- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । वर्तमान समयमा हरेक हप्ता हामीले नाम नै नसुनेका नयाँ-नयाँ खाद्यवस्तुहरूलाई 'सुपर फुड' भनेर प्रचार गरेको सुनिन्छ, देखिन्छ । अनि आम मानिसहरू ती खाद्यवस्तुहरू खरिद गर्न दौडिहाल्छन् । तर ती 'सुपर फुड' होइनन् ।
पोषण विज्ञहरूको भनाइअनुसार 'महँगा र विदेशबाट ल्याइएका खानाहरू 'सुपर फुड' होइनन्, बरु परम्परादेखि चलिआएका हाम्रो जिब्रोमा स्वाद दिने, शरीरलाई स्वस्थ बनाउने र जरुरत परेको बेलामा औषधिको काम पनि गर्ने भोजन नै 'सुपर फुड' हुन् ।'
प्रायः हामी के विचार गर्छौँ भने, 'सुपर फुड' भनेको विदेशीले मात्र खान सक्ने, महँगो र स्थानीय रूपमा पहुँच नै नभएको खाना हो । वास्तवमा यो एक भ्रम मात्र हो । कतिपय 'सुपर फुड' त हामीले दिनदिनै प्रयोग गरिरहेका पनि हुन्छौँ । तर यसको महत्त्वको बारेमा हामीलाई थाहै नभएको पनि हुन सक्छ ।
भारतकी प्रसिद्ध पोषणविद् रुजिता दिवाकरले आफ्नो 'सुपर फुड' नामक पुस्तकमा हामी वरिपरिका कतिपय भोजन नै 'सुपर फुड' हुन् भनेर उल्लेख गरेकी छन् । उनका अनुसार 'सुपर फुड' भनेकै अनेक तरिकाले प्रयोग गर्न सकिने पोषणयुक्त भोजन हो ।
हरियो तरकारी जस्तो- मेथी, रायो, पालुङ्गो, पुदिना आदि पनि 'सुपर फुड' नै हुन् । यसमा रहेका विशेष तत्त्वहरूले शरीरलाई छिटो बुढ्यौलीतर्फ धकेल्ने प्रक्रियालाई कमजोर पार्छन् । यस्ता तरकारीमा एन्टिअक्सिडेन्टस (Antioxidants) प्रशस्त पाइन्छ । साथै यसमा पर्याप्त मात्रामा रेसादार पदार्थ पनि हुन्छ । यसले पेटको स्वास्थ्य राम्रो राख्न र मोटोपन घटाउन मद्दत गर्छ ।
हाम्रो समाजमा कर्कलोको पात पनि अपहेलित नै छ । कुनै तरकारी नपाए मात्रै कर्कलो खाने हो भन्ने धेरैको सोचाइ रहेको पाइन्छ । वास्तवमा यसमा रहेको फलामको तत्त्व र पातमा पाइने प्रोटिनको उच्च मात्राले यसलाई 'सुपर फुड' बनाएको छ । विशेष गरी ऋषि पञ्चमीमा कर्कलो र भात खाने चलन छ ।
अरू बेला त्यति प्रयोग गरिन्न । कर्कलोको पात र डाँठ मासको दालमा मिसाएर मस्यौरा बनाउन सकिन्छ । यसरी मस्यौरा बनाएर राखेपछि यसलाई अनेक तरिकाले प्रयोग गर्न सकिन्छ । यी दुवै वस्तुमा रहेको प्रोटिनको मिश्रण उच्च स्तरको हुन्छ । मस्यौराको लेदो तरकारी आदि बनाउन सकिन्छ । सुकाएर राखेको मस्यौरा लामो समय सुरक्षित राख्न सकिन्छ ।वास्तवमा 'सुपर फुड' भनेको त्यस्तो भोजन हो, जसलाई अनेक तरिकाले पकाएर पनि खान सकिन्छ र औषधिको गुणले युक्त हुन्छ ।
ओमेगा ३ ले स्वास्थ्य राम्रो पार्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ । दक्षिण अमेरिकामा पाइने 'चिया सिडमा' धेरै ओमेगा पाइन्छ भन्ने बुझेका नेपालीहरू जतिसुकै महँगो भए पनि किन्न तयार हुन्छन् । तर ओमेगा धेरै पाइने र स्थानीय स्तरमै सहजै र सस्तो मूल्यमा पाइने आलसचाहिँ प्रयोग गर्दैनन् । यो अलि अनौठो स्वभाव हो । आलस पनि 'सुपर फुड' नै हो ।
'सुपर फुड' आलसलाई अनेक तरिकाले प्रयोग गर्न सकिन्छ । यसलाई भिजाएर, टुसा उमारेर, छोप बनाई दहीमा हालेर, सुपमा हालेर खान सकिन्छ । यसमा भएको रेसादार तत्त्व क्याल्सियम, ओमेगा-३ ले बालबालिकाको शरीर र मस्तिष्क स्वस्थ राख्छ । अनेक रोगहरूबाट पनि बचाउँछ । विशेष गरी महिलाहरूको शरीरमा हड्डी कमजोर हुने प्रक्रियालाई रोक्न पनि आलसले मद्दत गर्छ ।