arrow

सर्वार्थसिद्धियोगमा वसन्त पञ्चमी, सबै प्रकारका कार्यहरूमा सफलताको योग

logo
सुरेशचन्द्र रिजाल,
प्रकाशित २०७९ माघ १२ बिहिबार
saraswati-puja.jpg

काठमाडौँ। आज माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, माता सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। यस वर्ष माघ १२ गते बिहीबारका दिन मीन राशिमा चन्द्रमा शुभ योगमा रहेको समयमा परेकाले शुभ फलदायी तथा सिद्धि योगका रूपमा हेरिरहेको छ। यस्ता समयमा माङ्गलिक कार्यहरू गर्दा कार्य सफलताको योग सुरु गरिएका कार्य सफल हुने मुहूर्त योगमा उल्लेख गरिएको छ।

देव गुरु बृहस्पति ग्रहको बार र मीन राशिमा चन्द्रमा बसेको अवस्थामा वसन्त पञ्चमी पर्वको संयोग जुर्नुलाई अत्यधिक पवित्र दिनका रूपमा शास्त्रमा व्याख्या गरिएको छ। विशेष गरी सरस्वती माताको पूजा आराधना तथा साधनासहित वसन्त पाठ श्रवण गर्नुपर्ने नियम रहिआएको छ। काठमाडौँको वसन्तपुरमा राष्ट्र प्रमुखले वसन्त पाठ श्रवण गर्नुपर्ने परम्परा पनि रहेको छ। वसन्त पञ्चमीमा ज्ञान, वाणी, बुद्धि तथा विवेककी अधिष्ठात्री देवीको रूपमा पूजा तथा आराधना गर्ने शास्त्रीय नियम रहिआएको छ।

विशेष गरी शुक्ल पक्षको पञ्चमी तिथि, पूर्ण तिथि तथा गुप्त नवरात्रको समय चलिरहेकाले विद्या तथा विभिन्न कला साधनाका लागि विशेष फलदायी र पूर्ण रुपमा सफल हुने भएकाले आजको दिनलाई विशेष रूपमा व्याख्या गरिएको छ।

पहिलो पटक विद्या आरम्भ गर्ने बालबालिकाले आजका दिनदेखि अक्षर शुभारम्भ गरेमा विद्या पूर्ण हुने शास्त्रमा उल्लेख गरिएको छ। नाक, कान छेडेर मुन्द्रा, फुली लगाएमा अटल सौभाग्य रहिरहने र सरस्वतीको पूर्ण कृपा रहने शास्त्रमा व्याख्या गरिएको छ।

बुद्ध परम्परामा पनि यस पर्वलाई विशेष महत्त्वका साथ मनाउने प्रचलन छ । हिन्दु र बौद्ध परम्परामा रही आएको अहिंसाको सिद्धान्तलाई जीवजन्तु, रुख बिरुवा तथा समष्टिगत जगत सहित  मानव जातिलाई नै ज्ञानका रुपमा धार्मिक पर्वहरूले एक-अर्कामा जोड्ने काम गरेको छ।

ज्ञान कारक ग्रह वृहस्पति तथा भगवान् विष्णुको अवतारका रूपमा बुद्ध भगमानको पूजा गर्ने शास्त्रीय नियम रहिआएको छ । हाम्रा सबै सनातन पर्व आध्यात्मिक भावनाले ओतप्रोत छन् । व्रत, पर्व र अनुष्ठानहरू, लौकिक र आध्यात्मिक उन्नतिका सशक्त साधन हुन र यिनीहरूबाट आनन्दको उल्लासका साथै उदात्त जीवन जिउने प्रेरणा मिल्दछ । वास्तवमा सम्पूर्ण सृष्टिको उद्भव आनन्दबाट नै हुन्छ । दुःख, भय, शोक, मोह र अखण्ड आनन्दको प्राप्ति नै सबै व्रत–पर्वहरूको परम लक्ष्य हो ।

देवी भागवत एवं ब्रह्मवैवर्त पुराणमा वर्णित कथाहरूको आधारमा सबैभन्दा पहिले भगवान् नारायणले वाल्मीकिलाई सरस्वतीको मन्त्र बताएको शास्त्रमा उल्लेख छ।  त्यसैको जपले गर्दा उनमा कवित्व शक्ति आएको थियो भन्ने कथन छ । जुन मन्त्र यस प्रकार छ– श्री ह्रीं सरस्वत्यै स्वाहा। यस मन्त्रको चार लाख जप गर्नाले मन्त्र सिद्धि हुन्छ।

महर्षि वाल्मीकि, व्यास, वसिष्ठ, विश्वामित्र, शौनक आदि ऋषिहरू वहाँकै साधनाबाट कृतार्थ भए । व्यासजीको सानो व्रतको प्रभावले प्रसन्न भएर सरस्वतीले भन्नुभयो– व्यास, तिमीले मेरो प्रेरणाद्वारा रचिएको वाल्मीकि रामायण पढ । त्यो मेरो शक्तिले गर्दा सम्पूर्ण काव्यहरूको सनातन बीज बनेको छ । त्यसमा श्रीरामको चरित्रको रूपमा म साक्षात् मूर्तिमती भएर रहेकी छु । आफूले चाहेको वर प्राप्त गर्नका लागि विश्व विजय नामक सरस्वती कवचको पनि विशेष व्याख्या गरिएको छ ।

सरस्वतीको यस अद्भुत विश्व विजय मन्त्र तथा कवचलाई धारण गरेर नै व्यास, ऋष्यशृंग, भरद्वाज, देवल, जैगीषव्य आदि ऋषिहरूले सिद्धि पाएका थिए । यस कवचलाई सर्वप्रथम भगवान् श्रीकृष्णले वृन्दावनमा रासलीलाको समयमा ब्रह्माजीलाई सुनाउनुभएको थियो । त्यसपछि ब्रह्माजीले गन्धमादन पर्वतमा भृगु ऋषिलाई उपदेश दिनुभयो । सरस्वतीको उपासना कालीको रूपमा गरेर नै कालिदासले ख्याति पाए । गोस्वामी तुलसीदास भन्नुहुन्छ– पापनाश गर्ने भएकीले गङ्गा र अज्ञान नाश गर्ने भएकीले सरस्वती दुवै समान रूपमा पवित्रताका कारक हुन् ।

विद्या र सद्बुद्धि प्रदान गर्ने भएकाले सरस्वतीका उपासकहरू यस दिन विद्या प्राप्तिको उद्देश्य लिएर निष्कपट एवं शुद्ध भावनाले दिव्यता र भव्यताका साथ भगवती सरस्वतीको आराधना गर्दछन् । हरेक कार्यहरू गर्दा भावना अर्थात् विचारको ठूलो महत्त्व हुन्छ। यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी अर्थात् जसले जस्तो भावना लिएर कार्य गर्दछ, फल पनि अवश्य नै तदनुरूप मिल्दछ। त्यसैले हामी सबैले सद्बुद्धि प्राप्त होस् भन्ने भावना लिएर सरस्वती पूजा गर्दा अवश्य राम्रो हुन्छ। 
(लेखक सुरेशचन्द्र रिजाल ज्योतिषी तथा वास्तुविद् हुन् )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ