arrow

अर्जेन्टिना सेमिफाइनलमा, नेदरल्याण्ड्स पेनाल्टी सुटआउटमा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
qatar-worldcup-argentina-netherlands-messi.jpg

काठमाडौं । अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान सम्पन्न दोस्रो क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा २–२ को बराबरी तथा थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ अर्जेन्टिनाले बाजी मार्यो ।

अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे । एन्जो फर्नान्डेज पेनाल्टीमा चुके ।

पेनाल्टीमा नेदरल्याण्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे । भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा चुके ।

त्यसअघि लुसाइल स्टेडियममा भएको खेलमा २ गोलको अग्रता लिएर पनि निर्धारित समयमै जित हासिल गर्न नसकेको अर्जेन्टिनाले लगातार दुई गोल खाएको थियो । 

खेलको ३५ औं मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई शुरुआती अग्रता दिलाएका थिए । पहिलो अन्तराष्ट्रिय गोल गरेका मोलिनाले मेस्सीको पासमा गोल गरेका थिए । 

७३ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । मेस्सीको यो दशौँ विश्वकप गोल हो । यो गोलसँगै मेस्सीले विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा रहेको कीर्तिमानसँग बराबरीसमेत गरेका छन् ।

तर मैदानमा छिरेको पाँच मिनेटमै ८३ औं मिनेटमा वोउट वेघोर्स्टले गोल गर्दै नेदरल्याण्ड्सलाई २–१ को स्थितिमा ल्याए । उनी ७८ औं मिनेटमा मेम्फिस डिपेको स्थानमा मैदानमा छिरेका थिए ।

इन्जुरी समयमा वेघोर्स्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो । 

अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियासँग खेल्नेछ । ब्रजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो । 

आज दुई क्वार्टरफाइनलका खेल हुनेछन् । राति ८ः४५ बजे मोरक्को र पोर्चुगल तथा राति १२ः४५ बजे फ्रान्स र इङ्गल्याण्ड खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ