arrow

राष्ट्रियता र संविधान जोगाउन गठबन्धन बनेको हो – दीपक गिरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १२ शनिबार
dipak-giri-2079-07-12.jpg

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीले अहिलेको गठबन्धन राष्ट्रियता र संविधान जोगाउनका लागि भएको बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य तथा गठबन्धनका साझा उम्मेदवार गिरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा शनिबार दिउँसो स्थानीयलाई सम्बोधन गर्दै केपी ओली नेतृत्वको सरकारले लामो संघर्षपछि उपलब्ध संविधान र राष्ट्रियतामाथि नै धावा बोल्न थालेपछि राष्ट्रियता र संविधानको रक्षाको लागि गठबन्धन आवश्यक परेको बताएका थिए । 

लोकतान्त्रिक संविधानले अभिब्यक्ति स्वतन्त्रता, महिला, दलित, जनजाती तथा पछाडि पारिएको समुदाय सबैको हक अधिकार सुनिश्चित गरेको हुँदा नेकपा एमाले र त्यससंग तालमेल गरेका राजनीतिक दलहरुले त्यो संविधानमाथि धावा बोलेको हुँदा त्यसको रक्षाको लागि परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिनु परेको उम्मेदवार गिरीले दाबी गरे ।

‘अतिवाद र प्रतिगमनकारीलाई परास्त गर्नका लागि हाम्रो यो गठबन्धन बनेको हो,’ उनले भने, ‘परिवर्तनकारी शक्तिहरुको विजयले मात्रै प्रतिगमनकारी र अतिवादीको हार हुनेछ ।’ 

उनले निर्वाचन पछि फेरि गठबन्धन दलहरुको सरकार बन्ने भन्दै गठबन्धनका सबै साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गरे । ‘दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा मलाई मात्रै हैन,’ उनले भने ‘३ (क) मा कांग्रेसकै डिल्लीबहादुर चौधरी र ३ (ख) मा माओवादीका धनबहादुर मास्की (राजेश) लाई पनि अत्यधिक मतले विजयी गराउनु हुन मेरो अनुरोध छ ।’

उपमहानगरपालिका भएपनि खुमखानीका बासीहरु सडक सञ्जाल लगायत नगरको सामान्य सेवासुबिधाबाटसमेत बञ्चित हुँदै आएको भन्दै गठबन्धनको पक्षमा मतदान गरी विजयी बनाए भविष्यमा जिल्लाको विकास निर्माणमा भूमिका खेल्ने गिरीले बाचा गरे । 

आफू र गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराए खुमखानी हुँदै सल्यान जोड्ने बाटो निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने उनले प्रतिबद्धता जाहेर गरेका थिए ।

उनले विगतमा आफूले पश्चिम दाङमा शिक्षाको ज्योति फैलाउन राप्ती बबई क्याम्पस स्थापना गरेको, नौ महिने मन्त्री हुँदा पश्चिम दाङ र समग्र दाङ उपत्यकामा ५३ हजार हेक्टर जमिनमा सिंचाई सुबिधा पुर्याउने उद्धश्यले बृहत सिंचाई कार्यालयको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा स्थापना गरेको भए पनि एमालेको नेतृत्व आएपछि त्यसलाई छायाँमा पार्ने काम भएको भन्दै असन्तुष्टि पोखे ।

आफू सिंचाई मन्त्री हुँदा स्थापना गरेको बृहत सिंचाईका कारण जिल्लाका बिभिन्न स्थानमा सिंचाई सुबिधा नभएको ठाउँहरुमा जलाशय, तटबन्ध निर्माण लगायतका काम भइरहेको उनले बताए ।

बबई नदी, पातुखोला, ग्वार खोलालगायत जिल्लाका विभिन्न नदी खोलाहरुले गर्ने कटान नियन्त्रणका लागि तटबन्ध निर्माण, पुल निर्माण लगायतका कामहरु गरेर जिल्लाबासीको मर्म अनुसार काम गरेको भन्दै भविष्यमा थप योजनाका साथ काम गर्ने उनले बाचा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ