arrow

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ गतेबाट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
global-ime-bank-of-kathmandu.jpeg

काठमाडौं। ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डुको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ। दुवै बैङ्कले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे-गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैङ्कले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

राष्ट्र बैङ्कले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैङ्क मर्जरपछि ग्लोबल आइएमई बैङ्कका नामबाट आगामी पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो ।

मर्जरपछि बैङ्कको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौँ जिल्ला वडा नं २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डुको एक बराबर एकको स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । बैङ्क अफ काठमाण्डुको एक सय कित्ता शेयर भएका शेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैङ्कको एक सय कित्ता शेयर प्राप्त गर्नेछन् ।

मर्जरपश्चात् बन्ने बैङ्कको चुक्ता पुँजी रु ३४ अर्ब ४१ करोड पुग्नेछ । बैङ्कको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैङ्कको निक्षेप रु तीन खर्ब ८० अर्ब ५२ करोड र कर्जा रु तीन खर्ब ६२ अर्ब ४० करोड पुग्नेछ । मर्जरपश्चात् बैङ्कको शाखा सञ्जाल तीन सय ६५ र एटिएम तीन सय २८ पुग्नेछन् ।

मर्जरपश्चात् बन्ने बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ग्लोबल आइएमई बैङ्कका सीईओ रत्नराज बज्राचार्य बन्नुहुने छ । साथै मर्जरपश्चात् बैङ्क अफ काठमाण्डुका सिइओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बन्नुहुने छ । बैङ्कको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंककातर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैङ्क अफ काठमाण्डुकातर्फबाट दुई जना रहने सहमति भएको थियो ।

तीन दिन सेवा बन्द

पुस २५ गते एकीकृत कारोबार अगाडि तीन दिन बैङ्क अफ काठमाण्डु लिमिटेडले तीन दिन सेवा बन्द गर्ने भएको छ । बैङ्कले आज एक सूचना जारी गर्दै डाटा माइग्रेशन प्रयोजनका लागि बैङ्कले पुस २२ देखि २४ गतेसम्म सम्पूर्ण बैङ्किङ सेवा बन्द रहने जनाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ