arrow

मुलुकको अर्थतन्त्र बलियो बनाउन निर्यातलाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष गोल्छा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
shekhar-golchha-fncci.jpeg

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र बलियो बनाउन निर्यात क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

नेपाल निर्यात परिषद्ले स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘निर्यातयोग्य वस्तुको मेला तथा प्रदर्शनी’ कार्यक्रममा उनले विप्रेषण, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्नसके मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन् ।

“मुलुकको अर्थतन्त्र विप्रेषण मात्रै आएर चल्दैन, विप्रेषण, निर्यात र पर्यटन तीनवटै क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ”, उनले भने । अध्यक्ष गोल्छाले सरकारले विप्रेषण भित्र्याउने, नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका तीनवटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको बताए ।

उनले सरकारले विदेशी मुद्रा आर्जनका लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक रहेको बताए । बैकिङ प्रणालीमा तरलताको अभाव र शोधनान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको उनको भनाइ थियो ।

विसं २०५३ मा स्थापना भएको निर्यात परिषद्ले नेपालमा उत्पादित परम्परागत हस्तकला, फेल्ट, कार्पेट, गलैँचा, हातेकागजलगायतका सामाग्री विदेशमा निर्यात गर्दै आएको छ । उक्त परिषद्मा हाल देशभरका तीन सयभन्दा बढी निर्यात व्यवसायीको सहभागिता रहेको परिषद्का अध्यक्ष रेशम पोखरेलले जानकारी दिए । प्रदर्शनीमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ । दुई दिनसम्म चल्ने प्रदर्शनीमा २० वटा स्टल राखिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ