arrow

पोखरा विन्ध्यवासिनी-बागलुङ कालिका साइकल र्‍याली हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
cycle city pokhara.jpg

पोखरा । पोखरामा छैटौं ‘टूर दी पोखरा’ आयोजना हुने भएको छ । साइकल संस्कृति बसाउन साइकल सिटी पोखराले ‘टूर दी पोखरा’ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम पुस ६ गतेदेखि शुरु हुँदैछ । कार्यक्रमको सबै तयारी पूरा भएको साइकल सिटी पोखराका संयोजक राजन गोंगजुले जानकारी दिए । उनका अनुसार ‘थोपा थोपा ईन्धन बचाऔं’ भन्ने नाराका साथ त्रिदिवसीयहरुपमा कार्यक्रम आयोजना गरिएको छ । 

कार्यक्रम अन्तर्गत पहिलो दिन दोश्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता हुँदैछ । पोखरा महानगरपालिकासँगको सहकार्यमा हुने यस प्रतियोगितामा महिला, पुरुष र ४० वर्षमाथिका गरेर तीन ईभेन्टमा प्रतिस्पर्धा हुनेछ । सबै ईभेन्टमा प्रथम हुनेलाई ३० हजार, दोश्रो हुनेलाई २० हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई दुई/दुई  जनालाई १०/१० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने संयोजक गोंगजुले जानकारी दिए ।

यस्तै, पुस ७ गते साइकल र्‍याली हुँदैछ । बागलुङको बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म (७२ किलोमिटर) साइकल र्‍याली हुने साइकल सिटी पोखराका संस्थापक अध्यक्ष प्रकाश बज्राचार्यले जानकारी दिए ।

यसैगरी पुस ९ गते बृहद साइकल र्‍याली आयोजना गरिने जनाइएको छ । पोखराको प्रदर्शनी केन्द्रबाट शुरु हुने बृहत साइकल र्‍याली नयाँबजार, महेन्द्रपल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, विन्ध्यवासिनी मन्दिर, बागबजार, टुँडिखेल, हरिचोक, मिरुवा, जिरोकिलोमिटर, सभागृहचोक, विपिचोक, महेन्द्रपुल, रानीपौवा, शितलादेवी मन्दिर, भद्रकाली स्कूल, मियापाटन, ३२ केभी, अमरसिंहचोक, कालिकाचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक हुँदै पुनः प्रदर्शनी केन्द्रमै आएर समापन हुनेछ ।

र्‍यालीमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडीको उपस्थिति रहने र हरिवंशले साइकल नै चलाएर र्‍यालीमा सहभागिता जनाउने बताइएको छ । सो दिनको र्‍याली अघि रक्तदान कार्यक्रम र समापनपछि स्लो साइकल रेस प्रतियोगिता तथा सांगीतिक कार्यक्रम हुने आयोजक साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाले जानकारी दिए ।

साइकल सिटी पोखराले सन् २०१५ मा ‘स्वस्थ मुटु सबैका लागि, जहिले पनि जहाँपनि’ भन्ने नाराका साथ ‘टूर दी पोखरा’ को शुभारम्भ गरेको थियो ।

यस्तै, २०१६ मा ‘पावर योर लाइफ’, २०१७ मा ‘स्वस्थ, वातावरण तथा पर्यटनका लागि साइकल’ र सन २०१८ मा ‘बोसो पगाल, इन्धन नबाल’, २०१९ मा ‘बर्न फ्याट नट फ्यूल’ भन्ने नाराका साथ आयोजना गरेको थियो । 

सन् २०२० र २०२१ मा भने कोभिडका कारण यो कार्यक्रम भएको थिएन । तर कोभिड संक्रमण घटेर जनजीवन सामान्य बनेसँगै साइकल सिटी पोखराले यो कार्यक्रमलाई निरन्तरता दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ