arrow

हजारौं नेपालीबाट करोडौं लुटिरहेको 'वान एक्स बेट': मुछिएका प्रमुख भुक्तानी सेवा प्रदायक र दलाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
1x-bet-1xbet-onexbet-beting.jpg

काठमाडौं। गैर कानूनी धन्दा अनलाइन बेटिङ अथवा सट्टेबाजी गर्न प्रयोग हुने रुसी बेटिङ वेबसाइट तथा एप 'वान एक्स बेट' (1xBet)मा देशका प्रमुख अनलाइन भुक्तानी माध्यमकै दुरुपयोग हुने गरेको पाइएको छ ।

अनलाइनका माध्यमबाट वान एक्स बेटमा पैसा हाल्न अथवा लोड गर्न बैंक ट्रान्सफर, कनेक्ट आईपीएस, ईसेवा, खल्ती, आईएमई-पे, पे-वेल, आई-क्यास र माई-पे जस्ता डिजिटल वा अनलाइन भुक्तानी माध्यमको दुरुपयोग हुने गरेको पाइएको हो ।

वान एक्स बेटमा हजारौं व्यक्तिले बेट लगाउँदा बेट मिलेको अवस्थामा दुई चार जनाले केही थप रकम पाएको वान एक्स बेटले आफ्नो साइट वा एपमा देखाउँछ। तर सो रकम सजिलै आफ्नो बैंक वा वालेटमा तान्न सकिँदैन र फेरि त्यो व्यक्ति बेट लगाउन आकर्षित हुन्छ । 

यसरी यस्ता बेटिङ साइटबाट हजारौं जनाबाट करोडौं रकम विदेशिने गरेको छ। यो एपमा कुनै पनि खेल कुन टिमले जित्छ भनेर आफूले चाहे अनुसारको रकमको बेट लगाउन सकिन्छ। बेट मिल्दा केही प्रतिशत थप रकम दिने देखाए पनि त्यो रकम बेट लगाउनेले फिर्ता पाउने सम्भावना एकदम न्यून हुन्छ भने, हजारौं जनाले कयौं रकम गुमाउने गर्छन् ।

बेट मिले पनि यसले अनेकौं रणनीति अपनाएर थोरै बढी पैसा मात्रै जितेको देखाउँछ । खास गरी हजारौं युवाहरु यसको लतमा लागेर हजारौं रुपैयाँ गुमाउने गरेका छन्। विश्वकप फुटबलेको समयमा त यसले झनैं कयौंको पैसा लुटेको छ।

वान एक्स बेटमा दलाल, यसरी हुँदैछ भुक्तानी माध्यमको दुरुपयोग

सट्टेबाजी गर्न वा बेट लगाउन वान एक्स बेटमा पैसा लोड गर्न अथवा पैसा हाल्न त्यहाँ बैंक ट्रान्सफर, कनेक्ट आईपीएस, ई-सेवा (वालेट लेखिएको), खल्ती (गाढा गुलाबी रंगमा डिजिटल वालेट लेखिएको), आईएमई-पे, पे-वेल, आई-क्यास र माई-पे जस्ता अप्सन रहेका छन् ।

हामीले समाचार तयार पार्नका लागि कसरी वान एक्स बेटमा पैंसा लोड हुन्छ त भन्ने बिषय खोज्ने क्रममा वान एक्स बेट एप भित्रको यो कुख्याती फेला परेको हो ।

यी मध्येको कुनै पनि विकल्पमा सम्बन्धित एक दलाल अथवा एजेन्ट बीचमा रहेको छ। जस्तै पैंसा लोड गर्न ई-सेवाको विकल्प छान्दा त्यहाँ भित्र एक दलालको ई-सेवा आईडी र नाम दिइएको हुन्छ। अब, बेट लगाउन चाहेको व्यक्ति ईसेवामा गएर त्यो दलालको नम्बरमा पैंसा हाल्छ। 

त्यसपछि फेरि त्यो व्यक्तिले वान एक्स बेटको एपमा आएर आफ्नो  लोड गरेको रकम, ई-सेवा आईडी, नाम र ट्रान्जिक्सन कोड लेखेर पैंसा लोड गरिमाग्न अनुरोध पठाउनु पर्ने हुन्छ। त्यसपछि दलालले त्यो व्यक्तिको वान एक्स बेटको अकाउन्टमा सो रकम लोड गरिदिन्छ।

पक्राउ पर्नबाट जोगिन दलालले केही मिनेट, घण्टा वा दिनमा आफ्नो नयाँ ई-सेवा आईडी बनाउने गर्छ या हुनसक्छ दलाल नै पनि फेरिने गरेको हुनसक्छ।

यसरी नयाँ नयाँ आईडी बनाउन यस्ता दलालहरुले कयौं सीम खरिद गर्ने र अरुका नागरिकताहरुको दुरुपयोग गर्ने गरेकोसमेत पाइएको छ।

नेपालमा वान एक्स बेटको धन्दा गराइरहेका यी दलालहरुले यहीँ तरिका बैंक ट्रान्सफर, कनेन्टक आईपीएस, खल्तीलगायतका भुक्तानी माध्यममा पनि अपनाएका छन्।

करोडौंको कारोबारी २० वर्षीय एजेन्ट पक्राउ

यसरी वान एक्स बेटबाट सट्टेबाजी लगाउन रकम संकलन एजेन्ट अथवा दलालका रुपमामा सक्रिय २० वर्षीय युवा प्रकाउ गरेका छन् । 

महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर सानेपा बस्दै आएका २० वर्षीय आदर्श ठाकुरलाई पक्राउन गरेर जिल्ला प्रहरी परिशर ललितपुर पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताएका छन् ।

यी २० वर्षीय गैरकानूनी धन्दामा संलग्न आदर्श ठाकुरले वालेटमा संकलन गरेको रकम नबिल, सिद्धार्थ र एनआईसी एसिया बैंकमा रहेको आफ्नो खाता पठाउने गरेको देखिएको छ। 

आठ महिनाको अवधिमा ठाकुरले नबिल बैंकमा ६९ लाख छ हजार ७७० रुपैयाँ, सिद्धार्थ बैंकमा ४५ लाख छ हजार ७७० रुपैयाँ र एनआईसी एसिया बैंकमा ८८ लाख २४ हजार १५५ रुपैयाँ गरी दुई करोड दुई लाख ८४ हजार ४४८ रुपैयाँ बराबरको रकम वालेटबाट ट्रान्सफर गरेको पाइएको प्रहरीले जनाएको छ।

अझ रोचक कुरा भनेको यी युवकले देशविदेश गरी ४८५ ओटा विभिन्न सेवा प्रदायकका डिजिटल वालेट अकाउन्टबाट कारोबार गर्ने गरेका रहेछन् । यी सबै डिजिटल वालेटको कारोबार रोक्का गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै उनले वन एक्स बेटका लागि ९४ ओटा एनसेल तथा स्मार्टसेल कम्पनीको सीम पनि प्रयोग गर्ने गरेको तथ्य खुलेको छ।

थप एजेन्ट र युट्युबरको खोजी

यसरी अवैध धन्दा चलाउनमा संलग्न थप दलालहरुको खोजी भइरहेको र उनीहरुलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले वान एक्स बेटको प्रचारमा संलग्न युट्युबरहरुमाथि पनि अब छानबिन हुने बताएका छन् ।

बेटिङमा संलग्नको सूचना दिन राष्ट्र बैंकको आग्रह

एउटा सट्टेबाजी साइट अथवा एप वान एक्स बेटको एउटै एजेन्टले करोडौं उठाएको देखिएको छ। अन्य कयौं एजेन्टहरुमार्फत यस्तै अन्य बेटिङ साइट र क्रिप्टोकरेन्सीलगायतका अनेक थरी ठगी धन्दामार्फत कयौं रकम बाहिरिइरहेको देखिन्छ।

अर्थतन्त्रमै धक्का लाग्ने किसिमले भइरहेका यस्ता गैरकानूनी कार्यमा संलग्न व्यक्तिको जानकारी पाएमा तुरुन्तै ०१-४४४३८७८ मा फोन गर्न वा मा ईमेल गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ।

यस्तै राष्ट्र बैंकले इजाजत प्राप्त अथवा अनुमति प्राप्त संघ संस्थाहरुलाई बैंक खाता, मोबाइल बैंकिंग र मोबाइल वालेटका माध्यमबाट भुक्तानी गर्न नसकिने व्यवस्था मिलाउन समेत सम्बन्धीत संस्थाहरुलाई आग्रह गरेको छ।

आफै सचेत हुन जरुरी

यसभन्दा बढी वान एक्स बेटको प्रयोग गरिरहेकाहरु आफैँ सचेत हुन जरुरी देखिएको छ। पढेलेखेकै र यसबारे जानकारी युवाहरु नै वान एक्स बेटको जालमा फसिरहेका छन् । अनलाइन बेटिङ गर्न जान्ने युवाहरु नपढेका पक्कै नहोलान्, यसभन्दा बढी इन्टरनेटको माध्यमबाट हुने भयानक ठूला ठगी र साइबर अपराधबारे पनि यी युवाहरु जानकारै हुनुपर्छ।

यति हुँदा हुँदै पनि एक विदेशी अवैध र गैरकानूनी धन्दा, जसको न कुनै कार्यालय छ, न कुनै सम्पर्क व्यक्ति छ, जसमा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ, यस्तो एप अथवा साइटमा गएर बेटिङ गरेर पैसा कमाउने सपना देख्ने यस्ता नेपाली युवाहरुको सोचप्रति आफैलाई लज्जाबोध हुनुपर्ने देखिन्छ।

यस विषयमा सरकारी निकायहरु, भुक्तानीका लागि दुरुपयोग भइरहेका संस्थाहरुमाथि त प्रश्न उठ्छ नै र यसभन्दा बढी यसमा बेटिङ लगाउने युवाहरु आफै पनि सचेत हुन जरुरी छ ।

यसरी हजार, पाँच हजारको बेट लगाउँदा एउटा व्यक्तिले त्यति गुमाएको ठाने पनि हजारौं व्यक्तिले त्यो रकम करोडौं हुन जान्छ। त्यसैले यस्ता गतिविधि रोक्न सरकारी नियकाहरुको बलियो निगरानी र व्यक्ति आफैं पनि होसियार हुन जरुरी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ