arrow

अमिताभ–रेखाः प्रेम–पीडा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
amitabh-rekha.jpg

काठमाडौं । बलिउडमा अमिताभ बच्चन र रेखाको अद्भुत नाता छ । त्यो नाता कस्तो हो कसैलाई थाहा छैन । दुवैले खेलेका फिल्महरु सुपर डुपर हिट हुन्छन् । भनिन्छ रेखाले अमिताभसँग यस्तोसँग प्रेम गरिन् कि उनलाई बाहेक कसैलाई देखिनन् । 

अमिताभ रेखाको संयोग पनि यस्तो छ कि दुवैको जन्मदिन एक दिनको अन्तरमा पर्छ । पहिले रेखाको अक्टोबर १० तारिखमा र अमिताभको अक्टोबर ११ तारिखमा । वर्षको अन्तर भने १२ वर्षको । 

अमिताभ ८० का भए । रेखा ६८ कि । दुवैले अन्तिम पटक सन् १९८१ मा ‘सिलसिला’ चलचित्रमा काम गरेका थिए । अचम्म त के भने ४१ वर्ष भइसकेको छ दुवैले सँगसँगै काम नगरेको । तर अमिताभ–रेखाको जोडी उत्तिकै चर्चित छ जुन् सन् १९७६ देखि १९८१ को बीचमा रहेको थियो । 

यो जोडीको लोकप्रियताबारे ४० वर्षका युवाको त के कुरा १४ वर्षका किशोर पनि जान्दछन् । पर्दाको प्रेममा यो जोडी निकै अमर रह्यो । त्यसो त रिल लाइफमात्र हैन रियल लाइफमा पनि यो जोडीको प्रेमको चर्चा हुने गर्छ । 

यो प्रेमकथा खुलेर पूरै तरिकाले बाहिर आएको छैन । तर यसलाई कसैले भुल्न सक्दैन । जुन ४०–४५ साल पहिले पनि चर्चामा थियो र आज पनि छ । बस् यत्ति हो कि न अमिताभले कतै भने न रेखाले भनिन् । बस् उनले आँसु झारिन् । बोली झारिनन् । 

त्यसो त अरु कसैले पनि खुलेर भन्न सकेनन् । दबेको स्वरमा सबैले भने । त्यतिबेला पनि भनेका थिए । अहिले पनि भनिरहेका छन् । बस् दबेकै स्वरमा । 

फिल्मी दुनियाँमा प्रेमकथाको कमी छैन । बलिउडमा पनि कमी छैन । कलाकारहरुबीच पनि सम्बन्ध बनेका छन् । कसैका छोटो समयसम्म रहे । कसैका आजीवन रहे । विवाह गरेरमात्र प्रेम सम्बन्ध नटुङ्गिएका कथा पनि छन् । प्रेमकथा अमर भएका पनि छन् । 

त्यस्तै प्रेमकथा अमर हुनेमा राज कपूर र नरगिसको प्रेमकथा पनि पर्छ । सोही रुपमा अमिताभ–रेखाको कथा पनि पर्छ । राज कपूर र नरगिस यो दुनियाँमा छैनन् । तर प्रेम कथा आज पनि अमर छ । त्यस्तै अमिताभ–रेखाको प्रेमकथालाई पनि समयले धुमिल पार्न सक्ने छैन । 

अमिताभ र रेखाको पहिलो भेट जया भादुडीभन्दा पहिले भएको थियो सन् १९७२ मा । जीएम रोशनले कुन्दन कुमारको निर्देशनमा ‘अपने–पराये’ फिल्म बनाएका थिए । अमिताभ र रेखाले खेलेको उक्त फिल्मको शुटिङ केही दिन भएर रोकियो । 

पछि अमिताभको स्थानमा संजय खानलाई लिएर ‘दुनियाँका मेला’ नाम राखेर सन् १९७४ मा प्रदर्शित गरियो । तर फिल्म फ्लप भयो । 

अमिताभ र रेखाले सन् १९७३ मा ‘नमक हराम’ मा खेले । तर रेखा अमिताभकी नभइ राजेश खन्नाकी नायिका थिइन् । खासै कुराकानी पनि गर्न पाएनन् । यो फिल्मसम्म पनि उनीहरु अन्जान रहेको बुझिन्छ । 

सन् १९७६ मा निर्माता टीटू र निर्देशक दुलाल गुहाले ‘दो अनजाने’ मा अमिताभ र रेखालाई दिए । यो चलचित्रमा दुवैको वास्तविक नाम नै चलचित्रको पात्रको नाम थियो । यो चलभित्रमा रेखा नायिका भए पनि भूमिका भने ‘नेगेटिभ’ थियो । 

रेखा यसअघिका चलचित्रमा त्यति गम्भीर हुँदैनथिइन् । उनी हँसिमजाकमा रमाउँथिन् । तर यो फिल्ममा निकै गम्भीर भएर खेलिन् । 

हुनत अमिताभ र रेखा सन् १९६९ मा चलचित्रमा काम गर्नका लागि मुम्बई पुगेका थिए । त्यसो त रेखा तीन वर्षको उमेरमै बालकलाकारका रुपमा खेलिसकेकी थिइन् । 

उनले सन् १९७० मा खेलेको पहिलो हिन्दी चलचित्र ‘सावन भादो’ हिट भएको थियो । अमिताभसँग दो अनजाने खेल्नुअघि ‘एक बेचारा’, ‘रामपुरका लक्ष्मण’, ‘कहानी किस्मत की’ ‘अनोखी अदा’, ‘धर्मा’, ‘धर्मात्मा’, ‘धर्म कर्म’, ‘कहते है मुझको राजा’, ‘प्राण जाए पर वचन ना जाए’ र ‘सन्तान’ जस्ता चर्चित चलचित्रमा काम गरिसकेकी थिइन् । 

दो अनजानेमा अमिताभसँग खेल्दा रेखा केही डराएकी थिइन् । उनले सिमी गरेवालको टीभी कार्यक्रम रानदेवूमा बताएकी थिइन् कि ‘जब मलाई थाहा भयो कि अमितजीले दो अनजानेका लागि साइन गरिसक्नु भएको छ मलाई थोरै डर लागेको थियो । हुनत केही मामिलामा म उहाँभन्दा सिनियर थिएँ । तर उहाँ आफ्नो फिल्म ‘दिवार’ बाट निकै सफल भइसक्नु भएको थियो ।’

त्यतिन्जेल अमिताभबारे रेखाले कुनै जानकारी लिएकी थिइनन् । किनकि दुवै सँगसँगै बसेर कुराकानी गरेका थिएनन् । त्यसैले त रेखा दो अनजानेको सेटमा अमिताभसँग काम गर्दा नर्भस भएकी थिइन् । रेखाले अमिताभबाट धेरै कुरा सिकेको पनि बताइन् । त्यसपछि रेखा एकाएक अमिताभबाट प्रभावित भइन् । 

उनले भनिन्, ‘म पहिले कुनै आम मानिसबाट कहीँ पनि प्रभावित हुँदैनथेँ । तर अमिताभ मेरा लागि यस्ता मानिस थिए त्यस्तो मानिस मैले पहिले कहिल्यै देखेकी थिइन । म यो सोचेर सोचमग्न हुन्थेँ कि कसरी एकै मानिसमा यति धेरै खुवी हुन सकेका ।’

उनी अमिताभलाई निकै माथिल्लो दर्जामा राख्थिन् । उनले भनिन्, ‘मलाई यस्तो लाग्छ कि जब तपाईलाई राम्रो लाग्छ भने उसका सबै कुरा राम्रो लाग्न थाल्छन् । जब म उहाँसँग भेटेँ तब मलाई लाग्यो कि यस्तो व्यक्तिसँग यसअघि कहिल्यै भेटिन । हामी दुवैको तुला राशि हो । तर एक व्यक्तिमा कसरी यति धेरै राम्रा गुण हुन सक्छन् ।’

उक्त फिल्मको सेटमा रेखाले आफ्नो संवाद (डाइलग) समेत भुल्थिन् । रेखाले भनिन्, ‘तब उहाँले मलाई भन्नुभयो –सुन्नुस् कम्तीमा आफ्नो डाइलग त याद गर्नुस् । मैले उहाँलाई हेर्थेँ कि कसरी उहाँले ध्यान र सम्मानपूर्वक निर्देशकको कुरा सुन्नुहुन्थ्यो । मैले यो पनि सिकेँ ।’

रेखाले अगाडि भनिन्, ‘मलाई लाग्यो कि उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसबाट मैले धेरै कुरा सिक्नु छ । प्रेरणा लिनु छ । यो घटना नै मेरो जीवनको टर्निङ प्वाइन्ट रह्यो । मलाई विश्वास छ कि म भाग्यशाली हुँ । र बुद्धिमान पनि कि मैले उहाँबाट आफ्नो प्रेरणाका लागि चुनेँ । उहाँ यस्तो एक शिखर अभिनेता हो जसको अगाडि खडा हुनु सजिलो छैन ।’

रेखाको कुराबाट पनि स्पष्ट हुन्छ कि अमिताभको अभिनय, कौशल, अनुशासन, विनम्र व्यवहार र आफ्नो कार्यप्रति समर्पण भावना देखेरै रेखा प्रभावित भइन् । यतिसम्म प्रभावित भइन् कि अमिताभप्रति उनको भावना प्रेममा बदलियो ।

१९७६ मा जब रेखा अमिताभसँग प्रभावित भइन् तब रेखा २२ वर्ष कि थिइन् र अमिताभ ३४ का । यो उमेरमा अरु कोही भए पनि यसरी नै प्रभावित हुन्थ्यो होला । 

वरिष्ठ पत्रकार एवं चलचित्र समीक्षक प्रदीप सरदानाले बीबीसी हिन्दीमा अभिनेता प्रदीप कुमारको भनाइ राख्दै लेखेका छन्, ‘आखिर हामी मानिस नै हौं । फिल्मको शुटिङका बेलामा यदि नायक नायिका आपसमा मन पराउँछन्, आपसमा इज्जत गर्छन् भने अन्तरंग दृष्यमा दुवै भावुक हुन्छन् । पछि यो प्रेममा पनि बदलिन सक्छ ।’

सायद अमिताभ–रेखामा पनि यही प्रेमकथाको संकेत हुन सक्छ । यसको शुरुआत चाहे रेखाबाटै भएको किन नहोस् अमिताभ पनि आफ्नो युवा अवस्थमा यसबाट बच्न सकेनन् । 

दुवैको करियर शिखरमा जाँदै थियो । पत्रपत्रिकामा पनि खबर आइरहन्थे । अमिताभ र रेखाबीच रोमान्स पनि चल्दै थियो । यिनीहरु शुटिङपछि रेखाकी एक साथीको घरमा एकान्तमा चुपचाप भेट्दै आएका थिए । 

प्रदीप सरदानाले एक दिन अमिताभका बारेमा उनका पिता डा. हरिवंश राय बच्चनसँग सोधेका थिए । तब उनले भनेका थिए, ‘शुरुमा म पनि यस्ता खबरले विचलित भएको थिएँ । तर अब यस्ता खबरमा ध्यान दिन्नँ । अब मैले सम्झिएँ कि केही फिल्म पत्रिकाहरु यस्तै मसालेदार गोसिप बनाएरै चल्छन् । बच्चनले पनि अमिताभको फिल्म ‘दो अनजाने’ राम्रो फिल्म भएको बताउँदै हेर्नका लागि सुझाव दिने गर्थे । 

सन् १९८० मा अमिताभ–रेखाको रोमान्सले बजार तातेको थियो । यसबाट जया बच्चन पनि चिन्तित रहन थालिन् । सरदाना लेख्छन्, ‘सन् १९८१ मा फिल्म ‘सिलसिला’ को शुटिङका दौरान दिल्लीको एक पाँच तारे होटलमा मेरो भेट अमिताभ बच्चन, जया बच्चन र रेखा तीनै जनासँग भयो । मैले जब जयासँग कुराकानी गरेँ तब उनको हाउभाउमा कहीँ कहीँ लागिरहेको थियो कि उनी विचलित छिन्, दुःखी छिन् । मसँग उनले खुलेर कुराकानी गरिन् । उता केही समयपछि जब टिम आउटडोर शुटिङका लागि कुनै फार्म हाउसका लागि जाँदै थियो तब मैले रेखा र जयालाई निकै सहज भावले कुराकानी गर्दै गरेको सुनेँ । रेखाले जयालाई ‘दिदी भाइ’ भनेर सम्बोधन गरेपछि म छक्क परेँ । कसैलाई सोधेपछिमात्र थाहा भयो कि रेखाले शुरुदेखि नै जयालाई ‘दिदी भाइ’ भनेर बोलाउँथिन् ।’

अमिताभ–रेखाको प्रेम सम्बन्धका खबरको तुफानको शिलशिला फिल्म ‘सिलसिला’ को रिलिजपछि कम हुँदै गयो । सन् १९९० मा रेखाले दिल्लीका एक उद्योगपति मुकेश गुप्तासँग बिहे गरिन् । 

बिहेपछि भने मुकेशले फाँसी लगाएर आत्महत्या गरे । रेखालाई विभिन्न आरोप लगाइयो । जब रेखा मुकेशको निधनपछि पनि सिन्दूर लगाएर प्रकट भइन् तब फेरि अमिताभ–रेखाको प्रेम प्रसङ्गले हावा पायो । 

सरदानाले सन् २०१४ मा मुम्बईमा एक भेटका क्रममा अमिताभ बच्चनसँग रेखासँग जोडिएको सम्बन्धबारे सोधेका थिए । सन् १९८१ पछि कुनै पनि फिल्म किन सँगसँगै आएन भनेर सोधेका थिए । तब अमिताभले केही नसोची जवाफ दिएका थिए, ‘कुनै कथा नै बनेन जहाँ हामी दुईलाई लिएर काम गर्ने प्रस्ताव आएको होस् । यदि कहिल्यै कसैले यस्तो कथा लिएर राम्रो प्रस्ताव आयो भने फिल्म अवश्य खेल्नेछौं ।’

अमिताभले रेखासँगको प्रेम सम्बन्धलाई कहिल्यै स्वीकार गरेनन् । जबकि रेखाले विभिन्न मञ्चमा कहिले हँसिमजाकमा, कहिले गम्भीर भएर, कहिले दबेको स्वरमा, कहिले पीडादायी गीत–गजलको माध्यमबाट त कहिले कुनै अन्य तरिकाले आफ्नो सम्बन्धबारे बताइरहेकी हुन्छिन् । 

उनले करिब ४२ वर्षदेखि निरन्तर सिन्दूर र मंगलसूत्र लगाउँदै आएकी छिन् । सन् १९८० मा ऋषि कपूर र नीतू सिंहको बिहेमा पनि उनी सिन्दूर र मंगलसूत्र लगाएर पुगेकी थिइन् । धेरैको अनुमान थियो कि अमिताभ र रेखाबीच गुपचुप बिहे त भएन ? 

सन् १९८४ को फिल्मफेयरको अन्तर्वार्तामा अमिताभले दुवैको अफेयर अस्वीकारेको बारेमा रेखाले भनेकी थिइन्, ‘यस्तो उहाँले आफ्नो छवि, आफ्नो परिवार र सन्तानका लागि बोल्नुभएको छ । मलाई लाग्छ यो सही कुरा हो । तर मलाई यसले फरक पार्दैन । उहाँले मलाई प्रेम गर्नुहुन्छ । मैले उहाँलाई । यदि उहाँले मसँग एक्लै भन्नुभएको भए म निराश हुन्थेँ । मिस्टर बच्चन आज पनि पुरानो जमानाका हुनुहुन्छ । उहाँ कसैलाई दुःख दिन जान्नुहुन्न । फेरि आफ्नी पत्नीलाई दुःखी किन गर्नुहुन्थ्यो र । हामी मानिस हौं । आपसमा चाहन्छौं र जस्तो छ त्यसैलाई स्वीकार गर्छौं ।’

यही प्रश्न सिमी गरेवालले पनि सोधेकी थिइन् , ‘१० फिल्ममा काम गर्ने क्रममा के तपाईको अमिताभसँग प्रेम भयो ?’ तब रेखाले जवाफ दिएकी थिइन्, ‘यो त बचकाना प्रश्न भयो । मैले आजसम्म कुनै मानिस, महिला वा बालक भेटेकी छैन जसले उहाँलाई भेटेपछि प्रेम नगरोस् । फेरि मैले यो कुरालाई कसरी नकारुँ । मैले पनि प्रेम गर्छु ।’

त्यसो त रेखाले एकपटक स्टारडम पत्रिकामा दिएको अन्तर्वार्तामा आफ्नो पीडाको बयान गरेकी थिइन् । भनेकी थिइन्, ‘मलाई केही मानिसले बताएका थिए कि अमितजीले निर्माताहरुसँग मसँग अब कुनै फिल्म नखेल्ने बताउनु भएको थियो रे । तर मलाई उहाँले एक शब्द पनि केही भन्नु भएन । जब मैले यसबारेमा उहाँसँग सोधेँ तब उहाँले म केही बोल्दिन । मसँग नसोध भन्नुभएको थियो । यस कुराले म दुःखी भएँ । त्यतिबेला मैले ‘खूबसूरत’ चलचित्रको शुटिङ गरिरहेकी थिएँ ।’

उनले अगाडि भनेकी थिइन्, ‘तपाईहरुले ख्याल गर्नुभयो होला फिल्मको आखिरी भागमा मेरो हातमा दुई अंगुठी थिएनन् । त्यो उहाँले दिनुभएको थियो । जसलाई मैले कहिल्यै झिकिन । सुत्ने बेलामा पनि निकालिन । तर जब हामी अलग भयौं तब मैले त्यो अंगुठी फिर्ता दिएकी थिएँ ।’

यति धेरै कुरा सामुन्ने आइसकेपछि अब भन्न के नै बाँकी रह्यो र । रेखाले विभिन्न फिल्म समारोहमा जया बच्चनसँग भेट गर्छिन् । अभिषेक–ऐश्वर्यासँग पनि कुराकानी गर्छिन् । तर जब रेखा अमिताभको नजिक पुग्न खोज्छिन् त्यसअघि नै अमिताभ केही बहानामा यताउता गरिसक्छन् । 

४२ वर्षको अवधिमा रेखा एक पटकमात्र अमिताभको नजिक पुग्न सकेकी थिइन् । सन् २०१५ को १० मे मा शशि कपूरको फाल्के सम्मानका क्रममा रेखा अमिताभको नजिक पुगेकी थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ