arrow

युवाको सम्मान गर्न गगन निर्विकल्प  

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०७९ पुष ५ मंगलबार
rajendra-panthi-article 57.jpg

नेपाली कांग्रेसको संसदीय दलको लागि बुधबार निर्वाचन हुन गइरहेको छ । संसदीय दलको नेताको लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवार दिएका छन् । प्रतिनिधि सभामा कांग्रेसको संसदीय दलमा प्रत्यक्ष र समानुपातिक गरी जम्मा ८९ सांसद रहेका छन् । यस संसदीय दलको निर्वाचनमा ४५ मत ल्याउने उम्मेदवार नै संसदीय दलको नेता बन्न सक्नेछन् । 

नेपाली कांग्रेसमा रुपान्तरणको मुद्दा उठाएका नेताहरू डा. शेखर कोइराला, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, चन्द्र भण्डारी लगायतका नेताहरु गगन थापाको पक्षमा उभिएका छन् भने रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का लगायतका नेताहरु देउवाको पक्षमा उभिएको देखिन्छ । नेपाली कांग्रेसभित्र नयाँ र पुराना पुस्ताका बीचमा द्वन्द्व चलिरहेको छ । संस्थापन पक्ष जसरी पनि देउवालाई संसदीय दलको नेता बनाउनु पर्छ भन्दै लागेको देखिन्छ भने संस्थापनइतर पक्ष गगनको पक्षमा लागेको छ ।

यो निर्वाचन भनेको नेपाली कांग्रेसको संसदीय दलको नेता मात्र छान्ने निर्वाचन नभएर नेपालको भावी प्रधानमन्त्री पनि छान्ने निर्वाचन भएको हुनाले कांग्रेसका सांसदहरूले अत्यन्तै गम्भीर भएर सोच्नु पर्ने देखिन्छ । यसबेला गुट वा उपगुटभन्दा धेरै माथि उठेर देशको पक्षमा र आम जनमतको सम्मान हुने तरिकाले नेता चुन्नु पर्ने देखिन्छ । अहिलेसम्म देउवा हुँदा देशले के पायो र अब पुनः उनैलाई छान्दा देशले के पाउन सक्ला आँखा बन्द गरी छातीमा हात राखेर सोच्नु पर्ने देखिन्छ । नेपाली कांग्रेस बाहेकका अन्य पार्टीमा आन्तरिक लोकतन्त्रको प्रयोग नभएको अवस्थामा कांग्रेसले अब युवा पुस्ताको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्री बनाएर अर्को सन्देश दिई पार्टीलाई युग अनुकूल जीवन्तता दिनुपर्ने देखिन्छ ।

अहिलेको युग भनेको २१ औं शताब्दीको युग भएको हुनाले युग सुहाउँदो राजनीतिको लागि अब विचारविहीन कुनै व्यक्ति विशेषको भजनकीर्तन गरेर समाजको रुपान्तरण हुन सक्दैन । कांग्रेसका संस्थापन पक्ष भनिनेहरूले अब पनि उही पुरानो सोच र चिन्तन बोकेर देउवालाई नेता बनाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउनु भनेको पार्टीलाई थप कमजोर र नेपालको राजनीतिलाई थप अस्थिरतातिर धकेल्नु नै हो । 

कांग्रेसले पटकपटक प्रयोगबाट असक्षम भएका देउवालाई संसदीय दलको नेता बनाउनु भनेको भर्खरै सम्पन्न निर्वाचनमा युवा जनमतको अपमान गरिनु पनि हो । देउवालाई नेता बनाउँदा केही व्यक्ति विशेष र गुटलाई फाइदा त होला तर देशलाई ठूलो घाटा हुने देखिन्छ ।

आजको नेपालको महत्वपूर्ण मुद्दा भनेको समाज रुपान्तरण र नेतृत्वमा पुस्तान्तरण नै हो । यो समाज रुपान्तरणको लागि देउवा पुस्ता असक्षम प्रमाणित भएको छ । अबको समाज रुपान्तरणको लागि युवा पुस्ता नै नेतृत्वमा आउनुपर्छ । नेकपा एमाले र माओवादीमा युवा नेतृत्व आउने हिम्मत गरिएको देखिँदैन । अबको सरकार नेतृत्वको लागि नयाँ पुस्ता नै आउनु पर्ने हुनाले अहिले सर्वोपयुक्त विकल्प भनेको नेपाली कांग्रेसका महामन्त्री गगन थापा नै देखिएका छन् । संसदीय दलको नेताको लागि पनि प्रतिस्पर्धामा उत्रिएको हुनाले कांग्रेसका सांसदले उनलाई विजयी बनाउनु पर्छ । 

हालै सम्पन्न निर्वाचनको जनभावना पनि अबको प्रधानमन्त्री युवा पुस्ताबाट हुनुपर्छ भनिएको थियोे । नेपाली कांग्रेसका संस्थापन इतरपक्ष मात्र होइन, धेरै युवा पुस्ताले गगन थापालाई अबको प्रधानमन्त्री हेर्न चाहेका छन् । थापाले पनि आफ्नो क्षेत्रमा चुनावमा जाँदा आफूलाई सांसद मात्र नभएर भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावी मैदानमा होमिएका थिए । उनी जनताबाट अत्यधिक मतसहित अनुमोदितसमेत भएका छन् ।

आम नेपाली जनताले पनि अबको प्रधानमन्त्री नयाँ र युवा हुनुपर्छ भनिरहँदा र गगन थापा पनि प्रतिस्पर्धामा उत्रेको हुनाले कांग्रेसका सांसदले कुनै हिचकिचाहट बिना गगनलाई मतदान गर्नुपर्छ र उनलाई संसदीय दलको नेता बनाई प्रधानमन्त्री बनाउनु पर्छ । 

अब कांग्रेसले कांग्रेसको मात्रै नभएर आम नेपाली युवा पुस्ताको आवाज र आक्रोशलाई साम्य गर्न पनि युवा पुस्ताको प्रतिनिधित्व गर्न सक्ने गगन थापालाई प्रधानमन्त्री बनाउनु पर्छ । देशमा सुशासन, समृद्धि र नयाँ आयाम ल्याउन यतिबेला कांग्रेसका सबै सांसदले गुटभन्दा माथि उठेर अत्यन्तै गहन र सूक्ष्म तरिकाले निर्णय गर्नुपर्ने देखिन्छ । 

गगन थापाले पनि यो वा त्यो गुटको नभनी नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अरु पार्टीलाई पनि साथ र विश्वास दिलाई देशको प्रधानमन्त्री बन्न तम्तयार हुनुपर्छ ।

आज देशको सामाजिक र आर्थिक अवस्था अत्यन्तै कमजोर भएको अवस्थामा नेपाली कांग्रेसले तिनै असफल वर्तमान प्रधानमन्त्रीलाई नै संसदीय दलको नेता बनाई पुनः प्रधानमन्त्रीको दौडका लागि तयार गर्नु भनेको देशलाई झन् कमजोर बनाउनु हो । 

नेपालको राजनीति व्यवस्था परिवर्तन गर्न देउवाको महत्त्वपूर्ण भूमिका भए पनि जनताको अवस्था परिवर्तन गर्न यी असफल भए । ज्योतिषले सात पटक प्रधानमन्त्री हुन्छौ भनेको छ भन्ने आधारमा अब यिनलाई छैटौं पटक प्रधानमन्त्री बनाउनु हुँदैन । 

गगन थापालाई नै संसदीय दलको नेता बनाई भावी प्रधानमन्त्री बनाउनु पर्छ । गगन थापाको जित भनेको नेपाली कांग्रेसको मात्र जित नभएर नेपाली जनताको जित हुन सक्छ । एउटा मान्छेको उपस्थितिले देशले कोल्टे फेर्न सक्छ र नयाँ नेपाल बन्न सक्छ । यसबेला नेपाली कांग्रेसका माननीय सांसदहरूले लामो सास तानेर आँखा बन्द गरी छातीमा हात राखेर नेपाल आमा र नेपाली जनतालाई सम्झने बेला आएको छ । 

निर्वाचनमा ‘नो नट अगेन’ अभियान चलेको र त्यसले केही सार्थकता पनि पाएको हुनाले पनि गगन थापालाई जिताउनु पर्ने देखिन्छ । गगन थापालाई संसदीय दलमा जिताउनु भनेको नेपाली कांग्रेसलाई थप बलियो र सशक्त बनाउनु पनि हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ