arrow

कुश्माको बान्द्रेविडीचौरमा बसपार्क निर्माण थालियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
kusma bazar.jpg

पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारमा तीन दशकपछि आधुनिक बसपार्क निर्माण थालिएको छ । कुश्मा नगरपालिका वडा नं. ६ बान्द्रेविडीचौरमा बसपार्क निर्माण गर्न थालिएको हो ।

वि.सं २०४८ मा पोखरा-बागलुङ सडक विस्तार भएपनि अहिलेसम्म बसपार्क नहुँदा यात्रु तथा सवारी चालक समस्यामा थिए । सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङमार्फत ठेक्का सम्झौता गरी बसपार्क निर्माण शुरु भएको हो । 

रु सात करोड १० लाख ३० हजारको लागतमा बसपार्क निर्माण गर्न लागिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

भवन निर्माणको जिम्मा स्याङ्जाको विजय सिद्धबाबा निर्माण सेवा कम्पनीले पाएको छ । गत कात्तिकमा ठेक्का सम्झौता भएको योजनाको अवधि आगामी असोज मसान्तसम्म छ ।

करिब १२ रोपनी १२ आना क्षेत्रफलमा बसपार्क निर्माण हुने निर्माण कम्पनीले जनाएको छ । बसपार्कमा फरक-फरक प्रकृतिका सवारी साधन फरक फरक स्थानमा पार्किङको व्यवस्था गरिने छ ।

कम्पनीका प्रबन्धक सविन श्रेष्ठका अनुसार ठेक्का सम्झौताको अवधि ११ महिना मात्र बाँकी रहेकाले अहिले निर्माणको काम धमाधम भइरहेको छ । वर्षायाम अगावै धेरैजसो काम गर्ने गरी जनशक्ति परिचालन गरिएको छ । 

भिरालो जमिन भएकाले दुई तहमा सवारी साधन पार्किङको व्यवस्था मिलाइएको छ । बसपार्कसँगै दुई तले भवनसहित टिकट काउण्टर र प्रतीक्षालय निर्माण हुनेछ । 

यसअघि सिटीहलसहितको बसपार्क निर्माणका लागि कुश्मा नगरपालिकाले डिपीआर तयार पारिसकेको थियो ।

कुश्मामा लामो समयदेखि चर्चामा आएको बसपार्क निर्माणले अब गति लिएको छ । कुश्माबजार विस्तार हुँदै गइरहेको, भित्री र बाहिरी चक्रपथ निर्माण भइरहेको, पर्यटकीयस्थल थपिँदै गएकोले कुश्मा आधुनिक सहरको रुपमा विकास हुन थालेको जोशीले बताए । 

कुश्मा नगरपालिका-६ का वडाध्यक्ष ईश्वर गिरीले बसपार्क निर्माणका लागि यसअघि पनि धेरै पटक पहल भए पनि सबै पहल खेर गएको स्मरण गर्दै अब भने बसपार्क निर्माणको काम बीचमै नरोकिने दाबी गरे ।

कुश्मावासीको लामो समयदेखिको बसपार्कको सपना पूरा हुने गिरीले बताए। बसपार्क तीन तल्लाको निर्माण हुने गरि डिपीआर तयार भए पनि अहिले भने दुई तलाको मात्र हुने भएको छ । 

सदरमुकाम कुश्माबजारबाट दिनहुँ पोखरा, काठमाडौं, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकडभित्तालगायतका सहरमा सार्वजनिक सवारी साधन छुटने गर्छन् तर जिल्लामा भित्रिएका र बास बस्नुपर्ने सवारी साधन भने सुरक्षित ढङ्गले पार्किङ गर्न पाएका छैनन् ।

कुश्माबजार हुँदै दैनिक हजारौंको सङ्ख्यामा सवारी साधन बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङ जाने गर्दछन् । व्यवस्थित बसपार्क नहुँदा सडकमै पार्किङ गर्ने, बजारभित्र अव्यवस्थितरुपमा सवारी साधन राख्दा दुर्घटनाको जोखिम .समेत बढ्दै गएको छ ।

अबको एक वर्षमा बसपार्क निर्माण सम्पन्न भएपछि कुश्माबजारको ट्राफिक व्यवस्थापनमा समेत सहज हुने ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ