सभापति देउवालाई पत्रः तपाई कसका लागि संसदीय दलमा लड्दै हुनुहुन्छ ?
भिम बडुवाल,
प्रकाशित २०७९ मंसिर २६ सोमबार
9k
Shares
श्रद्धेय सभापति श्री शेरबहादुर देउवाज्यू,
भर्खरै हाम्रो पार्टी नेपाली कांग्रेस संसदमा सबैभन्दा ठूलो दलका रुपमा उभिएको छ। यो सफलताको निम्ति तपाईलाई धेरै धेरै धन्यवाद र हार्दिक बधाई छ । तर यो उपलब्धि आफ्नै बलबुँतामा नभएर पाँच दलको बैशाखी टेकेर भएकोले यसमा गर्व गर्नु आत्मरति शिबाय केही हुने छैन ।
अहिले तपाईंको नेतृत्वमा सरकारमा जाने खेलहरु शुरु भएका छन् । त्यो स्वभाविक पनि होला किनभने पार्टीको प्रमुख तपाईं जो हुनुहुन्छ। सरकारमा जानुभन्दा पहिले पार्टी विधानअनुसार संसदीय दलको नेता चयन गर्नुपर्छ त्यो चयनको प्रक्रिया शुरु हुँदैछ ।
खास गरेर संसदीय दलको नेतामा तपाई र युवा पुस्ताको प्रतिनिधि पात्र गगन थापाका बीचमा प्रतिस्पर्धा हुने निश्चित देखिन्छ । यहाँ म तपाईको शुभेच्छुक र कार्यकर्ताको हैसियतमा थोरै सल्लाह दिन उभिएको छु । किनकि मैले पनि तपाईंलाई नै नेता मानेर तीन पटक सभापतिमा मतदान गरेको हुनाले यो सल्लाह दिने अधिकार पनि राख्दछु भन्ने ठानेको छु ।
१, यो पटक तपाई आफ्नो छाती फराकिलो बनाएर युवा पुस्तालाई संसदीय दलको नेता बनाइदिनुस् । किनकि इतिहास साक्षी छ कुनै दिन गिरिजाप्रसाद कोइरालाले आफू जित्ने प्रबल संभावना हुँदाहुँदै तपाईलाई जम्मा जम्मी ४८ वर्षको हुँदा दलको नेता बनाउनु भएको थियो । जबकि त्यतिबेला तपाईको संसदको अनुभव जम्मा जम्मी ३ वर्षको मात्रै थियो।
आज तपाईसँग प्रतिस्पर्धामा उभिएका गगन थापा उमेरमा पनि ४७ वर्ष र संसदमा पनि १५ वर्ष बिताइसकेका छन् । तपाईले आफ्नै अग्रजहरुबाट यत्ति कुरो सिक्नुभयो भने सिङ्गो देशले तपाईप्रति गौरबको अनुभूति गर्नेछ ।
२, तपाई बयोवृद्ध हुनुभएको छ। नेपाल देशले तपाईको ठूलो सेवा गरिसकेको छ। अब यो मुलुकले तपाईबाट प्राप्त गर्न केही बाँकी छैन । तपाईले पनि लोकतन्त्र र देशका निम्ति कुर्बानी गर्नु भएकै हो । त्यो भन्दा बढी देशले तपाईको ऋण तिरिसकेको पनि त साँचो होनि । तपाईको मानसिक र भौतिक अवस्था अब विश्राम गर्ने हो । जुद्द शमशेरले समेत ७० वर्षकै उमेरमा राज्य त्याग गर्नु भएको थियो होइन र ? यो इतिहास पनि स्मरण गर्ने होकि !
३, यो समय प्रतिभाशाली मानिसहरुको हो । जसले दिनमा १७र१८ घन्टा देशका निम्ति खटन सक्छन्, देशको चुनौतीलाई सामना गर्न सक्छन् । यो समय उनीहरुको हो। जुन कुरो तपाईबाट सम्भव छैन ।
४, मलाई लाग्छ आजका दिनमा तपाईलाई भर्याङ् बनाएर आफ्नो दुनो सोझ्याउनेहरुका निम्ति तपाई बाँचिरहनु भएको छ । उनीहरुको भलाइका निम्ति तपाई फेरि संसदीय दलमा लडिरहनु भएको छ । हाम्रो अनुरोध छ यो कदम तपाई, पार्टी र देशकै लागि आत्मघाती हुनेछ ।
५, आज पार्टी निरीह बनेको छ । आत्मबल घटेको छ। भलै ठूलो बनेको छ गणितमा तर स्वाभिमान गिरेको छ । प्रत्येक कार्यकर्तालाइ लागेको छ कि हामीले अप्राकृतिक गठबन्धन गर्यौं भनेर । कार्यकर्ताको अनुहारमा खुशी होइन पराजित भाव देखिन्छ । चुनाव जित्नु मात्र बहादुरी होइन, कार्यकर्ताको मन जित्नु बहादुरी हो । यसमा पार्टी नेतृत्व चुकेको छ ।
६, अन्तमा राजनीति केबल अंकगणितले मात्रै चल्ने कुरो होइन । त्यो त जनमतले चल्छ, जनताको भावनाले चल्छ । आम जनताको मनोविज्ञान आज तपाई होइन नयाँ पुस्ता चाहियो भन्दै छ । यदि यसका निम्ति पनि जनमतसंग्रह हुने हो भने नयाँ पुस्ताका पक्षमा ९० प्रतिशत भन्दा बढी मतदान हुनेछ । त्यसैले गणितको खेल मात्रै होइन समयको पदचाप बुझ्नुहोस् भन्ने आग्रह गर्दछु । धृतराष्ट्रले समयको पदचाप नबुझेकाले महाभारत भएको हो ।
७, २०१५ सालमा वीपी कोइरालाको नेतृत्वमा कांग्रेसको संसदमा दुई तिहाइ आएको हो । त्यो बेला वीपीको उमेर जम्मा ४५ वर्षको थियो । त्यही सरकारले गरेका राम्रा काम भजाएर हामी आजसम्म बाचिरहेका छैनौं र ? यो इतिहास त तपाईलाई थाहै होला किनकि उनै वीपीले तपाईलाई अगाडि बढने मार्ग प्रशस्त गर्नुभएको थियो । आज गगन थापा ४७ वर्षको हुँदा र संसदीय अभ्यासको अत्यन्तै अनुभवी हुँदा पनि तपाईले विरोधी झैँ सोच्नुपर्ने किन ? बरु एक कदम अगाडि सरेर सारा दुनियाँलाइ छक्कै पार्ने गरी गिरिजाबाबुले आफूलाई छोडे झैँ युवा पुस्तालाई जिताइदिनुस् । तपाई कांग्रेसको इतिहासमा कालजयी बन्नुहुनेछ। सदैब स्मरणीय बन्नुहुनेछ।
जय नेपाल ।
भिम बडुवाल
नेपाली कांग्रेस उपसभापति
कैलाली जिल्ला।