arrow

माओवादी केन्द्रले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौं ।  सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नेलगायतका विषय समावेश गरिएको प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने  भएको छ ।
 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरिएको प्रतिबद्धता तयारी कार्यदलका सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
 
संविधानसभाबाट जारी भएको नेपालको संविधानले केही मौलिक व्यवस्था राखेको भएपनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले दुई पटक प्रतिनिधिसभा विघटन गरेको सन्दर्भ उल्लेख गर्दै माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ समावेश गरेको उनले बताए ।
 
माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै आएको भएपनि संविधान निर्माणको क्रममा सहमति खोज्नका लागि उसले संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री प्रणाली नै उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।
 
विसं २०७४ को निर्वाचनमा राजनीतिक स्थिरताका लागि भन्दै वाम गठबन्धन गरेर झण्डै दुई तिहाइ जनमत प्राप्त गरे पनि दुई दुई पटक प्रतिनिधिसभा विघटन भएकाले शासकीय प्रणालीमा सुधार जरुरी रहेको माओवादीले स्पष्ट पारेको छ । विद्यमान समानुपातिक निर्वाचन प्रणालीमा पनि केही सुधार गरेर किसान तथा मजदुरको प्रतिनिधित्व गराउने लक्ष्यसहितको घोषणापत्र तयार भएको प्रतिबद्धता मस्यौदा समितिका सदस्य तिमिल्सिनाको भनाइ छ ।
  
घोषणापत्रमा राजनीति र आर्थिक आवश्यकता हासिल गर्न लिइनुपर्ने नीतिगत व्यवस्था तथा विश्वव्यापी मुद्दालाई सम्बोधन गर्न चाल्नुपर्ने कदमका बारेमा उल्लेख गरिएको छ । संविधान, गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीतालगायत जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिमाथि आक्रमण भइरहेको अवस्थामा घोषणापत्रले सङ्घीयता कार्यान्वयन र संविधानको अक्षरशः पालनालाई जोड दिएको प्रतिबद्धता तयारी कार्यदलका अर्का सदस्य गणेश साहले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ