arrow

यूएईसँग नेपालको कमजोर प्रदर्शन, घरेलु मैदानमा ८४ रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
nepal-uae-cricket-2022-11-14.jpg

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतियोगितामा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको हो । 

यूएईले दिएको दुई सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपाल ५० ओभरमा ९ विकेट गुमाएर एक सय ७९ रनमा समेटियो । खेलमा अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । ऐरीले सर्वाधिक ५४ रनको योगदान दिए । एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका साउदले ५१ रन जोडे । 

नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशङ्कर साहले ८ रन बनाए । कुशल भुर्तेल ६, सोमपाल कामी ३, करण केसी ३ तथा ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । गुलशन झा १९ रनमा अविजित रहे भने ललित राजवंशीले अविजित ६ रन बनाए ।

यूएईका आयन अफ्जल खानले ४ विकेट लिए भने बसिल हामिदले २ तथा जाहोर खान, रोहन मुस्तफा र अहमेद राजाले समान १र१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो । युएइका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रन जोडेका थिए भने मुहमद वासिमले ४४ रन जोडे । यसैगरी वृत्य अरभिन्दले ४० रन बनाए भने एलिशन शाराफुले २९ तथा अहमेद राजाले अविजित २७ रन बनाए । आयन हफ्जल खानले २६ रन जोड्दा बसिल हामिदले १४ रन तथा कप्तान सिपी रिजवान २ रनमा आउट भए ।

नेपालका गुलशन झाले २ विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १र१ विकेट लिए । यस जितसँगै यूएईले तीन खेलको एक दिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । 

यूएई र नेपालबीचको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल यही कात्तिक ३० गते बुधबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ