arrow

देउवाका समकक्षी सुनीलले गरे बलायरलाई सघाउने प्रतिबद्धता

logo
सुनील आउजी, 
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
sunil-bhandari-kailali-congress.jpg

धनगढी । टिकट नपाएपछि असन्तुष्ट बनेका नेपाली कांग्रेस कैलालीका नेता सुनील भण्डारीले पार्टीका उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाएका छन् ।

भण्डारीले बुधबार धनगढीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै पार्टीबाट अलग नभइ पार्टीकै पक्षमा लाग्ने बताएका हुन् । उनले टिकट नदिएकोमा चित्त दुखेको भए पनि पार्टीबाट अलग नहुने प्रतिबद्धता जनाए ।

नेपाली कांग्रेस पार्टीबाटै अलग हुने चर्चा भइरहेका बेला उनले त्यो निर्णय नलिने जनाएका हुन् ।  ‘पञ्चायतका विरुद्ध र जनताको अधिकारका लागि लडेको मान्छे हुँ । आफैंले विश्लेषण गर्दा म पार्टीभन्दा बाहिर बस्न सक्ने अवस्थामा देखिनँ’, भण्डारीले भने, ‘पार्टीले संसदीय चुनावमा कुनै जिम्मेवारीले दिएन, यसमा चित्त दुखाइ छ। तर पार्टीमा नातावाद, हैकमवाद गुटबन्दीविरुद्ध मेरो अबको जीवन समर्पण गर्नुपर्छ, गर्छु। पार्टीभित्रको शुद्धीकरणको लागि कार्यकर्ताहरूसँग रहन्छु।’

उनले आसन्न संसदीय चुनावमा पार्टीभित्रको नातावाद, हैकमवाद गुटबन्दीका कारण आफूले टिकट नपाएको दाबी गरेका छन् । अघिल्लो पटक कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका भण्डारी अहिले पनि सोही क्षेत्रबाट आकांक्षी थिए ।

उनी उम्मेदवारका सिफारिस पनि भएका थिए । तर अन्तिम समयमा डोटीबाट निर्वाचन लड्दै आएका कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरलाई टिकट दिएपछि उनी रुष्ट थिए ।

यस्तै उनले आगामी दिनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन आफू लाग्ने बताए। उनले अघिल्लो पटक वाम गठबन्धन हुँदा आफूले पार्टीको साख बचाएको भन्दै अहिले पार्टीले आफूमाथि अन्याय भएको गुनासो गरे ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका समकक्षी रहेका भण्डारीले आफूमाथि पटक–पटक अपमान भएको बताए ।

यसैबीच पार्टीमै रहने भण्डारीको भनाइपछि बलायर थप बलिया भएका छन् । 



नयाँ