्र ५० वटा पक्की घर निर्माण गरी माझी परिवारलाई हस्तान्तरण गरिएको छ । शैक्षिक अवस्था अत्यन्तै कमजोर भएको सो बस्तीमा नेता भण्डारीको पहलमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ ।

माझी परिवारमा बालबालिकालाई विद्यालय पठाउने चलन अत्यन्तै कम थियो । गाउँमा विद्यालय स्थापना भएपछि माझी परिवारले आफ्ना सबै बालबालिका विद्यालय पठाउन थालेका छन् ।

ती बालबालिकाका लागि नेता भण्डारीले शैक्षिक सामाग्री तथा उनका अभिभावकलाई आर्थिक सहयोग समेत उपलब्ध गराउन थालेपछि माझी बस्तीको दैनिकी नै फेरिएको छ ।

दशैं पर्व मनाउन नेता भण्डारी प्रत्येक वर्ष माझी बस्ती पुग्दा उनीहरुले आफ्नो अभिभावक आएको अनुभूत गर्ने गरेको स्थानीय लक्ष्मण भण्डारीले बताए । 

नेता भण्डारीको पहलमा गुल्मीको कालीगण्डकी गाउँपालिका–५ स्थित माझी बस्तीमा झण्डै १०० वटा पक्की भवन निर्माण गरी समुदायमा हस्तान्तरण गरिएको छ । 

त्यसैगरी छत्रकोट गाउँपालिका–१ बोटेगाँउ ९ माझी बस्तीका बालबालिकालाई समेत नेता भण्डारीको विशेष पहलमा बालबालिकालाई शैक्षिक समाग्री तथा अभिभावकलाई सहयोग शुरु भएसँगै समुदायको अवस्थामा परिवर्तन आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ