arrow

पाँच लाख कामदारमध्ये धेरैजसो नेपालबाटै लैजाने मलेसियाली गृहमन्त्रीको प्रतिबद्धता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
malaysian-home-minister-smile.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालको तीन दिने भ्रमणमा आएका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माली आज स्वदेश फर्कने भएका छन् । नेपाल भ्रमणका क्रममा नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार मलेसियाका गृहमन्त्रीइस्मालीको टोलीले गरेको भेटपछि दुवै पक्षबीच सो समझदारी भएको हो ।

यसका लागि दुवै पक्षका सम्बन्धित निकायले आपसी सहकार्य गर्ने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल र मलेसियाबीच २०७५ कात्तिकमा श्रम समझदारी भएको थियो । सो अवसरमा दुवै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा सम्वाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकासलगायत क्षेत्रमा मिलेर काम गर्ने विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिए । “मलेसिया सरकारले नेपाली श्रमिकलाई प्रदान गर्दै आएको वातावरणका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु”, उनले भने, “यदि यो विषयमा केही समस्या भएमा कानूनी तथा संस्थागत सुधार गर्दै मलेसिया सरकारले नेपाली श्रमिकको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएका छौँ । यो विषयमा मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ ।”

भेटमा प्रधानमन्त्री दाहालले मलेसिया सरकारका तर्फबाट श्रमिकको न्यूनतम ज्याला, एक हजार दुई सय रिङ्गेटबाट वृद्धि गरेर एक हजार पाँच सय बनाएकामा धन्यवाद दिए । यसका साथै फ्रि भिसा र फ्रि टिकटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए । 

प्रधानमन्त्री दाहालले मलेसियामा नेपाली श्रमिक इमान्दार र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको सङ्ख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गरे । उनले मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यकसमेत रहेकामा जोड दिए । 

“आप्रवासन क्षेत्रलाई थप खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउन मलेसिया सरकारको सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ”, उनले भने । प्रधानमन्त्री दाहालले मलेसिया जाने श्रमिकको सीप, ज्ञान र क्षमता अभिवृद्धि गर्न तथा मलेसियाबाट सिकेको व्यावसायिक ज्ञान र दक्षतालाई नेपालमा उपयोग गर्ने वातावरण बनाउनका लागि समेत दुवै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिए । यसबाट श्रमिकसमेतलाई उत्प्रेरित गर्ने उनको भनाइ थियो ।

भेटमा गृहमन्त्री नासुसन इस्मालीले विदेशी श्रमिकलाई भित्र्याउने प्रक्रिया र त्यहाँ रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा मलेसियाली सरकार गम्भीर रहेको बताए । उनले मलेसियाको पाँच वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी दिँदै कामदारको कल्याणका लागि नीतिगत तथा कानूनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले नेपाली श्रमिकको प्रशंसा गर्दै कामदारलाई सहज हुने गरी अन्य नीतिगत सुधारसमेतका लागि मलेसियाले गृहकार्य गर्ने बताए । 

गृहमन्त्री इस्मालीले ले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालबाट मलेसिया पठाइने श्रमशक्तिका बारेमा छलफल गरेका थिए । 

मलेसियाली गृहमन्त्री इस्माली र श्रममन्त्री अर्यालबीच काठमाडौँको एक होटलमा भेटवार्ता भएको थियो । सो भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ।

‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ। श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ। हामीले त्यसलाई अत्यन्त सुक्ष्म तरिकाले अध्ययन गरेर आवश्यक्ता अनुसारको सुधार गर्नेछौँ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भने, ‘नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ। हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ।’

उता इस्मालीले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमिकहरु मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको जानकारी दिए ।

मलेसियाली गृहमन्त्री इस्मालीले मलेसियाले कामदार अनुकूलको नीति निर्माण गरिरहेको जानकारी दिए । उनले भने, ‘कामदारहरुका लागि ज्याला बढाउने काम नीति हामीले अघि बढाइरहेका छौँ। मलेसियामा भइरहेका नेपालीहरुको लागि हामी रि क्यालिब्रेशन प्लान अघि सारेका छौँ ।’

उनका अनुसार मलेसियालाई हाल अपुग ५ लाख कामदारमध्ये धेरैजसो नेपालबाट लानका लागि आफूहरु तयार रहेकाले नेपाल भ्रमण गरेको जानकारी दिएका थिए । 
सोही अनुसार नेपाल प्राथमिकतामा परेको गृहमन्त्री इस्मालीले जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ