arrow

च्याम्पियन्स लिगबाट बार्सा बाहिरियो, यस्तो छ टिमहरुको अवस्था 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १० बिहिबार
barsa-bayeran-champions-league.jpg

काठमाडौं । बार्सिलोना च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । बार्सा समूह चरणबाटै बाहिरिएको हो । समूह चरण अन्तर्गत बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि बार्सिलोना बाहिरिएको हो ।

बार्सालाई बायर्नले घरेलु मैदानमै स्तब्ध पारेको हो । खेलको १० मिनेटमै साडियो मानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

३१ औं मिनेटमा चुपो मोटिङले तथा इन्जुरी समयमा बेन्जामिन पाभर्डले गोल गर्दै बायर्नलाई ३–० ले जिताए । यस जितसँगै बायर्नले ५ खेलमा १५ अंक जोडेको छ ।

बायर्न समूह ‘सी’ को शीर्ष स्थानमा रहेको छ । बायर्न यसअघि नै नकआउट चरणमा पुगिसकेको थियो । 

त्यस्तै यो समूहबाट इन्टर मिलानले पनि नकआउट चरणमा स्थान बनाएको छ । इन्टरले बुधबार रातिको खेलमा भिक्टोरिया प्लेजेनलाई ४–० ले हरायो । 

यो जितपछि इन्टरको ५ खेलबाट १० अंक भएको छ । बाहिरिएको बार्सिलोनाको ५ खेलबाट मात्र ४ अंक छ । त्यस्तै पुछारको प्लेजेन अंकविहीन छ । 

समूह ‘ए’ 
समूह ‘ए’ बाट नापोली र लिभरपुल नकआउट चरणमा पुगेका छन् । आयाक्स र रेन्जर्स बाहिरिएका छन् । 

बुधबार रातिको खेलमा आयाक्स लिभरपुलसँग ३–० ले पराजित भयो । त्यस्तै नापोलीले रेन्जर्सलाई ३–० ले नै हरायो । 

पाँचौं चरणको समाप्तिसम्म नापोलीको १५, लिभरपुलको १२, आयाक्सको ३ तथा रेन्जर्स अंकविहीन छ । 

समूह ‘बी’
समूह बीबाट नकआउटमा पुग्ने दुवै टिमको टुङ्गो लागेको छ । बुधबार रातिको खेलमा एफसी पोर्टोले क्लब ब्रागलाई ४–० ले हराएसँगै यो समूहबाट नकआउटमा पुग्ने टिमको टुंगो लागेको हो । पाँचौं चरणको समाप्तिसम्म ब्रागको १० तथा पोर्टोको ९ अंक छ । 

बुधबार रातिको खेलमा २–२ गोलको बराबरी खेलेका एथलेटिको मड्रिड र बायर लिभरकुजेन भने बाहिरिएका छन् । एथलेटिकोको ५ तथा लिभरकुजेनको ४ अंक छ । 

समूह ‘डी’
समूह डी अहिलेसम्म सबैभन्दा रोमाञ्चक समूह बनेको छ । पाँचौं चरणका खेल सकिँदा कुनै पनि टिम नकआउटमा पुगेको छैन । र कुनै पनि टिम बाहिरिएको छैन । 

बुधबार रातिको खेलमा इन्ट्रयाच्ट फ्रयांकफर्टले मार्सेलाई २–१ ले हरायो भने टोटनह्याम हट्सपर र स्पोर्टिङ सीपीले १–१ को बराबरी खेले । 

अहिलेसम्म टोटनह्यामको ८, स्पोर्टिङ र फ्रयांकफर्टको ७–७ तथा मार्सेको ६ अंक छ । 

नोभेम्बर २ को खेलबाटै नकआउटमा पुग्ने टिमको छिनोफानो हुनेछ । अन्तिम चरणको खेलमा मार्से र टोटनह्याम तथा स्पोर्टिङ र फ्रयांकफर्ट खेल्नेछन् । 

समूह ‘ई’
समूह ई बाट चेल्सी नकआउटमा पुगेको छ । एसी मिलान र एफसी साल्जबर्गमध्ये एक टिम नकआउटमा पुग्नेछ । डाइनामो जाग्रेब बाहिरिएको छ । 

मंगलबार रातिको खेलमा चेल्सीले साल्जबर्गलाई २–१ ले हरायो भने मिलानले डाइनामोलाई ४–० ले हरायो । 

पाँचौं चरणको समाप्तिसम्म चेल्सीको १०, मिलानको ७, साल्जबर्गको ६ तथा जाग्रेबको ४ अंक छ । 
 
समूह ‘एफ’
समूह एफबाट रियाल मड्रिड नकआउट चरणमा पुगेको छ भने आरबी लेप्जिग र शख्तर दोनेस्कमध्ये एक टिम नकआउटमा पुग्नेछ । सेल्टिक भने बाहिरिएको छ । 

मंगलबार रातिको खेलमा रियालले लेप्जिगसँग ३–२ को हार बेहोर्यो । सेल्टिक र शख्तरले १–१ को बराबरी खेले । 

पाँचौं चरणको समाप्तिसम्म रियालको १०, लेप्जिगको ९, शख्तरको ६ तथा सेल्टिकको २ अंक छ । 

समूह ‘जी’
समूह जीबाट म्यानचेस्टर सिटी नकआउट चरणमा पुगेको छ भने अर्को एक टिमको छिनोफानो हुन बाँकी छ । 

मंगलबार रातिको खेलमा सिटीले बोरुसिया डर्टमन्टसँग गोलरहित बराबरी खेल्यो । सेभियाले एफसी कोपनहेगनलाई ३–० ले हरायो । 

पाँचौं चरणको समाप्तिसम्म ११ अंकबाट सिटी शीर्ष स्थानमा रहँदै नकआउटमा पुगेको छ । बोरुसियाको ८ अंक छ । 

सेभियाको ५ अंक छ । पुछारमा रहेर बाहिरिएको कोपनहेगनको २ अंक छ । 

समूह ‘एच’
पेरिस सेन्ट जर्मेन (पीएसजी) र बेनेफिका नकआउट चरणमा पुगेका छन् । समान ५ खेलबाट ११ अंकका दुवै टिमले मंगलबार रातिको खेलमा जित निकाल्दै नकआउटमा स्थान सुरक्षित गरे । 

मंगलबार रातिको खेलमा पीएसजीले माकाबी हाइफालाई ७–२ ले हरायो । बेनेफिकाले युभेन्टसलाई ४–३ ले हरायो । यो हारपछि समान ३–३ अंकका हाइफा र युभेन्टस बाहिरिएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ