arrow

नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६ करोड २९ लाख रुपैँया दाबी भुक्तानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
nabil-health-insurance-saving-account.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले नबिल बचत खातामा घातक रोग बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ। पछिल्लो चार वर्षदेखि यो बिमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो।

यो बिमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६ करोड २९ लाख रुपैंया दाबी भुक्तानी भएको छ।  हरेक बचत खातामा घातक रोगको बिमा तथा आवधिक जीवन बिमा सुविधा योजना अन्तर्गत बिमा गरेका मध्ये ३३८ जनाको दाबी भुक्तानी भएको बैङ्कले जनाएको छ।

चार वर्ष अगाडि सुरु गरेको घातक रोगमा ३ लाख र आवधिक जीवन बिमाको लागि ७५ हजार गरी ३ लाख ७५ हजार रुपैयाँको बिमा हरेक खातावालाको लागि गरिँदै आएको छ। बैङ्कले आफ्ना खातावालाको हित तथा घातक रोग लाग्दा आर्थिक भरथेग गर्ने उद्देश्यले यस्तो सुविधा दिँदै आएको हो।

यो योजना सुरुवातबाट नै निकै प्रभावकारी रहेको र यस योजनाले आफ्ना ग्राहकहरूलाई ठूलो राहत मिलेको भन्दै आगामी दिनहरूमा यसलाई निरन्तरता दिने नबिल बैङ्कले जनाएको छ।

मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरु गरेको यस योजना अन्तर्गत बैङ्कले पछिल्लो चार वर्षमा १६ करोड ७ लाख रुपैयाँ रकम बराबरको प्रिमियम भुक्तान गरेको छ। नबिल बैङ्कका अनुसार मुद्दतीबाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा आवधिक जीवन बिमा हुने गरेको छ।

कसरी पाइन्छ यो सुविधा ?
यो सुविधा पाउन बचत खातामा न्यूनतम ३५ हजार रुपैयाँ अनिवार्य हुनुपर्ने र खातावालको उमेर समूह १६ देखि ६० वर्ष हुनु पर्ने बैङ्कले जनाएको छ। यस्तो रकम घातक रोग लागेको चिकित्सकले प्रमाणित गरेको समयमा हुनुपर्छ।

नबिल बैङ्कले विभिन्न १३ घातक रोगहरू जस्तै किड्नी फेलर, क्यान्सर, हर्ट अट्याक, लिभर फेलर, बोनम्यारो ट्रान्सप्लान्टेसन, हर्ट भल्भ सर्जरी, इन्ड स्टेज लङ डिजिज, कोमा, पल्मोनरी हाइपरटेन्सन, स्ट्रोक, परमानेन्ट हेपाटाइटिस, अप्लास्टिक एनिमिया तथा सिरयस कोनोनरी आर्टरी डिजिजका लागि बिमा सुविधा दिने गरेको छ।

बैङ्कका अनुसार प्रिमियम रकमको भार बैङ्क आफैँले बहन गरिदिने विशेषता भएको यो योजनाले ग्राहकहरूलाई घातक रोगसँग सामना गर्ने र आर्थिक व्यवस्थापनको मानसिक चापलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

नबिल बैङ्कले यो योजना अन्तर्गतको सुविधा आफ्नो सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गर्दै आएको छ। यस योजनाको सफलता र ग्राहकहरूको चाहना अनुरूप अबको दिनमा पनि यस योजनाका सुविधा र सेवालाई थप प्रभावकारी बनाउने र समय अनुसार परिवर्तन गर्न बैङ्क प्रतिबद्ध रहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ