- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं महानगरपालिकाले २८ औँ महानगर दिवसका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरी डबलीमा सांस्कृतिक कार्यक्रम गरेको छ ।
महानगरपालिका-८ अन्तर्गत पर्ने पशुपति मन्दिर परिसरको वत्सलेश्वरी डवलीमा भएको कार्यक्रममा विभिन्न बाजागाजासहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सन्ध्या पुस्तकालय, सिर्जनशील युवा क्लबलगायतका क्लबले बाजासहितको नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा पशुपति क्षेत्रमा प्राचीनकालदेखि विभिन्न चाडपर्वमा प्रदर्शन हुने गरेका सांस्कृतिक झलक देखाइएको थियो ।
सो अवसरमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले विश्वमै सांस्कृतिक सहरका रुपमा परिचित महानगर दिवस सम्पन्न गर्न सबैको साथ सहयोग आवश्यक रहेको बताए ।
सांस्कृतिक कार्यक्रम प्रस्तुत भएका बाजासहित नृत्यको आ-आफ्नै महत्व रहेको उनले बताए । हरेक जात्रा पर्व तथा त्यसलाई प्रस्तुत गर्ने डवलीको संरक्षण सम्बद्र्धनमा काम गरिने प्रतिबद्धता उपप्रमुख डङ्गोलले व्यक्त गरे ।
महानगरपालिका-८ का वडाध्यक्ष आशामान सङ्गतले हरेक जात्रा पर्वको महत्वलाई आत्मसात् गर्दै संरक्षण गर्न आवश्यक रहेको बताए । महानगरपालिका मूर्त, अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा लागेको उनले बताए ।
कार्यक्रममा प्रदेशसभा र महानगरपालिकाका जनप्रतिनिधिको सहभागिता रहेको थियो । सो अवसरमा देव खलका प्रमुखलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो । महानगर दिवस यही मङ्सिर २९ गते मनाइँदै छ । यस अवसरमा महानगरपालिकाले विभिन्न कार्यक्रम गरिरहेको छ ।