arrow

ग्लोबलको फड्को

'सबैभन्दा ठूलो वाणिज्य बैङ्क बन्यो ग्लोबल आईएमई'

बैङ्कको कूल पूँजी कोष ५७ अर्ब

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
prachand-chandra-dhakal-pm-global-ime-bank.jpg

काठमाडौं । ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठुलो वाणिज्य बैङ्क बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैङ्क देशकै सबैभन्दा ठुलो बैङ्क भएको हो । 

आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैङ्क नेपालको पहिलो बैङ्क बनेको बताए । मुलुकको वित्तीय क्षेत्रको कूल बजार हिस्साको करिब १० प्रतिशत ओगट्ने आकारमा यो बैङ्क पुगेको उनको दाबी छ । 

“यसअघि पनि हामी धेरै सूचकमा पहिलो नै थियौँ । तर, आजको मर्जरपछि हामी झनैमाथि उक्लिन सफल भएका छौँ । योसँगै हालसम्म पाँचवटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क र छ वटा फाइनान्स कम्पनीसहित कूल २१ वटा वित्तीय संस्था एउटै संस्थाका रूपमा एकीकृत गरेका छौँ”, ढकालले भने ।

एकीकृत कारोबारपछि बैङ्कको कूल पुँजी कोष रु ५७ अर्ब पुगेको छ । निक्षेप सङ्कलन रु चार खर्ब १० अर्ब, कर्जा प्रवाह रु चार खर्ब र कूल सम्पत्ति रु पाँच खर्ब पुगेको छ । बैङ्कले सबै जिल्लामा शाखा सञ्जाल पुर्‍याएको छ । हाल ग्लोबल आइएमई बैङ्कका देशभर एक हजार एक सय शाखा तथा तीन वटा वैदेशिक सम्पर्क कार्यालय छन् । दक्षिण कोरियामा नेपाली बैङ्कको पहिलो वैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा पनि ग्लोबल आइएमई बैङ्क छ । बैङ्कमा हाल ४० लाखभन्दा बढी ग्राहक छन् भने चार हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । 

नेपाल राष्ट्र बैङ्कले मर्जरको नीति घोषणा गरेपछि त्यसलाई पछ्याउँदै अहिलेको अवस्थासम्म आइपुगेको अध्यक्ष ढकालको भनाइ छ । “मर्जरमा गएकै कारणले हामी मात्रै सफल भएका छैनौँ, सरकारको यो नीतिको कार्यान्वयनबाट अरू बैङ्क तथा वित्तीय संस्था पनि मर्जरमा जानका लागि उत्साहितसमेत गरेका छौँ”, उनले भने ।

बैङ्कको आकार र वित्तीय सूचकाङ्कमा ठुलो देखिनु मात्र सफलता नभई मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकोस् भन्ने उद्देश्यले मर्जरलाई प्राथमिकतामा राखिएको ढकालको भनाइ छ । 

“मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानोदेखि ठुलासम्म, वित्तीय सेवा पुर्‍याउने बैङ्कका रूपमा अघि बढिरहेको ग्लोबल आइएमई बैङ्कले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य हामीले लिएका छौँ”, उनले भने । 

ठुलो बैङ्क हुनुका पछाडि अवसर मात्र नभएर कैयौँ चुनौती पनि जोडिएर आउने ढकालको बुझाइ छ । पटक–पटक मर्जरको अनुभव हासिल गरिसकेकाले त्यस्ता चुनौतीलाई कुशलतापूर्वक व्यवस्थापन गरी बैङ्कलाई सबल संस्थाका रूपमा विकास गर्न सक्षम हुने विश्वास पनि उनले व्यक्त गरे ।

बैङ्कहरूको पुँजी कम हुँदा अहिलेको आवश्यकताअनुसार एउटै परियोजनाका लागि स्रोत जुटाउन पनि बढी सङ्ख्यामा बैङ्कहरूको सहकार्य गर्नुपर्ने अवस्था भएको ढकालको भनाइ छ । ठुलो आकारको बैङ्क बनेसँगै ठुला पूर्वाधार निर्माणमा लगानी गर्न र यस्तो कठिनाइ भोगिरहेका उद्योग व्यवसायीका लागिसमेत यसले राहत दिने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ