arrow

माननीय सरस्वती बजिमयलाई एकसाथ बधाई र आग्रह

logo
राजकुमार बस्नेत, 
प्रकाशित २०७९ पुष ५ मंगलबार
rajkumar-basnet-article.jpg

गृहजिल्ला खोटाङ निवासी आदरणीय नेता सरस्वती बजिमय नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसदमा चयन हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछु । लामो राजनैतिक अनुभव, लगानी, त्याग र सरलताको पर्यायका रूपमा रहनुभएको बजिमयलाई सांसद चयन गरेर नेपाली कांग्रेसले न्याय गरेको छ । साथै, कांग्रेस खोटाङलाई भएको अन्याय, विद्रोह र जिल्लाका नागरिकको आवाजलाई नेता बजिमयको संसदमा हुने उपस्थितिले सम्बोधन हुनेछ भन्ने बिश्वाससमेत लिएको छु । 

 माननीयज्यू, तपाईं खोटाङका आम नागरिक आवाज र मन हो । तपाईं हामी र हाम्रो पुस्ताका साथै सबै नागरिकको प्रतिनिधि पात्र हुनुहुन्छ । त्यसैले तपाईंको निर्णय, कर्म र कदमलाई जिल्लाका सबै नागरिकहरुले यो बेला नियालिरहनु भएको छ । यो बेला हामी कांग्रेस संसदीय दलको नेता चयन गर्ने समयमा छौँ र त्यसको मैदानमा रेफ्रीको भूमिकामा तपाईंहरु हुनुहुन्छ । अब तपाईंले पुस्ता र जिल्लाका मतदाताको आवाजलाई न्याय गर्नुहुन्छ कि हुन्न प्रश्न त्यहाँनेर छ । 

गौरव मान्नुपर्छ कांग्रेस बाहेक अन्य पार्टीमा यसरी दलको नेता चयनमा निर्वाचन र मतदान भएनन् । भए त केवल स्व–घोषणा र भारदारी नियुक्ति । संसदीय दलको नेता भन्नाले केबल टिमको नेता चयन गर्ने कुरा होइन । यो त देशको नेतृत्व गर्नलाई दलबाट पठाइएको प्रतिनिधि पात्र हो, जो भोलि प्रधानमन्त्री हुन सक्दछन् । 

जसको कार्ययोजना, इमानदारी, क्षमता, योग्यता र उर्जाका साथै सिंगो पार्टीको साथले देश बदलिन्छ – अझ भनौं रूपान्तरित हुन्छ । त्यस अर्थमा हामी अझ भनौं माननीयज्यू, तपाईंहरु भाग्यमानी हुनुहुन्छ; जसको निर्णय, मन र मतले देश बदल्न र विकास गर्नलाई प्रत्यक्ष सहयोग पुग्दछ । 

माननीयज्यू, बुधबार बिहान हुने दलको नेताको चुनावमा एकातिर तपाईंले सुनेदेखि र अनुभव गरेदेखि राजनीतिको राजमार्गमा रहेको र पटकौं प्रधानमन्त्री भएर अब जीवनको उत्तरार्धमा आरामदायी जीवनको खाँचोमा रहेको नाम हाम्रो परम आदरणीय सभापति शेरबहादुर देउवा हुनुहुन्छ । अर्कोतर्फ देशलाई बदल्छु र केही सार्थक परिणाम निकाल्छु भन्ने तपाईंको छोरा पुस्ताको युवा जो अध्ययन, कार्ययोजना, तयारी र क्षमतासहित कांग्रेस संसदीय दलको नेता भएर देशलाई ड्राइभिङ सिटमै बसेर नयाँ र सकारात्मक एवं सार्थक ढंगले नेतृत्व गर्न अघि बढेका पार्टीका आदरणीय महामन्त्री गगनकुमार थापा हुनुहुन्छ । 

बुधबार उनै दुई महारथीबीच चुनाव हुँदैछ र तपाईंले प्रत्यक्ष रूपमा एक जनालाई मतदान गर्नुपर्नेछ । तपाईंको छोरा–नाति पुस्ताको एक युवा र जिल्लाको उकाली ओरालीहरुमा दशक भन्दा बढी समयसँगै रहेको तपाईंको भाइ, भतिज र कार्यकर्ताको हैसियतमा तपाईंको सरल, सत्य र न्याय अंकुरण हुने मन र तपाईंको ब्यक्तित्वलाई बुझेर यत्ति भन्न सक्छु आदरणीय नेता तपाईंले यो पटक न्याय गर्नुहुनेछ पार्टी, पुस्ता र मुलुकलाई । तपाईंले ‘गुड’ हेर्नुहुनेछ ’गुट’ हेर्नुहुने छैन । 

माथि भनिसकियो माननीयज्यू, कि यो निर्वाचन गुटको नेता छान्ने निर्वाचन बिल्कुलै होइन । त्यो कुरा तपाईंहरुलाई थाहा नहुने भन्ने कुरै होइन । कुरा यो चाहिँ हो सर्वाङ्गीण क्षमताले भरिपूर्ण साथै सबैको अपेक्षा जोडिएको नेतालाई जिताउने । 

त्यसैले माननीयज्यू, खुला र उदार हृदयले तपाईंले आफू जसैगरी चारतारे झण्डा ओढेर ‘रुख’ चुनाव चिन्ह लिएर निर्वाचित भएका हाम्रा आदरणीय नेताद्वयमध्ये काबिल र देश बनाउने हुटहुटी बोकेका पार्टीका महामन्त्री गगन थापालाई आफू र आफ्ना सांसद साथीहरूलाईसमेत मतदान गर्न लगाएर वर्षौैदेखिको देश बनेको हेर्न चाहने र विकसित नेपालमा फर्कन चाहने लाखौं युवाहरुको मन र मस्तिष्कलाई न्याय गर्नुहुनेछ ।

आदरणीय नेता यति कुरा मैले पार्टीको अझ भनौं तपाईंहरुको कार्यकर्ता, जिल्लाबासी, मतदाता र युवा पुस्ताको एक प्रतिनिधिका रूपमा आम नागरिक आवाज अझ खोटाङ्गे आवाजलाई आग्रहका रूपमा परिणत गरेको हुँ । 

बुधबार मतदानका निम्ति मतपत्र हातमा लिँदै गर्दा तपाईंले फाक्टाङदेखि सुङ्देलसम्म अनि डिकुवाको फेदीदेखि बाँझे–ट्याम्केको शिरसम्मका तमाम नागरिक र मतदाताको आवाजलाई सम्झिएर अन्तर मनदेखि विवेकलाई बन्धक नराखी सकारात्मक परिवर्तनको मागलाई पूर्ति गराउनका साथै भरोसायोग्य पार्टी र ‘सम्मुनत नेपाल, सम्मानित नेपाली’ को नारालाई ब्यवहारिक रूपमा सार्थक तुल्याउनका निम्ति गगनकुमार थापालाई मतदान गर्नुहुनेछ भन्ने विश्वासका साथ आग्रह गर्दछु । यसो भएमा जिल्लाका तमाम नागरिक मनले तपाईं युगयुगसम्म सम्झिरहने छन् । 

अन्यथा आदरणीय काकी तपाईंले सिंगो नागरिक आवाजका साथै तपाईंको घरमा हुर्कँदै गरेका भोलिका भविष्य तपाईंका अबोध नातिनातिनाहरुमाथि नै घात गरेको ठहरिनेछ । तीनै नातिहरुले पछि तपाईंलाई सोध्नेछन् – ‘हजुरआमा आफ्नो राजनैतिक जीवनको उत्तरार्धमा तपाईंले किन हामीमाथि अन्याय गर्नुभयो ?’ (बस्नेत नेविसंघका खोटाङ्ग जिल्ला अध्यक्ष हुन्) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ