- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अनधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाले सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन शुरु गरेको छ ।
बस्तीमा सुकुम्बासीहरुले डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिका विरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका छन् । अहिले पनि त्यस क्षेत्रमा तनाव कायमै छ । स्थानीयले प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।
काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । प्रदर्शनकारीहरुले विकल्प नदिई आफूहरु सो बस्तीबाट नहट्ने अडान गरेका छन् ।
डोजर चलाउने डरले सुकुम्बासीले घरको सामान पनि बाहिर निकालेका छन् । अनधिकृत रुपले नदी किनारमा बनाइएका छाप्रो हटाइछाड्ने महानगरपालिकाले जनाएको छ ।
सो क्रममा सुकुम्बासी बस्ती हटाउन पुगेको एक्स्काभेटर देखेपछि स्थानीइ आक्रामक हुँदा दोहोरो भिडन्त भएको छ । भिडन्तमा महानगर प्रहरी बलका प्रमुखसहित थुप्रै घाइते भएका छन् । पाथलीस्थित बागमती नदी किनारमा सुकुम्बासी बस्तीका स्थानीयसँगको झडपमा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित एक दर्जन बढी घाइते भएका हुन् ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीका एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि स्थानीयले ढुंगामुढा गर्दा पाण्डेसहित एक दर्जनबढी प्रहरी घाइते भएको काठमाडौं महानगर पालिकाले जनाएको छ ।
घाइतेहरूको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । सुकुम्बासी बस्तीका पनि केही घाइते भएका छन् । उनीहरुले घरेलु हतियारसहित सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए ।