arrow

कागजको फोहोर व्यवस्थापनका लागि नबिल बैङ्क र डोको बीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
MOU-doko-nabil-2022-2079.jpg

काठमाडौँ। नबिल बैङ्क र डोको रिसाइक्लर्स बीच बैङ्कमा हुनसक्ने विभिन्न खालका फोहोरहरूको व्यवस्थापन गर्नका लागि सम्झौता भएको छ। यस सम्झौता बमोजिम डोकोले नबिल बैङ्कमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः प्रयोग गर्ने, कुहिने नकुहिने फोहोर छुट्टाउने र अन्य विभिन्न खालका फोहोरको दिगो व्यवस्थापनका लागि सहकार्य गर्ने बैङ्कले जनाएको छ।

उक्त  सम्झौता पत्रमा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना तथा डोको रिसाइक्लर्सका संस्थापक रुनित सरियाले हस्ताक्षर गरेका छन्।

सम्झौताको पहिलो चरणमा डोकोले बैङ्कमा रहेका काम नलाग्ने कागजातको व्यवस्थापनमा कार्य गर्नेछ। बैङ्कमा प्रयोग भई काम नलाग्ने अवस्थामा रहेका कागजको फोहोरलाई टुक्राई पुनः प्रयोग योग्य बनाउने, डिस्पोजलको कार्यलाई वातावरण मैत्री बनाउने र नयाँ कागज बनाउन पुराना कागजलाई कच्चा पदार्थको रूपमा प्रयोग गरी रुख बचाऊ अभियानमा समर्थन जनाउने बैङ्कले जनाएको छ।

त्यसै गरी व्यवहार परिवर्तनको लागि बैङ्कका कर्मचारीहरू तथा ग्राउन्ड स्टाफका लागि तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्न डोकोले सहयोग गर्नेछ। सम्झौतामा डोकोले बैकको हाताभित्रै गएर काम नलाग्ने कागजातहरू श्रेडिङ मेशिनको सहायताले नष्ट गर्ने पनि उल्लेख गरिएको छ।

यस सम्झौताले बैङ्कले लिएको दिगो बैङ्किङको अवधारणालाई टेवा पुग्ने बैङ्कले बताएको छ।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैङ्कले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैङ्किङको सुरुवात गरेको हो।

सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैङ्किङ सेवा बैङ्कले हाल १०० शाखामा विस्तार गरेको छ। नबिल बैङ्क निजी क्षेत्रको अग्रणी बैङ्क हो। यसका देश भरी २३३ शाखाहरू र २६९ एटिएम काउन्टरहरू रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ