arrow

डोटीमा ६.६ रेक्टर स्केलको भूकम्प, छ जनाको मृत्यु, पाँच घाइते

logo
गणेश मौनी/भूमिराज पिठातोली,
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
earthquake2.jpg

डोटी ।  डोटी केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको हो । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनाैं घर भत्किएका छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।  

मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका-३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए ।

भुकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ । 

भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँ ठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिए । त्यसअघि पनि राति ९:७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो । 

यता बझाङमा पनि भूकम्पको धक्कापछि त्यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका थिए । पछिल्लो भूकम्पमा गहिरो निद्रामा रहेका बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयले बताए । खप्तडछान्ना- ५ की लक्ष्मीदेवी जोशीले गाउँभरिका मानिस आगो बालेर बाहिर बसेका बताइन् । 

उनका अनुसार पुराना घरहरू भत्किएका छन् भन्ने खबर छ । राति हुनाले केही जानकारी आउन सकेको छैन । जिल्ला सदरमुकाम चैनपुर बझाङमा पनि कयौँ मानिस सुदूरपश्चिमाञ्चल बोडिङ स्कुलको चौरमा भेला भएका थिए । पछिल्लो केही समय यता सुदूरपश्चिममा पटक पटक भूकम्पको धक्का महसुस भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ