arrow

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानसँगै खुशियाली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
pokhara internatioal airport.jpg

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुशियाली छाएको छ । विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान/अवतरण भएसँगै उत्साह बढेको हो ।

नेपालको निजी क्षेत्रका दुई विमानसेवा सञ्चालक कम्पनी बुद्ध र यति एयरले बिहीबार नवनिर्मित विमानस्थलमा सफलतापूर्वक यात्रुसहित पहिलो उडान गरेसँगै पोखरेली उत्साहित छन् ।

यही पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि विमानस्थलबाट व्यावसायिकरुपमा आन्तरिक तथा बाह्य उडानको योजना नेपाल नागरिक उड्डयन प्राधिरणले बनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय उडानको टुङ्गो लागि नसके पनि आन्तरिक उडान भने सोही विमानस्थलबाट हुने निश्चित छ ।

भव्य विमानस्थल निर्माण भएर उडान सुरु भएसँगै यहाँका उद्योगी, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायतले खुसी साटासाट गरे । परीक्षण उडानमा सहभागी भएर उद्योगी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीले खुसी साटेका हुन् । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित छन् ।

पोखरा अन्तर्राष्ट्रिय सहरसँग सिधै हवाई सम्पर्क स्थापित हुने भएकाले समेत उत्साह थपिएको हो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नवनिर्मित विमानस्थलमा परीक्षण उडान सफल भएको नयावर्षदेखी विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्साहित भएको बताए । कोरोना महामारीपछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास पर्यटन व्यवसायीले लिएको उनले बताए ।

श्रेष्ठले भने, “हामी व्यवसायी, लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवर्द्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना बनाएका छौँ ।” उनले पोखरामा अन्तर्राष्ट्रिय सुविधाका होटल रहेको र दैनिक २० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता रहेको बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विमानस्थलमा परीक्षण उडान सफल भएर विमानस्थल सञ्चालनको अन्तिम तयारी हुनु सबै पोखरेलीका लागि खुसीको कुरा भएको बताए । उनले लामो समयको प्रतीक्षापछि विमानस्थल बनेकाले सबै मिलेर समस्या समाधान गर्दै निरन्तर सञ्चालनका लागि लागि पर्नुपर्ने बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बाधक बनेका रिठेपानी डाँडा कटान र ल्याण्डफिलसाइटको समस्या समाधानसँगै उडान थप सुनिश्चित बनेको छ । ल्याण्डफिल साइटमा पोखरा महानगरले फोहरमैला लैजान बन्द गरेको छ ।

त्यसैगरी डाँडा कटानको काम पनि धमाधम भइरहेकाले विमानस्थल तोकिएको मितिमै सुनिश्चित भएको पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार हाल वडामै फोहर व्यवस्थापनको अल्पकालीन व्यवस्थापन गरिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलका लागि जमिन अधिग्रहण गरिएको चारदशकपछि २०७३ सालमा नयाँ वर्षका दिन शिलान्यास भएर काम शुरु भएको विमानस्थल निर्माण २०७४ सालदेखि शुरु भएको हो । विसं २०३२ मा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनेर पहिलोपटक जमिन अधिग्रहण गरिएको थियो ।

पोखरा-१४ चाउथेमा विमानस्थलका लागि छुट्टाएको तीन हजार एक सय रोपनी जमिन लामो समय त्यत्तिक्कै रह्यो । विमानस्थलका लागि थप काम शुरु नहुँदा धेरैले आस मारेका थिए । लामो सङ्घर्षपछि पोखरामा विमानस्थल बनेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ