arrow

नेपाल टी–२० विवादमा, म्याच फिक्सिङको आशंका, काठमाडौं र विराटनगरको खेल पारिश्रमिकका कारण ढिला शुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
nepal-t20-league-kathmandu-biratnagar.jpg

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेट लिगमा विवाद भएको छ । पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा आजको खेल प्रभावित भयो । बिहान हुनुपर्ने खेल ढिला गरी शुरु भएको छ । काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल बिहान ८ः३० बजे नै टस हुनु पर्नेमा दुवै टोलीका खेलाडीले टस गर्न नमानेपछि अन्योल भएको थियो । 

दुवै टोलीले समयमै प्लेइङ–११ मा नामसमेत दर्ता गराएनन् । फ्रेन्चाइज टोलीमा आवद्ध खेलाडीले सहमति अनुसारको रकम नपाएपछि उनीहरु आन्दोलित भएका हुन् । खेलाडीले खेलअघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक रकम पाउनु पर्ने सहमति रहेको थियो ।

तर ढिला गरी खेल शुरु भएको छ । खेलमा काठमाडौंले पहिले ब्याटिङ गरेको छ । 

क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै लिग गत मंसिर २८ देखि आयोजना गरेको हो । यो लिग पटक पटक सर्दै आएको थियो । 

यसैबीच, कमेन्टेटर सचिन तिमल्सेनाले सामाजिक संजाल ट्वीटरमार्फत आजबाट यो लिगमा ब्रोडकास्टर या कमेन्टेटरको रुपमा आफ्नो संलग्नता नरहने जनाएका छन् । 

उनले लेखेका छन्, ‘नेपाल टी–२०, फिक्सिङ र पारिश्रमिक नदिइ गायब आयोजक ! नेपाल टी–२० लाई कमेन्टेटरको रुपमा नजिकबाट नियाल्दा धेरै शंकास्पद गतिविधि भेटियो । अब त आयोजक पनि गायब भएछन् । आजबाट यो लिगमा ब्रोड्कास्टर या कमेन्टेटरको रुपमा मेरो कुनै संलग्नता रहने छैन ।’

उनले कप्तानको छनोटदेखि खेलाडीको प्रदर्शनसम्म आशंका गर्ने धेरै ठाउँ रहेको उल्लेख गर्दै टिम म्यानेजरहरुको भूमिकासमेत बदनियतपूर्ण देखिएको बताएका छन् । 

टिम मालिकलाईसमेत गोप्य राखेर सञ्चालन गरिएको प्रतियोगितामा फिक्सिङको आशंका शुरुआतदेखि नै हुँदै आएको छ । 

नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमै बदनाम र प्रतिबन्ध गराउन सक्ने घटना बाहिर आएपछि यसमा सम्बन्धित निकाय गम्भीर भएर लाग्नुपर्छ । 

क्यान यसअघि पनि निलम्बित भइसकेको छ । अब पनि त्यही बाटोमा जान लागेको हो भने यसतर्फ सरकारले पनि ध्यान देओस् । 

शंकाबीच प्रतियोगिता हुनु अनि शुरुआतदेखि नै कमेन्टेटरका रुपमा काम गर्दै आएका व्यक्तिले खुलेआम भनेसँगै पक्कै षडयन्त्र छ भन्ने स्पष्ट हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ