arrow

पृथ्वीनारायणको शालिक बनाउने कम्युनिष्ट नेता पोखरेल सम्मानित

logo
युवराज रेग्मी, 
प्रकाशित २०७९ पुष २७ बुधबार
prithvi-narayan-shah-2079-jhapa.jpg

झापा । नेपाल एकीकरणका ऐतिहासिक राजा पृथ्वीनारायण शाहको शालिक बनाउने झापा जिल्ला कनकाई नगरपालिकाका नगरप्रमुख सम्मानित भएका छ्न् । कम्युनिष्ट नेता राजेन्द्रकुमार पोखरेललाई पृथ्वीनारायण शाहको शालिक बनाउने महान् कार्य गरेको भन्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सम्मान गरिएको हो । 

झापाको कनकाई नगरपालिका प्रवेश मार्गमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक बनाएको भन्दै नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति झापाले सम्मान गरेको हो ।         
                             
१३१ औँ पृथ्वी जन्म जयन्तीको अवसरमा झापा जिल्ला कनकाई नगरपालिका १ स्थित पृथ्वीनारायण शाहको शालिक परिसरमा राप्रपाले एक कार्यक्रमसमेत आयोजना गरेको थियो  ।                       

राप्रपाका केन्द्रीय प्रवक्ता तथा प्रदेश सरकारका बिना विभागीय मन्त्री भक्ति सिटौला लगायतका जिल्लास्तरीय नेताहरुले नगर प्रमुख पोखरेललाई सम्मान गरेका हुन् ।           

कार्यक्रममा बोल्दै बिना विभागीय मन्त्री सिटौलाले राजा महाराजाहरुको शालिक ढालिरहेको बेलामा कनकाई नगरप्रमुखले पृथ्वीनारायणको शालिक बनाएर राष्ट्रनिर्माताप्रति सम्मान गरेको बताए  ।                                         

पोखरेलले आफुले पृथ्वीनारायण शाहको शालिक बनाउँदा धेरैले आफूलाई राजावादीको आरोपसमेत लगाएको बताउँदै पृथ्वीनारायण शाहको राष्ट्र निर्माणप्रतिको योगदानलाई चिरस्थायी राख्नका लागि शालिक बनाएर हरेक वर्ष पृथ्वी जयन्तीसमेत मनाउने निर्णय गरेको बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ