arrow

बागमती सफाइको साढे सात वर्षमा २० हजार टन फोहोर निकालियो, अवस्था उस्तै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २५ आइतबार
bagmaticleaning.jpg.jpeg
फाइल तस्विर।

काठमाडौं। वाग्मती नदी सफाइको साढे सात वर्षमा करिब २० हजार टन फोहोर निकालिएको छ। हरेक हप्ता बाग्मती सफाइ अभियान चले पनि नदीको अवस्था भने उस्तै देखिएको छ। उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाइको पाँच सय हप्ता नाघेको छ ।

विसं २०७२ जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता प्रत्येक हप्ता शनिवार बिहान दुई घण्टा सफाइ गरिँदै आएको छ । साप्ताहिक रूपमा यसरी सफाइ गर्दा पनि अत्यधिक फोहर निकाल्ने गरिएको सफाइ महाअभियानले जनाएको छ । सफाइ महाअभियान सुरु भएको पाँच सय हप्ता पूरा हुँदा पनि वाग्मती पूर्ण रूपमा सफा हुन सकेको छैन । सर्वसाधारणले वाग्मतीमा यसरी फोहर फाल्ने हो भने जति सफाइ गरे पनि कहिल्यै सफा बन्दैन । फोहर फाल्नेलाई जरिवाना गरिने व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।

महाअभियान सुरु भएको साढे सात वर्षमा करिब १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा वाग्मती नदीको फोहर सङ्कलन गरेका छन् । स्वतःस्फूर्त रूपमा स्वयंसेवी अभियानमा सहभागी हुँदै आएका छन् । सफाइमा संलग्नलाई विभिन्न आरोप लगाउने काम भइरहेको अभियानकर्मी राम साह बताउँछन् ।

सफाइ महाअभियान चलेपछि नदी किनारमा करिब १० हजारभन्दा बढी बिरुवा रोपिएको छ । वृक्षारोपणका कारण नदी किनारमा हरियाली छाएको छ । जागरणमूलक वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर मुलुकभर १०० भन्दा बढी स्थानमा सफाइ अभियान सुरु गरिएको छ । यसबाट नदीको सौन्दर्य बढेको साह बताउँछन् ।

 सफाइ महाअभियानबाट नदी किनारको अतिक्रमित जग्गा फिर्ता गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत वाग्मती नदी किनारको दायाँ बायाँ २७ किलोमिटर ढल निर्माण गरिएको छ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा सुरु भएको वाग्मती सौन्दर्यीकरण कार्यक्रम नदी किनारमा रहेका सुकुम्वासीका कारण प्रभावित भएको छ ।

 अधिकार सम्पन्न वाग्मती समितिको सञ्चालक सदस्यसमेत रहेकी सफाइ अभियानकर्मी डा माला खरेल नदी किनारका सुकुम्वासीको व्यवस्थापन गरेर सुन्दरता बढाउन सूचना सार्वजनिक गरी काम भइरहेको बताउँछिन् । काठमाडौँ महानगरपालिकाको समेत सहयोग लिएर छिटो सुन्दरता बढाउनका लागि नदी किनारका सार्वजनिक जग्गा खाली गर्न लागिएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ