arrow

महापुरुषलाई छेकेन चुनाव र विश्वकपले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
mahapurush-nepali-movies-haribansha-acharya.jpg

काठमाडौँ। भाइटिकाको भोलिपल्ट रिलिज भएको फिल्म ‘महापुरुष’ चौथो सातामा प्रदर्शन भइरहेको छ। चुनाव र विश्वकप फुटबल प्रतियोगिताले यो फिल्मको व्यापारमा कुनै असर गरेको छैन। फिल्मले पाएको अधिकांश शो हाउस फुल भइरहेका छन्। 

दिवा तथा रात्रि शोमा शतप्रतिशत अकुपेन्सी पाइरहेको फिल्मको शोमा समेत कटौती भएको छैन। दर्शकको छाप यथावत् रहेकै कारण मल्टिप्लेक्समा फिल्मको शो घट्न पाएको छैन।

फिल्म हेर्ने आइपुगेका दर्शक सन्तुष्ट भएको प्रतिक्रिया पाउँदा कलाकारसमेत रहेका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ दङ्ग छ। ‘हामीलाई फिल्मप्रति विश्वास भएर नै बिदापछिको डेट स्वीकारेका हौँ। केहीले बिदा सकिएपछि रिलिज नगर्न सल्लाहसमेत दिएका थिएँ। यद्यपि हेर्ने दर्शकले दिनुभएको वर्ड अफ माउथकै कारण शो बढिरहेका छन् र भरिभराउ छन्,’ बानियाँ भन्छन्, ‘फिल्म हेर्ने परिवार नै आइरहनु भएको हुँदा चौथो सातामा समेत शो भरिभराउ छन्।’

मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा १८ शो पाएको छ। क्युएफएक्सअन्तर्गत दरबार सिनेम्याक्समा एक शो, भक्तपुरमा रहेको क्युएफएक्समा तीन शो, लबिम मलमा तीन शो, सिभिल मलमा तीन शो, ठमेलमा रहेको छायाँ सेन्टरमा एक शो दिएको छ। क्युएफएक्सकै मोफसलअन्तर्गत नेपालगन्जमा एक शो, बुटवलमा एक शो, नारायणघाटमा रहेको जलमामा तीन शो, विराटनगरमा एक शो, बिर्तामोडमा एक शो दिएको छ।

काठमाडौँमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा दुई शो, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा तीन शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा एक शो, गोङ्गबुमा रहेको बिएसआर मुभिजमा दुई शो, कीर्तिपुर सिनेप्लेक्समा एक शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा चार शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा एक शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा चार शो रहेको छ।

बानेश्वरमा रहेको वान सिनेमाजमा दुई शो र कालीमाटीमा तीन शो दिएको छ। आइएनआइ सिनेमाजअन्तर्गत लोत्से मलमा दुई शो र बुटवलमा रहेको आइएनआइमा दुई शो दिएको छ।

चौथो सातामा शो यथावत् रहनुले दर्शकको आकर्षण कम नभएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए। ‘फुर्सद र समय मिलाएर आउने हुँदा बिहानीभन्दा दिवा र रात्रि शो हाउस फुल छन्। हामीले दिन खोजेको सन्देशसँग दर्शक जोडिनु भएको छ। व्यापारसँगै फिल्म हेरेर निस्किँदा दर्शकको मुहारमा पाइने सन्तुष्टि नै हाम्रो सफलता हो’, निर्देशक भट्टराईले भने। फिल्मले अमेरिकामा प्रदर्शनको कीर्तिमान बनाइसकेको छ। फिल्म चौथो सातामा डलासमा समेत हाउस फुल छ। यस्तै, अस्ट्रेलियामा सफलताका साथ प्रदर्शन भइरहेको फिल्म युरोपमा नोभेम्बर र युएईमा डिसेम्बर १ बाट प्रदर्शन हुँदै छ।

‘स्वदेशमा पाएको मायाले विदेशमा उच्च डिमान्ड छ। हामीले बिस्तारै विदेशमा हुने शोबारे जानकारी दिइरहेका छौँ’, निर्माता दीपेश खत्रीले भने। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन्।

फिल्ममा एक्लोपनको कथा देखाइएको छ। आदर्श नगरमा बसोबास गर्ने अवकाशप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपन कथा फिल्ममा देखाइएको छ। भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अस्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ। षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ