arrow

अमेरिकाले नेपाललाई थप सहयोग गर्ने, सामन्थाले गरिन् पौड्यालसँग एमसीसीबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
bimala-samntha-.jpg

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रशासक सामन्था पावरले भेटवार्ता गरेकी छिन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भेटवार्तामा अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री पौड्यालले अमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेकी थिइन् । प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिबद्धता जाहेर गरिन् । 

दुई दिने नेपाल भ्रमणमा आएकी प्रशासक पावरले यूएसएआईडीकी १९औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गरेकी हुन् । उनले विश्वका अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आएकी छिन् । 

उनी सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र सङ्घका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत थिइन् । प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ