arrow

जनता खुशी हुने योग नपरेको यो महिना कसरी होला सरकार गठन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
monthly-horoscope.jpg

मासिक फल :

पुस महिनामा पर्ने दिवस तथा पर्वहरु

पुस १ गते पौषसंक्रान्ति, २ गते आप्रवासन दिवस, ३ गते सफला एकादशी, ८ गते अमावश्य तिथि अर्थात औंशी, ९ गते तोललोसार, १० गते क्रिसमस दिवस, १२ गते मंगलचौथी व्रत, १४ गते जैविक विविधता दिवस, १५ गते १५ पुस तथा तमु ल्होसार, १८ गते पुत्रदा एकादशी, २० गते स्वस्थानी व्रतारम्भ, २१ गते गुरु गोविन्दसिंह जयन्ती, २२ गते पूर्णिमा, माघस्नान, मिलापुन्हि, २५ गते राष्ट्रिय योग दिवस, २७ गते राष्ट्रिय एकता दिवस ।

अन्नाप्राशन मुहूर्तः ११ गते सोमबार ।

पसल खोल्ने मुहूर्तः ३, ६, १०, १७, २४ र २९ गते ।

पुसमा सूर्यको फल मेषः कांतिक्षय, वृषः कष्ट, मिथुनः गमनम, कर्कटः शत्रुनास, सिंहः दैन्यम्, कन्याः माननाश, तुलाः श्रीप्राप्ति, वृश्चिकः भय, धनुः स्थाननाश, मकरः व्यय, कुम्भः लाभ र मीनः कर्मप्राप्ति ।

पुसमा चन्द्रमाको फल मेषः लाभ, वृषः कार्यनाश, मिथुनः कुंक्षिरुक, कर्कटः श्रीप्राप्ति, सिंहः धननाश, कन्याः अन्नलाभ, तुलाः व्यय, वृश्चिकः लाभ, धनुः सुख, मकरः नृपभय, कुम्भः कष्ट र मीनः स्त्री सुख ।

मासिक फलः महिनामा ५ शुक्र र शनिवार तथा सूर्यसंक्रान्ति पनि शुक्रवार परेको छ । पौषकृष्ण–शुक्ल र माघकृष्ण पक्ष यहि महिनामा पर्दछ । शुक्रवासरीय सक्रान्तिले जनसंख्याको वृद्धि गराउला । ५ शुक्रले धान्यवस्तु सुलभ गराउला । ५ शनिले वस्तुमा महंगीको प्रकोप बढ्ला । महिना सामान्य ढङ्गले अघि बढ्ला । सामाजिक कुसंगतिले हतोत्साहित बनाउला ।

रोगव्याध प्रकोप अनियन्त्रणले स्वास्थ्य विज्ञानको क्षेत्रमासमेत चुनौती थपिएला । अनावश्यक खर्च नियन्त्रित बन्न मुस्किलै होला । कृषि जन्यकार्य र पशु–पंक्षीपालन सन्तोषजनक होला । जोश, जाँगरको वृद्धिले मन शान्त पार्ला । स्वास्थ्य विज्ञानको प्रगतिले रोगव्याधका प्रकोप नियन्त्रिणमा आउला । राजनीति जनहितमा अग्रसर रहनाले हर्षोल्लो समय बन्दै जालान नेतागण ।

प्रशासनिक क्षेत्र जनचाहना अनुसारको अनुकूल देखिएला । शैक्षिक जगत सुधारले युक्त रहला । शत्रुहरू निस्तेज बन्लान् । पापीय मनोभावको सुधारले मानसिक शान्ति बढ्ला । धार्मिक गतिविधिले प्रश्रय पाउला । दैवी दुर्घटना लगायतका विपति न्यूनीकृत होलान । व्यापार व्यवसायबाट मुन्नति होला । कृषिजन्यकार्य र पशु–पक्षिपालनबाट प्रगतिमार्ग विस्तार्ला ।

सुती, रेशमी वस्त्र आदिको भाउ तथा सुगन्धित वस्तु, मूल्यवान धातु, कन्दमूल, खाद्यवस्तु आदिको भाउ अकाशिएला । हिमपातले कतै पीडा, मध्यतिर सामान्य झरीको प्रवलता रहे पनि अन्य बेला घमाइलो रहला । दक्षिण भेगतिर अलि अशुभ समय आउने देखिन्छ । यसैगरी हरेक वर्षको पौष एक गतेका दिन सूर्यले राशि परिवर्तन गर्ने गर्दछन् र धनुमा प्रवेश गर्ने नियम छ । फलित ज्योतिषमा धनु राशिलाई देवगुरु बृहस्पति ग्रहको घर मान्ने नियम छ, जुन सूर्यका निमित्त मित्र गृह मानिन्छ ।

सामान्यतया धनु राशिमा उपस्थित सूर्यले शुभ फल प्रदान गर्दछन् भन्ने मान्यतासमेत रहेको पाइन्छ । त्यसैले वैदिक ज्योतिषअनुसार व्यक्तिको मस्तिष्क, निर्णय क्षमता, पिताजी, कार्यक्षेत्रका हाकिम वा सिनियर स्टाफ, नेतृत्व वर्ग आदिको प्रतिनिधित्व गर्ने सूर्यको शक्तिमा मित्रगृही भएकाले बृद्धि हुनेछ र ती क्षेत्रमा शुभ परिणाम प्राप्त हुनेछ ।

यो महिनामा रोगभय, प्राकृतिक प्रकोप र अग्निभयको सम्भावना देखिन्छ । देशविदेशका विभिन्न स्थानहरूमा अपहरण, चोरीडकैती, हत्याहिंसा, मोटरयान, वायुयान दुर्घटनाजस्ता विपत्तिहरू आइलाग्न सक्छन् । आकस्मिक रूपमा मौसममा फेरबदल हुनाले ठाउँठाउँमा वर्षा हुने र चिसो बढ्नाले रोगव्याधिको प्रकोप फैलने डर पनि छ ।

सर्दीजन्य बिमारीहरू रुघामर्की, ज्वरो, खोकी जस्ता बिमारीले मानिसहरू थलिने छन् र जनजीवन कष्टकर बन्नसक्छ । उनी र सूती कपडा, रुवाको मूल्यमा भारी बृद्धि हुनेछ । खाद्यान्न, दैनिक उपभोग्यका सामाग्री र राता चिजबीजको मूल्यमा बृद्धि हुनेछ । सामाजिक र राजनैतिक परिवेशमा एकआपसमा मनमुटाव, कलह र द्वेषको परिस्थिति सिर्जना हुनेछ ।

लडाइँझगडा, दंगाफसाद र झैझमेलाहरू बढ्ने छन् । सामाजिक सद्भाव बिग्रने सम्भावना पनि छ, राजनैतिक उथलपुथलको स्थिति सिर्जना हुनेछ । खाद्यान्नको मूल्यमा बृद्धि भए पनि सागसब्जी र तरकारीको मूल्यमा गिरावट आउने सम्भावना छ । व्यापारिक क्रियाकलाप र शेयर मार्केटमा सुरुमा मन्दी देखिए पनि महिनाको मध्यभागपछि सुधारोन्मुख रहने छ । सरकारले कर र जरिवाना सम्बन्धी नियममा अचानक बृद्धि गर्नाले जनमानसमा खैलाबैला हुनसक्छ ।

महिनाको उत्तरार्द्धमा बुध, बृहस्पति र शनिश्चरको युतिसम्बन्ध बन्ने भएकाले पुँजीवृद्धिका लागि लगानीको नयाँ नीति तर्जुमा हुनसक्छ । ज्ञानविज्ञान, कला, साहित्य र संस्कृतिको विकासका लागि नियमन गरिने छ । त्यस्तै यसै महिनामा मंगल ग्रहले स्वराशिको भ्रमण थाल्ने भएकाले सैन्य पदाधिकारीहरूको बढुवा र सम्मान हुनुका साथै हातहतियार खरिदको योजना बन्नसक्छ ।

तर बृहस्पति र शनिको युतिका कारण धार्मिक क्षेत्र विवादग्रस्त रहने छ । दक्षिणपश्चिमी वायुको प्रकोपले जाडो बढ्ने र झरीवर्षा भइदिनाले जनजीवनमा कष्ट थपिने सम्भावना देखिन्छ । यसरी यो महिना आम जनजीवनको दिनचर्या नकारात्मक रहने देखिन्छ । जनताहरू खुशी र प्रसन्न हुन सक्दैनन् ।

यसै महिनामा आगामी पाँच वर्षका लागि नयाँ सरकार गठन गर्नुपर्नेछ । कसरी गठन होला भन्ने चासो पनि उत्तिकै छ । अन्नको अभावले दुरदराजका क्षेत्रमा भोकमरी फैलने खतरा छ । महिनाको ४, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, २०, २१, २३, २५, २८ र २९ गते वर्षाबादलको योग रहेका दिन हुन् ।

यसरी विभिन्न घटनाक्रमको आरोहअवरोहमा आम जनताको जीवनचर्यामा भने केही असामान्यता देखिए पनि सामान्य नै रहने महिना हो २०७९ सालको पौष महिना ।

मासिक राशिफल :

मेष : यो महिना शुरु हुँदा तपाईंको राशिबाट सूर्य, बुध र चन्द्रमाले नवौं भावमा, राशिस्वामी मंगलले बाह्रौं भावमा, बृहस्पति र शनिश्चरले दशौं भावमा, शुक्र र केतुले आठौं भावमा र राहुले दोस्रो भावमा उपस्थिति जनाएको छ । १५ गते राशिस्वामी मंगल तपाईंको आफ्नै राशिमा आइपुग्नेछन् भने १८ गते बुधले दशम भावमा र १९ गते शुक्रले नवौं भावको यात्रा प्रारम्भ गर्नेछन् । सूर्यदेव, बुध र चन्द्रमा भाग्यभावमा रहेको अवसरमा यस महिनाको प्रारम्भ भएको छ, यसको प्रभावले पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना हो, यो । वाणिमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ ।

व्यवसाय वा पेशामा राम्रो उपलब्धी हासिल हुनेछ । यात्राबाट निश्चित लाभ प्राप्त हुनेछ । सन्तानले उन्नति÷प्रगति गर्नेछन् । यो दृढ इच्छाशक्तिको उदय हुने समय हो । शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुने समय छ । गरेको कर्ममा भाग्यको साथ पाउने समय छ । तपाईंको राशिस्वामी मङ्गल ग्रह हो । यस महिनामा राशिस्वामीले बाह्रौं र पहिलो घरको यात्रा गर्ने समय छ । त्यसैले महिनाको पूर्वार्द्धका तुलनामा उत्तरार्द्धमा शुभफल मिल्नेछ । १५ गतेसम्म प्रतिकूल परिस्थिति र कठिनाइको सामना गर्नु पर्ने हुन्छ, यस अवधिमा स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन्, संयम र सचेत हुनुहोला । त्यसपछि उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय हुनेछ । दोस्रो घरमा बसेको राहुले अपव्यय र व्यर्थ कलहको योग हुन्छ, त्यसैले खर्चबर्चमा सन्तुलन ल्याउने कोसिस गर्नुहोला, विवाद र झैझगडाबाट टाढा रहने प्रयास गर्नुहोला । अष्टम भावको शुक्रका कारण महिनाको पूर्वार्द्धमा जीवनसाथीको स्वास्थ्य वा कार्यक्षेत्रमा नकारात्मक असर पर्नसक्छ । कर्मक्षेत्रमा रहेका शनि र बृहस्पतिको प्रभावले काममा लगनशीलता बढ्ने छ, अनि अष्टम केतुले हरेक कुरामा हडबड र उत्ताउलोपन त्याग्ने सल्लाह दिएको देखिन्छ । सामान्यतया यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गतेको चन्द्रमा तपाईंका लागि अशुभ रहने छन् । ग्रहजन्य अनिष्ट प्रभावको नाश होस् भन्ने उद्देश्यले तपाईंले राशिस्वामी मंगल ग्रहको बीजमन्त्रको दैनिक रूपमा जाप गर्नु वा श्री गणेश वा श्री हनुमान् को उपासना गर्नु मुनासिब हुनेछ ।

वृष : यो महिना शुरु हुँदा तपाईंको राशिबाट सूर्य, बुध र चन्द्रमाले आठौं भावमा, मंगलले एघारौं भावमा, बृहस्पति र शनिश्चरले नवौं भावमा, राशिस्वामी शुक्रका साथमा केतुले सप्तम भावमा र राहुले तपाईंको आफ्नै राशिमा उपस्थिति जनाएको छ । १५ गते मंगल ग्रह बाह्रौं भावमा र १८ गते बुधले नवौं भावमा प्रवेश गर्नेछन् भने राशिस्वामी शुक्रले १९ गते अष्टम भावको यात्रा प्रारम्भ गर्नेछन् । यो महिनाको प्रारम्भ सूर्यलगायत बुधसमेत अष्टम भावमा रहेको समय छ भने महिनाको उत्तरार्द्धमा राशिस्वामी शुक्रले समेत यसै भावको यात्रा गर्नेछ, सामान्यतया आठौं घरलाई संकट र दुर्घटनाको घर मान्ने गरिन्छ । अतः यस महिनाभरि खासगरी २० गते उप्रान्त सवारी हाँक्दा, बाटो काट्दा, आगो र विषालु वस्तुको उपयोग गर्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ ।

याद गर्नुहोला यो महिना हरेक काममा विघ्न र ढिलासुस्ती हुने समय हो, त्यसैले कुनै नगरी नहुने काम छ भने लगन र निष्ठाका साथमा खटेको जाति हुन्छ, त्यस्तै कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुने समय हो । दैनिकी सञ्चालनका क्रममा धन सङ्ग्रहमा कठिनाइ हुनेछ । नयाँ व्यवसाय वा उद्योगधन्दामा लगानी गर्दा राम्रो विचार पुर्याउनु ठिक हुन्छ । घरायसी वातावरण पनि तनावपूर्ण रहनेछ । परिवारका सदस्यहरूसँग मतभेद हुनसक्छ । यस अवधिमा राशिस्वामी शुक्रले १९ गतेसम्म सातौं भावको र त्यसपछि अष्टम भावको यात्रा गर्ने देखिन्छ, त्यसैले तुलनात्मक रूपमा यस महिनाको पूर्वार्द्ध केही हदमा सकारात्मक र त्यसपछि झन् कमजोर समय बन्नेछ । राशिस्वामी शुक्रको बल प्राप्त हुनाले महिनाको १९ गतेभित्र अचानक लाभ प्राप्त हुने सम्भावना छ । अचल सम्पत्ति समेत प्राप्त हुनसक्छ ।

मन धार्मिक क्रियाकलापतर्फ आकर्षित हुनेछ । कुनै नमीठो अनुभव पनि प्राप्त हुन सक्छ । पारिवारिक वातावरण सौहार्दपूर्ण हुनेछ । आकस्मिक भ्रमणबाट सफलता मिल्नेछ । तर त्यसपछि प्रतिकूल फल प्राप्त हुनेछ । शिरमा बसेको राहुको प्रभावले पारिवारिक विवादमा संयमता अपनाउनु राम्रो हुन्छ, किनभने मानसिक अशान्ति र बेचैनीको योग छ, नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । सप्तम भावको केतुका कारण पार्टनर वा व्यापारिक साझेदारसँग मनमुटाव हुनसक्छ तर भाग्यमा बसेका बृहस्पति र शनि तथा लाभ भावमा बसेको मंगल ग्रहले शुभफल प्रदान गर्नेछन् ।

प्रेमी–प्रेमिका वा जीवनसाथीको व्यक्तिगत उन्नतिको खबर सुनेर प्रसन्न हुन सकिन्छ । सामान्यतया यस महिनाको १, ९, १०, ११, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ दिन रहने छन् । यो महिना ग्रहजन्य अशुभताको निवारण होस् र कुनै पनि अनिष्ट फल प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले शिरमा बसेको राहु ग्रहको शान्ति गरिदिनु र उसको प्रशन्नताका लागि हरेक शनिबार दिनदुखीलाई भोजन गराउनु राम्रो हुन्छ ।

मिथुन : यो महिना शुरु हुँदा तपाईंको राशिबाट सूर्य, राशिस्वामी बुध र चन्द्रमाले सप्तम भावमा, मंगलले दशम भावमा, बृहस्पति र शनिश्चरले अष्टम भावमा, शुक्र र केतुले षष्ठ भावमा र राहुले बाह्रौं भावमा उपस्थिति जनाएको छ । १५ गते मंगल ग्रहले राज्यस्थानको यात्रा सुरु गर्नेछ, साथै राशिस्वामी बुधले १८ गतेपछि अष्टम भावको यात्रा गर्ने संकेत छ । त्यस्तै पञ्चमेश शुक्रले १९ गते सप्तम भावको यात्रा प्रारम्भ गर्नेछन् । सातौं घर साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो, यो महिना यसै भावमा तपाईंको राशिस्वामी बुधका साथमा सूर्यले भ्रमण गर्ने परिस्थिति छ । यसको प्रभावले मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ ।

बहुप्रतीक्षित इच्छा र आकांक्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । आय आर्जनका मार्गमा बढोत्तरी हुनेछ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । गीतसङ्गीत एवं अन्य ललितकलाका विषयहरूमा र सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्ने छ । व्यवसाय र व्यापारमा राम्रो प्रगति हुनेछ । गरेको प्रयासका कारण आम्दानीका मार्गमा सहजता आउने छ । पारिवारिक जीवन सुखद हुनेछ । अविवाहितहरूले नयाँ सम्बन्धको प्रोपोजल पाउन सक्नुहुन्छ । तर सप्तम भावमा बसेको सूर्यका केही नकारात्मक फल पनि हुने गर्दछन्, त्यसैले यस अवधिमा तपाईंले जीवनसाथी र कारोबारमा सन्तुलन राखेर समय प्रदान गर्नु आवश्यक छ ।

वैवाहिक जीवनमा देखिएका मतभेद र असन्तुष्टिहरू हटाउने र आपसी सम्बन्धलाई मीठो बनाउने प्रयास गर्नु राम्रो हुन्छ । त्यस्तै कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति बन्नसक्छ, साझेदार, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । सूर्यको पूर्णदृष्टि शिरमा पर्ने भएकाले महिनाको मध्यभागमा ज्वरोजन्य रोगको प्रभाव देखिन सक्छ, अतः व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । यस महिनाको १८ गतेसम्म सातौं र त्यसपछि आठौं भावमा तपाईंको राशिस्वामीको उपस्थिति रहने छ । त्यसैले समग्रमा १८ गतेसम्म राम्रो समय छ, प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ । विद्वान् र विशिष्ट व्यक्तिहरूका साथमा घुलमिल हुने मौका आउने छ । बन्द व्यापारमा बढावा हुनेछ । विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ ।

सुखद् यात्रा हुने सङ्केत पनि छ । तर त्यसपछि चाहिंदा नचाहिंदा काम गर्ने प्रवृत्तिको विकास हुनेछ । भ्रमका पछि कुद्नु राम्रो होइन । अनावश्यक डरले सताउन सक्छ । आफन्तले बारम्बार धोका दिन सक्छन् । हडबडी र शीघ्रताका साथमा गरिएको काममा कुनै लाभ मिल्नेछैन । छैटौं भावमा बसेको शुक्र र केतुको युतिले विद्यार्थीहरू लक्ष्यप्रति असचेत बन्न सक्छन् । किशोरकिशोरीमा झगडालु बानी र चिडचिडेपन बढ्नेछ । आठौं भावको बृहस्पति र शनिले वैदेशिक क्षेत्रमा राम्रो फल प्रदान गर्नेछ, तर कर्मक्षेत्रमा बसेको मंगलले कर्मचारी र कामदारलाई झमेला वा मुद्दामामिलामा फँसाउने डर रहेको छ ।

बाह्रौं राहुले अपव्यय र परदेशको यात्राको योग प्रदान गर्दछ । तपाईंका लागि यस महिनाको २, ३, ४, ११, १२, १३, २१, २२ र २९ गतेको चन्द्रमा अनिष्ट देखिन्छ, साथै यो महिना देखिएका ग्रहजन्य कमजोरी हटाउनका लागि तपाईंले आफ्नो परिवारको परम्पराअनुसार कुल वा पितृको उद्देश्यले कुनै कर्म गर्नु राम्रो हुन्छ अथवा कुनै अनाथालय वा बृद्धाश्रममा गई भोजनादि प्रदान गरेमा पनि शुभफल प्राप्त हुनेछ ।

कर्कट : संक्रान्तिका दिन तपाईंको राशिबाट सूर्य, बुध र राशिस्वामी चन्द्रमाले छैंटौं भावमा, मंगलले भाग्य स्थानमा, बृहस्पति र शनिश्चरले सप्तम भावमा, शुक्र र केतुले पाँचौं घरमा र राहुले एघारौं भावमा उपस्थिति जनाएको छ । १५ गते मंगल ग्रहले कर्मक्षेत्रको भ्रमण थाल्नेछन् । यस्तै बुधले १८ गतेपछि सप्तम भावको र शुक्रले १९ गतेपछि छैंटौं भावको यात्रा गर्ने संकेत छ । १ गतेका दिन राशिस्वामी चन्द्रमाका साथमा सूर्य र बुध ग्रहले छैटौं भाव अर्थात् शत्रु र रोगभावको यात्रा गरको देखिन्छ । यस भावमा सूर्यको गोचर हुनुबाट मनमा उत्साह र उमंग पलाउने समय रहने छ । यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ ।

चन्द्रमा र बुधले भने रोग र चिन्ता बृद्धि गर्नेछन् । समग्रतामा २०७९ सालको पुस महिना कार्यक्षेत्र वा बन्दव्यापारको क्षेत्रमा कडा परिश्रम गर्ने समय हो । यस अवधिमा तपाईंले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउने, ऋण काढ्ने आदि सम्भावना देखिन्छ । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महतवपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, जसबाट लाभान्वित बन्नुहुनेछ । व्यवसायिक क्षेत्र र व्यापारको विस्तार हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन्, कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् ।

तर छैटौं भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ । जीवनसाथीको स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनु आवश्यक छ । त्यस्तै सूर्यले बाह्रौं भावमा पूर्णदृष्टि राख्ने हुँदा यो खर्च बढ्ने समय पनि हो । पाँचौं भावमा बसेका शुक्र र केतुको प्रभावले छात्रछात्रामा खेलवाडमा रुचि बढ्ने तथा अकर्मण्यता बढ्ने समय छ । किशोर र युवा वयका व्यक्तिहरू प्रेम र भावनामा आघात पुग्नाले चिन्तित बन्नसक्छन् । सातौं भावमा रहेका बृहस्पति र शनिश्चरको प्रभावले दाम्पत्य जीवन सुख र आनन्दले युक्त हुनेछ ।

जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् । भाग्य भाव र कर्मक्षेत्रमा रहने मंगलको प्रभाव पनि सकारात्मक रहने छ, कर्मचारी र कामदारले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय हो । एघारौं भावको राहुले पनि शुभफल नै प्रदान गर्नेछ । सामान्यतया यस महिनाको ४, ५, ६, १४, १५, १६, २३ र २४ गतेका दिन तपाईंको राशिस्वामी चन्द्रमाले अशुभ गृहको यात्रा गर्ने दिन हो । यो महिना ग्रहजन्य अनिष्ट नहोस् भन्ने उद्देश्यले तपाईंले शिवोपासना गर्नु वा नागदेवताको पूजाआजा गरेको राम्रो हुन्छ ।

सिंह : संक्रान्तिका दिन तपाईंको राशिबाट राशिस्वामी सूर्यका साथमा बुध र चन्द्रमाले पञ्चम भावमा, मंगलले अष्टम भावमा, बृहस्पति र शनिश्चरले छैंटौं घरमा, शुक्र र केतुले चतुर्थ भावमा र राहुले दशम भावमा उपस्थिति जनाएको देखिन्छ । १५ गते मंगल ग्रहले भाग्यस्थानको, १८ गते बुधले शत्रु भावको र १९ गते शुक्रले पञ्चम भावको यात्रा प्रारम्भ गर्नेछन् । सन्तान, बुद्धि, विवेक, हृदय संवेद्यता बताउने पाँचौंभावमा राशिस्वामी सूर्यका साथमा बुध ग्रहको समेत भ्रमण हुने महिना प्रारम्भ भएको छ ।

अब तपाईंको कार्यक्षेत्र र बन्दव्यापारको समुन्नति र प्रसिद्धि हुने समय आएको छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । विपरीत लिङ्गीप्रति आकर्षित भइने छ । आकस्मिक रूपमा हितकारी घटना घट्न सक्छ । सामाजिक प्रतिष्ठा र सुखसम्मृद्धि पनि बढ्ने छ । पारिवारिक जीवन अति सुखद रहने छ । बहुप्रतीक्षित अभिलाषा पूरा हुनेछ । सृजनात्मक क्षमताको प्रस्फुटन हुनाले कला, साहित्य, सङ्गीत आदि क्षेत्रमा प्रशंसा प्राप्त हुनसक्छ । सामाजिक क्षेत्रमा सुमधुर सम्बन्ध कायम हुनेछ । पुराना साथीभाइ र सहयोगीहरूसँग भेटघाट हुनेछ । सञ्चारको माध्यमबाट कुनै राम्रो खबर प्राप्त हुन सक्छ ।

यो महिना तपाईंले नियमित आहारविहारको अनुशासन पालना गरेको राम्रो हो, अन्यथा पेट र पाचन प्रणालीका रोगव्याधिले कष्ट दिनेछ । गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम र प्रणयप्रसंगका लागि यो त्यत्ति राम्रो समय देखिंदैन । बरु ध्यान, कसरत, योग र अध्यात्मका क्षेत्रमा शान्तिको अनुभूति हुने समय हो । प्रेम जीवनमा उतारचढाव आउनेछ, प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्न सक्छ । चौथो भावमा बसेका केतु र शुक्रको प्रभावले घरायसी खर्चमा सन्तुलनमा ल्याउन निकै प्रयास गर्ने समय छ । कुनै कार्यविशेषले ऋणभारसमेत बढ्न सक्छ ।

छैटौं भावको बृहस्पति र शनिश्चरको प्रभावले मुद्दामामिलामा विजय प्राप्त हुनेछ । पाचनतन्त्री र गुदासम्बन्धी रोगले दुःख दिन सक्छ, तर पनि यो महिना आमरूपमा स्वस्थ रहने समय हो । यस महिनाको १५ गतेसम्म अष्टम भावमा मंगल ग्रहको उपस्थिति रहने छ, त्यसैले यस अवधिमा ड्राइभिङ गर्दा, हातहतियारको प्रयोग गर्दा, आगो वा विषालु वस्तुको संसर्गमा रहँदा सतर्कता अपनाएको नै जाति हुन्छ । कर्मक्षेत्रको राहुले वैदेशिक प्रयोजनका कामबाट फाइदा लिने समय हो । चन्द्रगोचरको विश्लेषण गर्दा यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् । ग्रहजन्य कुनै पनि दुष्ट प्रभावको आफ्नो शरीरमा कुनै पनि असर नपरोस् भन्ने उद्देश्यले तपाईंले यो महिना राशिस्वामी सूर्यको उपासना गर्नु वाञ्छनीय हुनेछ, त्यस्तै हरेक दिन सूर्योदय र सूर्यास्तको समयमा ओछ्यानमा ढल्किनु, पल्टिनु वा निदाउनु पनि हानिकारक बन्नसक्छ भन्ने कुराको ख्याल राख्नुपर्छ ।

कन्या : संक्रान्तिका दिन तपाईंको राशिबाट राशिस्वामी बुधका साथमा सूर्य र चन्द्रमाले चतुर्थ भावमा, मंगलले सातौं भावमा, बृहस्पति र शनिश्चरले पाँचौं घरमा, शुक्र र केतुले तृतीय भावमा र राहुले भाग्यस्थानमा उपस्थिति जनाएको महिना हो पुस महिना । १५ गते मंगल ग्रहले अष्टम भावको, १८ गते राशि स्वामी बुधले पञ्चम भावको र १९ गते शुक्रले चतुर्थ भावको भावको यात्रा प्रारम्भ गर्नेछन् । तपाईंको राशिबाट चौथो घर अर्थात् मातृसुख, वाहनसुख प्रदान गर्ने भावमा राशिस्वामी बुधका साथमा सूर्यको गोचर प्रारम्भ भएको छ । आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । कार्यशैलीमा गम्भीरता आउने छ ।

सुखसुविधा भोग गर्न पाइने छ र मन प्रशन्न रहने छ । कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ मिल्नेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । मातापितासित सुमधुर सम्बन्ध रहने छ । विलासिताका सामग्रीमा खर्च बढ्ने छ । सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । घरपरिवारमा कुनै शुभ संस्कार सम्पन्न हुने सङ्केत पनि छ । सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा बसेको कु्रर ग्रहको मानसिक उलझन बल्झाउने परिणाम प्राप्त हुने गर्दछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन्छ, खासगरी पिता वा कार्यक्षेत्रका सिनियर्ससित मनमुटाव र तिक्तता बढाउने समय हो ।

हृदय र पेटसम्बन्धी स्वास्थ्य समस्या आइलाग्ने समय पनि हो । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि सामान्य रहने छ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । घरको रंगरोगन, सरसफाइ र सजावटका लागि धन खर्च हुनसक्छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय हो, त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुःख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । यस महिनाको १८ गतेसम्म तपाईंको राशिस्वामि बुध ग्रहले चतुर्थ भावको र त्यसपछि पञ्चम भावको यात्रा गर्नेछ, यसको प्रभावले अहिले घरको सुख र आनन्दप्रति झुकाव बढ्ने समय हो । मन भावुक बन्ने समय हो । यदाकदा बाल्यावस्था वा अतीतका गतिविधिमा भुलिन सक्नुहुन्छ । यस अवधिमा घरभित्रको साजसज्जामा आकर्षित बन्न सक्नुहुन्छ ।

पुराना कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने समय पनि हो । तेस्रो भावमा बसेका शुक्र र केतुको प्रभावले सामाजिक हैसियत र प्रतिष्ठामा अभिबृद्धि हुनेछ । पाँचौं भावमा पञ्चमेश शनिश्चरका साथमा बृहस्पति रहेकाले छात्रछात्राका लागि यो महिना अत्यन्त ऊर्जावान् र फलदायी प्रमाणित हुनेछ । गृहस्थीहरूले सन्तानप्रति आशावादी बन्ने समय हो । सप्तम भावमा महिनाको पूर्वार्द्धमा मंगल ग्रहको उपस्थिति रहने भएकाले पतिपत्नीका बीचमा नोकझोक र बाझाबाझको परिस्थिति खडा हुनसक्छ, त्यसैले आफूलाई संयम राख्ने प्रयास गर्नुहोला । यस्तै, हिजोआज भाग्यभावमा बसेका राहु ग्रहले तपाईंलाई शुभफल नै प्रदान गर्नेछन् । सामान्यतया यस महिनाको १, ९, १०, ११, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् । ग्रहको कुनै किसिमको अनिष्टता नहोस् भन्ने उद्देश्यले तपाईंले दैनिक रूपमा दुर्गा कवचको पाठ गर्ने वा हरेक बुधवार वा शनिवारको दिन पारेर मातृशक्तिको कुनै मन्दिरमा गएर दर्शन गर्ने र श्रृंगारका सामाग्री दान गरेको जाति हुन्छ ।

तुला : यस महिनाको एक गतेका दिन तपाईंको राशिबाट सूर्य, बुध र चन्द्रमाले तृतीय भावमा, मंगलले छैंटौं भावमा, बृहस्पति र शनिश्चरले चतुर्थ भावमा, शुक्र र केतुले दोस्रो घरमा र राहुले अष्टम भावमा उपस्थिति जनाएको देखिन्छ । यस क्रममा १५ गते मंगल ग्रहले सातौं भावको, १८ गते बुधले चतुर्थ भावको र १९ गते राशिस्वामी शुक्रले तृतीय भावको यात्रा प्रारम्भ गर्नेछन् ।

तेस्रो घर अर्थात् पराक्रम स्थानमा भगवान् सूर्यनारायणको आगमन भएको छ । यस गोचरको प्रभावले तपाईंमा आत्मबल, सामर्थ्य र हिम्मतको सञ्चरण हुनेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोग लिन÷दिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ ।

कार्यक्षेत्रमा उन्नतिप्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । मित्रशक्तिबाट सहयोग, समर्थन र राम्रो लाभ पाउनु हुनेछ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि उन्नतिको समाचार सुन्न्न पाइने छ । जीवनसाथीसँगको सम्बन्ध सामान्य नै रहने छ । प्रेमभावना निरस हुने वेला हो, त्यसैले पार्टनरको भावना र इच्छा बुझ्ने प्रयास गर्नु ठीक हुन्छ । तर भाइबहिनीसँग मनमुटाव हुनसक्ने समय हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । परकाले सहयोग गर्ने तर आफन्तले पछाडि बसेर आलोचना गर्ने परिस्थिति हुनसक्छ । त्यसैले नजिकका आफन्तहरू, नोकरचाकर र अनुयायी वा शिष्यहरूदेखि सतर्क रहने समय हो । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।

यो महिना तपाईंको राशिस्वामी शुक्रले दोस्रो र तेस्रो भावको भ्रमण गर्नेछ । त्यसैले समग्रतामा यो धनप्राप्तिको समय हो । कहिलेकाहीं सांसारिक सुखसुविधा भोग गर्न र मौजमस्तीमा धनखर्च गर्ने परिस्थिति पनि बन्नसक्छ । प्रेम सम्बन्धमा सानातिना विवाद र झैझगडाको योग हुन्छ, तर तपाईंको बोलीमा मिठास र चिप्लोपन देखिन सक्छ । आम्दानीका मार्ग बढ्ने छन् । शङ्कास्पद कारोबार र गलत तरिकाबाट समेत धनार्जन गर्ने सम्भावना छ । परिवारमा कुनै माङ्गलिक कार्यको आयोजना हुनसक्छ । विपरीत लिङ्गीसँग सुमधुर सम्बन्ध कायम हुनेछ । महंगा र सुस्वादु भोजनप्रति रुचि जागृत हुनेछ । घरायसी सुखसुविधा बढाउने भौतिक सामाग्रीका निम्ति धनव्यय हुनेछ । घरायसी नातागोताका व्यक्तिहरूको जमघट हुनेछ । यसरी यिनै फलहरूको मिश्रित परिणाम प्राप्त गर्न सकिने अहिलेको समय हो । दोस्रो भावमा बसेको शुक्र र केतुले मुख छुच्चो बनाउने छ, बोलीमा संयमता राख्नुहोला ।

त्यस्तै चेलीबेटी र कुटुम्ब असन्तुष्ट रहने छन् । चौथो भावमा बृहस्पति र शनिको उपस्थिति भएकाले पारम्परिक वा मांगलिक कर्मका लागि खर्च बढाउनु पर्ने परिस्थिति देखिन्छ । कर्जा वा ऋणभारका कारण चिन्तित रहनु पर्ने समय छ । छैटौं भावको मंगलले शुभ परिणाम प्रदान गर्नेछ, तर आठौं भावमा बसेको राहुका कारण नसा र जोर्नीसम्बन्धी रोगव्याधिले सताउने लक्षण छ । सामान्यतया यस महिनाको २, ३, ४, ११, १२, १३, २१, २२ र २९ गते तपाईंका लागि अशुभ रहने छन् । यस महिना कुनै पनि अशुभ फल नपाइयोस् भन्ने उद्देश्यले अष्टम भावमा बसेको राहुको प्रियताका निमित्त दिनैपिच्छे नाग गायत्री मन्त्र (ॐ नवकुलाय विद्महे विषदन्ताय धिमहि तन्नो सर्प प्रचोदयात्) को नौ आवृत्ति जाप गर्नुपर्दछ अथवा प्रत्येक शनिबार वा बुधबारका दिन गच्छेअनुसार राहु ग्रहको दान सामाग्री जम्मा पारेर जोगीलाई वा कुनै मठमन्दिर अथवा शिवमन्दिरमा गई दान गर्नुपर्छ ।

वृश्चिक : यस महिना प्रारम्भमा तपाईंको राशिबाट सूर्य, बुध र चन्द्रमाले दोस्रो भावमा, राशिस्वामी मंगलले पञ्चम भावमा, बृहस्पति र शनिश्चरले तृतीय भावमा, शुक्र र केतुले तपाईंको आफ्नै राशिमा र राहुले सप्तम भावमा उपस्थिति जनाएको देखिन्छ । यस क्रममा १५ गते राशिस्वामी मंगल ग्रहले छैंटौं घर अर्थात् शत्रुस्थानको यात्रा प्रारम्भ गर्नेछ । यस्तै १८ गते बुधले राशि परिवर्तन गरी तृतीय र १९ गते शुक्रले दोस्रो घरको यात्रा प्रारम्भ गर्नेछन् । तपाईंको राशिबाट सूर्य, बुध र चन्द्रमाले दोस्रो भावमा भ्रमण गरेको वेलामा यस पुस महिनाको सुरुवात हुनेछ । अतः यो धनवृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो ।

यस अवधिमा आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । कला, कविता र साहित्यमा रूचि बढ्ने छ । आफ्नो रूचिको क्षेत्रमा गरेको प्रयास सार्थक हुनेछ । सामान्यतया सबै किसिमका सुखभोग प्राप्त हुनेछ । समग्रमा सूर्यको यस गोचरको प्रभाव सन्तोषप्रद नै रहे पनि दोस्रो भावमा बसेका क्रूर ग्रहले केही अशुभ परिणाम पनि प्रदान गर्दछन्, जस्तै, दोस्रो भाव भनेको मुख पनि हो ।

बोलीमा कडापन देखिने छ, त्यसैले अब एक महिनासम्म मुखलाई नियन्त्रणमा राखेको जाति हुन्छ । यसै अवधिमा आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा छ, अतः प्रकृतिमा अलि कडापन र कठोरता देखापर्न सक्छ । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना हुन्छ, सचेत हुनुपर्छ । तपाईंको राशिस्वामी मङ्गल ग्रहले यस महिना पाँचौं र छैटौं भावको यात्रा गर्नेछन् । यस अवधिमा विद्यार्थीहरूले योग्यता र सीपको भरपूर प्रयोग गर्ने समय हो । गृहस्थीहरूले सन्तानका क्रियाकलाप र उन्नतिप्रगति देखेर दंग पर्ने समय हो । गीत, संगीत, चलचित्र वा भुलिने खेल वा गेमप्रति झुकाव बढ्ने समय पनि हो । व्यक्तित्व आकर्षक हुनाका साथै स्वभावमा मिलनसार बन्नुहुनेछ ।

आफ्नै राशिमा सप्तमेश शुक्र र केतुको उपस्थिति देखिन्छ । यो आफैंमा हराउने र कल्पना वा सपनामा भुलिने समय हुनेछ । यस अवधिमा कुनै झैझगडा वा विवादमा फंस्ने सम्भावनासमेत हुनसक्छ । तृतीय भावमा बसेका बृहस्पति र शनिदेवले राम्रो फल प्रदान गर्नेछन् । सामाजिक साख कायम गर्न सकिने छ । त्यस्तै पञ्चम भावमा बसेको राशिस्वामी मंगलको प्रभावले बौद्धिक र सिर्जनात्मक क्षेत्रका व्यक्तिहरूलाई शुभफल प्रदान गर्नेछ । तर सप्तम भावमा बसेको राहुले जीवनसाथी वा प्रेमीसितको सम्बन्धमा नकारात्मक फल प्रदान गर्नेछ । सामान्यतया यस महिनाको ४, ५, ६, १४, १५, १६, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना कुनै पनि अनिष्टता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले दैनिक रूपमा हनुमान् चालिसाको पाठ गर्ने वा मंगल ग्रहको बीज मन्त्रको नित्यप्रति जाप गर्नु राम्रो हुनेछ ।

धनु : सङ्क्रान्तिको समयमा तपाईंको आफ्नै राशिमा सूर्य, बुध र चन्द्रमाको उपस्थिति रहनेछ, त्यसबाहेक मंगल ग्रह चतुर्थ भावमा, राशिस्वामी बृहस्पति शनिश्चरका साथमा दोस्रो भावमा, शुक्र र केतु बाह्रौं भावमा तथा षष्ठ भावमा राहु ग्रहको उपस्थिति छ । यस क्रममा १५ गते मंगल ग्रहले पाँचौं भावमा, १८ गते बुधले दोस्रो भावमा र १९ गते शुक्रले तपाईंको आफ्नै राशिमा प्रवेश गर्नेछन् । तपाईंको आफ्नै राशिमा सूर्यको प्रवेश हुँदैछ । यस राशि परिवर्तनको प्रभावले तपाईंले पेसा, व्यवसाय, रोजगारी आदिमा केही राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ ।

सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । कुनै महत्त्वाकांक्षी र स्थिर काम सम्पन्न हुने समय आएको छ । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । यो समय अल्छी गर्ने वा अकर्मण्य हुने होइन काम गरेर देखाउने समय हो ।

त्यसैले लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ, सफलताले तपाईंको हात चुम्नेछिन् । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, तपाईमा अहंकार र आडम्बरको भावना पनि विकसित हुनसक्छ । स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ, त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ । हिजोआज राशिस्वामी बृहस्पतिको दोस्रो भावमा उपस्थिति छ, त्यसैले यो धनधान्य बृद्धि गर्ने महिना हो भन्दा फरक पर्दैन । यसै भावमा बसेको शनिश्चरको प्रभावले कहिलेकाहीं सांसारिक सुखसुविधा भोग गर्न र मौजमस्तीमा धनखर्च गर्ने परिस्थिति पनि बन्नसक्छ । जे जस्तो भए पनि यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ ।

कला, कविता र साहित्यमा रूचि बढ्ने छ । आफ्नो रूचिको क्षेत्रमा गरेको प्रयास सार्थक हुनेछ । चतुर्थ भावमा पञ्चमेश मंगलको उपस्थिति रहेको छ, यसको प्रभावले छात्रछात्राले राम्रो प्रतिभा प्रदर्शन गर्न सक्नेछन्, बौद्धिक क्रियाकलापलाई माध्यम बनाएर विदेश जान चाहनेका लागि उत्तम समय रहने छ । छैंटौं भावमा बसेका राहुले पनि शुभ फल नै प्रदान गर्नेछ भने बाह्रौं भावको शुक्र र केतुले खर्चको मात्रामा ह्वात्तै बृद्धि गर्न सक्छ सचेतता अपनाउनु राम्रो हुनेछ ।

सामान्यतया यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गतेको चन्द्रगोचर तपाईंका लागि अशुभ रहने छ । तपाईंले यो महिना राशिस्वामी बृहस्पतिको बीज मन्त्रको नित्यप्रति जाप गर्नु राम्रो हुनेछ । अनुकूलता मिलेन भने घरपरिवारका वयोबृद्ध सदस्यहरूलाई घरैमा जम्मा गराई गुलियो भोजन गराउने र न्यानो कपडा (ऊनले बनेको) दान गरेमा शुभ परिणाममा अझ बृद्धि हुनेछ ।

मकर : यस महिनाको पहिलो दिन तपाईंको राशिबाट बाह्रौं घरमा सूर्य, बुध र चन्द्रमा, तेस्रो घरमा मंगल ग्रह, तपाईंको आफ्नै राशिमा बृहस्पतिका साथमा राशिस्वामी शनिदेव, एघारौं भावमा शुक्र र केतु तथा पाँचौं घरमा राहु ग्रहको उपस्थिति छ । यस क्रममा १५ गते मंगल ग्रहले चतुर्थ भावमा, १८ गते बुधले तपाईंकै राशिमा र १९ गते शुक्रले बाह्रौं घरमा प्रवेश गर्नेछन् । राशिस्वामी शनिश्चर र बृहस्पति तपाईंको आफ्नै राशिमा बसेर राजयोगको सिर्जना गरेको परिस्थिति छ । त्यस्तै यो महिना बुध र सूर्यले राशिबाट बाह्रौं भावमा विचरण गर्ने समय हो । यस अवधिमा खासगरी घरबाहिर बस्ने वा विदेशमा बस्नेहरूले प्रतिष्ठा र साख कमाउन सक्ने, उन्नतिप्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हो । स्वदेशमा नै रहेका जातकहरूले पनि विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय हुनेछ । यो वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ ।

छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ, यो शत्रुहरूमाथि प्रभुत्व जमाउने समय पनि हो । याद गर्नुहोला, बाह्रौं भाव खर्चको घर हो । अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला, नत्र कुनै ठूलै आर्थिक संकटको परिस्थिति सिर्जना हुनसक्छ । यो धनसम्पत्तिको थैलो कसेर राख्ने समय पनि हो, लापरवाही गर्दा गहनागुरिया वा रुपैयाँपैसा चोरी हुने खतरा छ । हिजोआज तपाईंको आफ्नै राशिमा राशिस्वामी शनिश्चर र बृहस्पतिको उपस्थिति देखिन्छ । यसको प्रभावले यस अवधिमा मन प्रसन्न र फुर्तिलो रहनेछ र परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ ।

आम्दानीका मार्ग बढ्ने छन् र उच्च पदमा आसीन राजनैतिक प्रशासनिक पदका व्यक्तित्वसँगको सम्बन्धमा सुधार आउने छ । योग्यताको प्रयोग गरी विपरीत परिस्थितिलाई समेत आफ्नो पक्षमा ल्याउन सकिने छ । तेस्रो भावमा बसेको मंगल ग्रहले सामाजिकता र पराक्रममा सघाउ पुर्याउने छ । पञ्चम भावको राहुका कारणले छोराछोरीको चिन्ता बढाउने छ, तर प्रायोगिक विषयका छात्रछात्राले यस अवधिमा राम्रो उपलब्धी हासिल गर्न सक्नेछन् । एघारौं भावमा बसेका शुक्र र केतुले पनि शुभफल नै प्रदान गर्नेछन् ।

यो महिना सहयोगी हातहरू बढ्नेछन् र मित्रशक्तिबाट लाभ हुनेछ । सामान्यतया यस महिनाको १, ९, १०, ११, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि असामान्य दिन हुनसक्छन् । अझ शुभफलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले राशिस्वामी शनिश्चरको बीजमन्त्र वा महामृत्युञ्जय मन्त्रको दैनिक रूपमा जाप गर्नु कल्याणकारी हुने देखिन्छ ।

कुम्भ : संक्रान्तिका दिन तपाईंको राशिबाट एघारौं भावमा अर्थात् लाभ स्थानमा सूर्य, बुध र चन्द्रमा, दोस्रो घरमा मंगल ग्रह, बाह्रौं घर अर्थात् व्यय भावमा बृहस्पतिका साथमा राशिस्वामी शनिदेव, कर्मक्षेत्रमा शुक्र र केतु तथा चतुर्थ भावमा राहु ग्रहको उपस्थिति छ । यस क्रममा १५ गते मंगल ग्रहले तृतीय भावमा, १८ गते बुधले बाह्रौं भावमा र १९ गते शुक्रले एघारौं घरमा प्रवेश गर्नेछन् । इच्छा र आकांक्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ किनभने यो महिना राज्यस्थान अर्थात् एघारौं भावमा सूर्य र बुधको उपस्थिति रहने छ । राशिस्वामी शनिदेवको बाह्रौं भावमा उपस्थिति भए पनि बृहस्पति समेत त्यसै भावमा बसेकाले उक्त कारणले पनि अहिले समय उपयोगी नै ठहरिने छ । यस अवधिमा सामान्यतया सामाजिक हैसियत र आयको मार्गमा बृद्धि हुने सम्भावना हुन्छ ।

सरकारको उच्च ओहदाका मानिसहरूसँग तपाईंको सुसम्बन्ध कायम हुनेछ, परिणामतः तपाईंले फाइदा लिन सक्नुहुन्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रशन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ बृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् ।

दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । दोस्रो भावमा मंगल ग्रहको उपस्थिति रहेकाले महिनाको पूर्वार्द्धमा झैझगडा, कलह आदिबाट टाढै बसेको जाति हुनेछ । घरपरिवारकै सदस्यका बीचमा मनोमालिन्य बढ्नाले एवं ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्नसक्छ । मुखलाई नियन्त्रणमा राख्नु बेस हुनेछ , नत्र अप्ठ्यारामा पर्न सकिन्छ । चतुर्थ भावमा राहु र दशम भावमा केतुको उपस्थिति छ, यसको प्रभावले अभिभावक, हाकिम, उच्चपदस्थ अधिकृत वा मातापितासँगको सम्बन्ध बिग्रिन सक्छ ।

अवाञ्छित मार्गलाई अवलम्बन गरी धनार्जन गर्ने प्रयत्न गर्नु हुँदैन, नत्र झमेलामा फस्न सकिन्छ । दशम भावको शुक्रले प्रतिष्ठा र सम्मानमा अत्यधिक वृद्धि हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक निराकरण गर्नुहुनेछ । चन्द्रगोचरका आधारमा यस महिनाको २, ३, ४, ११, १२, १३, २१, २२ र २९ गते अलि कमजोर दिन रहने छन् । तपाईंका लागि अशुभ रहने छन् । यो महिना कुनै अनिष्टता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले माता लक्ष्मीको उपासना गर्नु बुद्धिमानी हुनेछ ।

मीन : संक्रान्तिका दिन तपाईंको राशिबाट दशम भाव अर्थात् कर्म क्षेत्रमा सूर्य, बुध र चन्द्रमा, तपाईंको आफ्नै राशिमा मंगल ग्रह, एकादश भावमा राशिस्वामी बृहस्पतिका साथमा शनिदेव, भाग्य क्षेत्रमा शुक्र र केतु तथा तृतीय भावमा राहु ग्रहको उपस्थिति छ । यस क्रममा १५ गते मंगल ग्रहले धन भावमा, १८ गते बुधले लाभ भावमा र १९ गते शुक्रले दशम भावमा प्रवेश गर्नेछन् । यो महिना कर्मक्षेत्रमा सूर्य र बुधले भ्रमण गर्ने महिना हो । यसको प्रभावले आफ्नो कार्य क्षेत्रमा महत्त्वपूर्ण सफलता मिल्नेछ । व्यापारिक साझेदार, सहयोगी वा व्यवसायिक व्यक्तित्व र ग्राहकहरूसँगको सम्बन्ध दिन प्रतिदिन सुध्रने सङ्केत छ ।

समयका साथै सङ्ग्रह र वचत गर्न थाल्नु हुनेछ । विलासिताका सामाग्री खरिद गर्दा धनव्ययको सम्भावना पनि छ । घरपरिवारका सदस्यको व्यवहार अनुकूल रहने छ । व्यापारिक लाभका लागि यात्राको सम्भावना छ, व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । राशिस्वामी बृहस्पति र शनिको एघारौं भाव अर्थात् राज्य स्थानमा उपस्थिति देखिन्छ । त्यसैले अहिलेको महिना सरकारी अड्डाअदालतमा कुनै काम रोकिएको छ भने त्यसलाई सुल्झाउन उचित समय छ । यो नयाँ जिम्मेवारी पाउने समय पनि हो ।

विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्नसक्ने समय हो । प्रेमजीवनमा मिठासपूर्ण सम्बन्ध नै रहने छ, तर कर्तव्य र कार्यक्षेत्रको व्यस्तता हुँदा समय दिन पाइँदैन । कुल, परम्परा र आध्यात्मिकतातर्फ समेत सामान्य चासो बढ्न सक्छ । समग्रतामा यो अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । सहकर्मी र विपरीत लिंगी साथीहरूसँग उठबस गर्ने मौका मिल्नेछ । नयाँनयाँ मित्र बनाउने पाइने तथा लोकप्रियता हासिल हुने समय हो । यस अवधिमा कुनै विशिष्ट व्यक्ति वा विद्वान्, अनुभवी वा जानकार व्यक्तिको सामीप्य पाइने एवं ज्ञान र पहुँचमा विस्तार गर्ने समय हो ।

कर्मचारीहरूले इच्छाएको जिम्मेबारी प्राप्त गर्ने वा बढुवा प्रशंसा पाउने समय छ । त्यस्तै छात्रछात्राले पढाइलाई माध्यम बनाएर विदेशयात्रा गर्ने, अनुसन्धानात्मक कार्य गर्ने र छात्रवृत्तिका लागि प्रयास गर्ने समय हो । तृतीय भावको राहु र नवम भावको केतुको प्रभावले सामाजिक सम्बन्ध सुदृढ बन्नेछ, आयपरेका समस्या र चुनौतीमा मित्रवर्ग र सँगीसाथीको सहयोग प्राप्त हुनेछ । तर याद गर्नुहोला तपाईंको आफ्नै राशिमा मंगल ग्रहको उपस्थिति छ, हुन त भाग्यबृद्धिमा यसले राम्रो सहायता गर्नेछ, तर पनि मंगलको नैसर्गिक फल प्राप्ति हुँदा इच्छाविपरीत परिणाम आउनसक्छ, त्यसैले फलप्राप्ति प्रति धेरै उत्साह नदेखाउनु उचित हुनेछ ।

खासगरी जोखिमपूर्ण र जुवाजन्य काममा दिलचस्पी नदिनु नै बेस हुनेछ । सामान्यतया यस महिनाको ४, ५, ६, १४, १५, १६, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना कुनै पनि ग्रहजन्य दुष्टता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले श्री गणेश जीको उपासना गर्ने अथवा मंगल ग्रहको उपासनामा जोड दिनु वाञ्छनीय हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ