arrow

जेलेन्स्कीलाई बाइडेनले भने- युक्रेनलाई एक्लै हुन दिने छैनौं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
joe-biden-vladymir-zelnesky.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई रुससँगको युद्धमा 'जति समय लागे पनि अमेरिका युक्रेनको साथमा रहने' बताएका छन्।

रुसले युक्रेनमाथि आक्रमण गरेपछिको पहिलो विदेश अमेरिका भ्रमणका क्रममा बाइडेनले जेलेन्स्कीलाई भनेका छन्, 'तपाईँ कहिल्यै एक्लै उभिनु हुनेछैन।'

बाइडेनले युक्रेनका लागि २ अर्ब डलरको सहायता प्याकेज निश्चित गरेका छन् भने, थप ४५ अर्बको नयाँ प्याकेजको प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै भ्रमणका क्रममा जेलेन्स्कीले वाशिंगटनको समर्थनको लागि कृतज्ञता व्यक्त गरेका छन् ।

बाइडेनसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अन्तर्राष्ट्रिय गठबन्धनलाई सँगै राख्ने बारे कत्ति पनि चिन्तित नभएको बाइडेनले भनेका छन् ।

केही सहयोगीहरूले द्वन्द्वको लागत र विश्वव्यापी खाद्य र ऊर्जा आपूर्तिमा अवरोधको तनाव महसुस गरेको चिन्ताका बीच अमेरिकी राष्ट्रपतिले युक्रेनको समर्थनको एकताको बारेमा झनै सकारात्मक महसुस गरेको बताएका छन् ।

बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको 'यो क्रूर युद्ध रोक्ने कुनै मनसाय नभएको' टिप्पणी गरेका छन् ।

पोल्याण्डको शहर रजेस्जोबाट अमेरिकी वायुसेनाको जेटमा अमेरिका भ्रमण गरेका जेलेन्स्कीले अमेरिकी 'संसदमा शक्तिको परिवर्तन भए पनि' आफ्नो देशको लागि द्विपक्षीय समर्थन हुने विश्वास गरेका छन्।

ह्वाइट हाउसको बैठकपछि ४४ वर्षीय युक्रेनी राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । अमेरिकी सांसदले जेलेन्स्कीलाई उभिएर स्वागत गरेको थियो ।

उनले अमेरिकी सांसदहरूलाई आफ्नो देश अझै पनि 'सबै बाधाहरू विरुद्ध' उभिएको र अर्को वर्ष द्वन्द्वमा 'टर्निङ प्वाइन्ट' हुने बताएका छन् । युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने वाचा गर्दै उनले थप हतियार चाहिने बताएका छन्।

'हामीसँग तोपखाना छ, हो, धन्यवाद,' उनले आफ्ना दर्शकहरूलाई भने, 'तर, इमानदारीपूर्वक वास्तवमा के यो पर्याप्त छ?, रूसी सेनालाई पूर्ण रूपमा बाहिर निकाल्न, थप तोप र गोलाहरू आवश्यक छ,' उनले भनेका छन् ।

आफ्नो भाषणको अन्त्यमा जेलेन्स्कीले युक्रेनको पूर्वमा रहेको बाख्मुटका रक्षकहरूले हस्ताक्षर गरेको युक्रेनको युद्ध झण्डा अमेरिकालाई दिएका थिए । यस्तै उनलाई युक्रेनका लागि अमेरिकी झण्डा पनि प्रदान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ